काठमाडौँ। बलिउड अभिनेता गोविन्दासँगको सम्बन्धलाई लिएर नेपाली चेली सुनिता आहुजा फेरि चर्चाको केन्द्र बनेकी छिन्। सुनिताले हालै आफ्नो युट्युब च्यानल सञ्चालनमा ल्याएकी छिन्। गोविन्दासँग लामो समयदेखि चलिरहेको सम्बन्ध विच्छेदको हल्लालाई उनले आफ्नो च्यानलमार्फत सोझैं खारेज गरे पनि वैवाहिक जीवनको केही अन्तरंग कुरा खोलेर उनले सबैलाई चकित तुल्याइन्।
उनले आफ्नो श्रीमानको अन्य युवतीसँगको अफेयरलाई उजागर गर्ने क्रममा गोविन्दासँग आफ्नो सम्बन्ध विगार्नमा घरपरिवारका अन्य सदस्यहरुको हात रहेको बताइन्।
भारतीय मिडियाले सन् २०२४ को डिसेम्बरमा एउटा समाचार प्रकासित गर्दै सुनिताले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गराएको बताएका थिए। निवेदनमा सुनिताले गोविन्दामाथि व्यभिचार र क्रुर भएको आरोप लगाएको बताइएको थियो। तर, गोविन्दाले नै मेलमिलापका लागि सुनितालाई मनाएको समाचार पनि प्रकाशित भएको थियो।
अभिनेत्री सम्भावना सेठसँग हालै आफ्नो च्यानलमा देखा परेकी सुनिताले यतिसम्म भन्न भ्याइन्– ‘ची ची र म धेरै वर्षदेखि छुट्टिएर बसिरहेका छौं। १५ वर्षदेखि हामी सँगै देखिन्छौं। वास्तवमा उनी घर आउनेजाने मात्र गर्छन।’
बलिउडमा गोविन्दा ची चीको उपनामले चर्चित छन्। उनले भनिन्, ‘जसले असल महिलालाई दुःख दिन्छ, त्यो कहिल्यै सुखी भएर बाँच्न सक्दैन। छटपटाउने छ। म उसलाई अहिले पनि निकै प्रेम गर्छु।’
उनले गोविन्दासँग आफ्नो सम्बन्ध बिगार्न परिवारकै सदस्य सक्रिय भएको आरोप लगाइन्। ‘समस्या यो छ कि, उसको परिवारका केही सदस्य म र गोविन्दा सँगै बसेको हेर्न चाहँदैनन्। उनीहरू सोच्ने गर्छन– यसको परिवार यति खुसी किन छ?’
उनले गोविन्दाको संगत राम्रो मान्छेसँग नभएको पनि आरोप लगाइन् । ‘म उसलाई सम्झाउने गर्छु, असल मान्छेको संगत गर। मेरो साथीहरू छैनन्। छोराछोरी नै साथी हुन्,’ उनले भनिन्।
सुनिता र गोविन्दाको विवाह सन् १९८७ मा भएको थियो । उनीहरूको दुई सन्तान छन्, टिना र हर्षवर्धन । सुनिताका बुवा पञ्जाबी भए पनि आमा सावित्री शर्मा नेपाली हुन् ।
गोविन्दाले ६ वर्षको मौनता तोड्दै यही वर्षको जुनमा फिल्ममा फर्किने घोषणा गरेका थिए।