काठमाडौं। नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का गर्ने सरकारी निर्णय प्रतिशोधपूर्ण राजनीति भन्दै विरोध गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा सरकारी कदमले दण्डहिनतालाई प्रोत्साहित गर्ने बताइएको छ।
“घटनाको छानविन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथी पूर्वाग्रही र प्रतिसोधपूर्ण रूपमा कथित आयोगको हवाला दिँदै गैरकानूनी गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता माथी प्रत्यक्ष अघात पुग्नेगरी आयोगलाई नभएको क्षेत्राधिकार विहिन कार्य गर्न गराउन सरकार उद्धत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुक भित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रसिशोध प्रष्टै देखिनेगरि निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्कै बाटो हिड्न खोजेकोदेखि,” विज्ञप्तीमा भनिएको छ।
दण्डहिनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न नेपाली कांग्रेसले अन्तरिम सरकारलाई सचेत गराएको छ।
घटना हुँदाका तत्कालीन प्रधानमन्त्री ओली,गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराम थापा र काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी छाविलाल रिजालको राहदानी रोक्का गर्नुका साथ र काठमाडौं उपत्यका बाहिर जान छानबिन आयोगबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ।
“प्रदर्शनका क्रममा भएका घटनाको छानविन गर्न सरकारले न्यायिक छानविन आयोग गठन गरेको कुरा स्वागतयोग्य छ तापनि राजनैतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनावद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विषेशका नेताहरुमाथी बदलापूर्ण, प्रतिशोध लिने उद्देश्यले छानीछानी खोजीखोजी आक्रमण गर्ने उनीहरुका कार्यालयहरु त्यसैगरी तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र वर्दी लुट्ने अनि सोही वर्दी लगाई हात हतियार बोकेर आतङ्क फैलाउँदै हिडेको अवस्थामा देखिएका भेटिएका व्यक्ति उपर प्रचलित कानून बमोजिम कुनै खोजतलास नगर्ने, कानूनी कार्बाही नगर्ने भन्ने आसयको गृहमन्त्रालयबाट मिति २०६२/६/९ मा जारी गरिएको विज्ञप्ति र सोहि विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधानवाद, कानूनी राज्य र विधीको शासनको धज्जी उडाएको छ। यसरी पिडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरुलाई उन्मुक्ति दिदै जाने सरकारको निति हो भने नेपाली जनताका लागि कदापी स्विकार्य हुने छैन,” कांग्रेसले जारी गरेको वक्तव्यमा भनिएको छ।
