काठमाडौंमा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको परीक्षण गर्न पर्याप्त ब्रेथलाइजर नहुँदा दुर्घटना बढ्न सक्ने आशंका गरिएको छ।
प्रहरी कार्यालयहरू जेन–जी प्रदर्शनको क्रममा आगजनी निशानामा पर्दा ट्राफिक प्रहरीसँग भएको ब्रेथलाइजरहरु पनि जलेका छन्।
अहिले काठमाडौं उपत्यकामा १४ वटा ब्रेथलाइजर मात्रै प्रयोग गर्न सक्ने अवस्थामा रहेको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
आगजनीका कारण धेरैजसो प्रहरी कार्यालयहरू पूर्णरुपमा जलेका थिए। उक्त आगजनीका कति क्षति भयो भन्ने यकिन विवरण अझै प्राप्त भइसकेको छैन।
पर्याप्त मात्रमा ब्रेथलाइजर नहुँदा मादक पदार्थ सेवनको परीक्षण कम हुने र त्यसले दुर्घटनाको जोखिम बढ्ने अवस्था हुन्छ।
उपत्यका ट्राफिक प्रहरीले भने पाँच वटा समूहमा मापसे परीक्षणको लागि टोली खटाएको बताएको छ।
फरक-फरक स्थान र समयमा नियमित तथा आकस्मिक मापसे परीक्षण भइरहेको सुवेदीले बताए।
काठमाडौं उपत्यका भरको लागि पाँच वटा टोलीले मात्रै मासपे परीक्षण गर्दा पर्याप्त मात्रामा परीक्षण नहुुने र त्यसले दुर्घटना बढाउन सक्ने जोखिम पनि उत्तिकै छ।