काठमाडौं। अमेरिकाको माथिल्लो सदन सिनेटबाट बजेट पारित नहुँदा अक्टोबर १ मध्यरातबाट सरकारी काम ठप्प हुने भएको छ ।
सरकारी खर्च सम्बन्धी विधेयकमाथि सिनेटमा मतदान हुँदा त्यसको पक्षमा ५५ मत मात्रै परेको थियो । सय सदस्यीय सिनेटमा बजेट पारित गर्नका लागि ६० मतको आवश्यकता थियो।
सत्तारुढ रिपब्लिकन तथा विपक्षी डेमोक्य्राटबीच स्वास्थ्यसेवामा दिने अनुदानको विषयमा सहमति जुट्न नसक्दा बजेट पारित हुन नसकेको हो । बजेट पारित नभएको कारण एयर ट्राफिक, कानून कार्यान्वयन गर्ने निकाय जस्ता अत्यावश्यक सेवा बाहेकका सबै सरकारी सेवा अमेरिकी समयअनुसार बुधबार रातिबाट ठप्प हुने छ।
अत्यावश्यक सेवा बाहेकका सरकारी कार्मचारीलाई बिना तलब बिदामा पठाइने छ। अत्यावश्यक सेवाका कर्मचारीहरुले पनि बजेट पारित भएपछि मात्रै तलब पाउने छन्।
जसको कारण अमेरिकी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने छ। यस्तो अवस्थामा ७ लाख ५० हजार कर्मचारी बिना तलब बिदामा जाने अनुमान छ । अर्कोतर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी कटौती पनि गर्न सक्ने छन्।
बजेट पारित नहुने अवस्थाले राजनीतिक विभाजन झनै गहिरिदै गएको देखाएको छ । रिपब्लिकनहरुले डेमोक्य्राटहरुले सरकारलाई बन्धक बनाएको आरोप लगाएका छन् । डेमोक्य्राटले स्वास्थ्य सेवा व्यवस्था हुनुपर्ने अडान लिँदै आएका छन् ।