नेपाल–वेस्ट इन्डिज टी–२० शृंखला
काठमाडौं। अन्तिम खेलमा १० विकेटको हारसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० आई सिरिज समाप्त गरेको छ।
पहिलोपल्ट टेस्ट टोलीसँग सिरिज खेलेको नेपालले एक खेलअगाबै २-० ले नतिजा आफ्नो पक्षमा पारिसकेको थियो। त्यसैले तीन मुख्य खेलाडी आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई विश्राम दिएर उत्रिएको नेपालले फराकिलो हार बेहोरेको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य पाहुना टोलीले कुनै विकेट नगुमाई १२.२ ओभरमा पूरा गर्यो।
वेस्ट इन्डिजका अमीर जाङ्गुले ७४ र अकिम अगुस्टेले ४१ रनको योगदान दिए। दुवै अविजित रहे।
त्यसअघि सारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। २९ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे।
कप्तान रोहितकुमार पौडेल १७, सन्दीप जोरा १४, कुशल मल्ल १२ र गुलशनकुमार झा १० रनमा आउट भए।
वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए। जेडाया ब्लेड्सको दुई तथा अकिल हुसैन र जेसन होल्डरको नाममा समान एक विकेट रह्यो।