१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। साउथर्न जागुअर्सले मलेसियन सुपर वुमेन्स सिरिज जितेको छ। मंगलबार सम्पन्न फाइनलमा साउथर्नले सेन्ट्रल सुपर गर्ल्सलाई सात विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

साउथर्नमा नेपाली राष्ट्रिय महिला टोलीकी उपकप्तान पूजा महतोसहित पूर्वकप्तान रुविना क्षेत्री र सोमु विष्ट छिन्। सेन्ट्रलमा भने सीता रानामगर, राजमती ऐरी र रिया शर्मा थिइन्।

सेन्ट्रलले दिएको ८७ रनको लक्ष्य पछ्याएको साउथर्नले १८.१ ओभरमा तीन विकेट गुमाउँदै ८८ रन बनाएको हो।

साउथर्नकी पूजाले अविजित रहँदै ४२ रन बनाइन्। ६० बल खेलेकी उनले पाँच चौका प्रहार गरिन्। रुविनाले ३९ बलमा तीन चौकासहित अविजित ३१ रन प्रहार गरिन्। अन्यको भने ब्याट चल्न सकेन।

सेन्ट्रलकी रियाले सर्वाधिक दुई विकेट लिइन्। त्यसअघि पहिला ब्याटिङ थालेको सेन्ट्रलले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८६ रन बनाएको थियो।

सेन्ट्रलकी म्यारी डियनले सर्वाधिक २८ रन बनाइन्। ४५ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। साउथर्नका सीति नवाजले दुई तथा सोमु विष्ट, रुविना र नूर डानियाले समान एक विकेट राखे।