दसैँ विशेष
दुईचोटिसम्म मासुले होसप्राण लिएपछि यो जिनिस मेरा लागि बनेको रहेनछ भन्ने लाग्यो। तर, पिताजीलाई उहाँका साथीहरूले मासु नखाए छोरो कमजोर हुन्छ भनेर सुनाएका रहेछन् क्यारे। छुट्टीमा आएपिच्छे मासु खुवाउने कोसिस गरिरहनुहुन्थ्यो।
२०४१/४२ सालतिर हुनुपर्छ। दसैँ लागिसकेको थियो। पिताजी सरकारी नोकरीको सिलसिलामा कालीकोटमा हुनुहुन्थ्यो। घरमा आमा, म र सानो भाइ थियौँ।
छिमेकी धौला बाजेकहाँ भेडा काटेका रहेछन्। धौला बाजेहरू जुम्लाको मालिकाबोताबाट भर्खरै हाम्रो गाउँमा बसाइँ सरेर आएका हुनाले उनीहरूको घरमा भेडा हुनु सामान्य नै थियो। तर, खसीबाख्रा मात्र देखेका हामीलाई भेडा देख्नु नै अचम्म थियो।
फूलपाती या अष्टमी, संजोगले धौला बाजेका घरमा भेडा काट्दाका दिन पिताजी छुट्टीमा घर आउँदै हुनुहुँदो रहेछ। दसैँ छुट्टीमा घर आउनुभएका पिताजी घरमा पाइला नटेक्दै छोरो अरूका आँगनमा भेडा काटेको हेर्न च्यापु टेकाएर बसेको देख्दा उहाँको मन कुँडियो होला। पिताजीले कतैबाट तीनचार केजी खसीको मासु ल्याउनुभएछ।
बेलुका पिताजी आएको खुसियालीमा खसीको मासु र भात खाइयो। पकाएको मासु खासै नरुचाउने मलाई पिताजीले केही टुक्रा पोलेको मासु खुवाउनुभयो। राति खोइ के भयो, मलाई भयंकर झाडापखाला लाग्यो। यतिसम्म कि इन्तु न चिन्तु हालतमा पुगेपछि अस्पताल नै दौडाउनुपर्यो। त्यसको लामो समयसम्म मासु सम्झ्यो कि त्यही झाडापखालाकै याद आउने हुनाले पछिसम्म खसीको मासु खानै सकिनँ।
मेरो गाउँ मगर बहुल गाउँ। तर, एकहिसाबले सबैतिरका र सबै जातजातिका मानिस बसाइ सरेर आएको हुनाले यो सबैको गाउँ पनि थियो। त्यसैले सबैले सबैका चाडबाड सबै तरिकाले मनाउने चलन थियो। अधिकांश मगरहरूको बाहुनसँग मितेरी सम्बन्ध पनि हुनाले साइनो लगाएरै बोलाउने चलन थियो। गाउँमा पूजाआजा, बिहे र व्रतबन्ध हुँदा निम्तो आउने नै भयो।
छिमेकी सोमै मगरकी छोरीको बिहे थियो। मगरकी छोरीको बिहेमा सुँगुर नकाट्ने कुरै भएन। केटाकेटी बेलाका हामीलाई कसैकोमा बिहे, व्रतबन्ध, पूजा आदि हुँदा दसैँ आएझैँ भइहाल्थ्यो। सोमैकी छोरीको बिहेमा जेठाबाको छोरा स्यान्दाइ र म भतेर खान गयौँ। लहरै बसालेर सालको पातको टपरीमा मासुभात खान दिए। खसीको मासुले सातो लिएकाले मैले खासै खान जाँगर गरेको त थिइनँ, तर स्यान्दाइले तँ झोलसँग खा, मलाई चौटा दे भन्यो। मैले पनि चौटा खाएको छैन क्यारे, झोलले त के होला र भनेर बजाइदिएँ एक टपरी मासुको झोल र भात।
घर नपुग्दै जेठाबाकी कान्छी छोरी देवी दिदीले जेठाबालाई कुरा लगाइसकिछन्- नानी (सान्दाइलाई घरमा नानी भनेर बोलाउँथे) र प्रकाशले सोमैकी छोरीको बिहेमा गएर सुँगुरको मासु र भात खाएर आए भनेर। एक त बाहुन, त्यसमाथि शाकाहारी कृष्णप्रणामी जेठाबालाई के निहुँ चाहियो र! स्यान्दाइ र मलाई पनि सात दिनका लागि जेठाबाका घर पस्न प्रतिबन्ध लाग्यो। धन्न मेरा पिताजी र माताजी थोरै उदार हुनुहुन्थ्यो- खसीको मासु नखाने, सुँगुर चाहिँ खाने भनेर हप्काउनुभयो मात्रै। बेलुका स्यान्दाइ र म मेरै घरमा सुत्यौँ, तर राति पोहोरको दसैँकै जस्तो घटना दोहोरियो। रातभर झाडाबान्ताले निस्लोट भएँ।
दुईचोटिसम्म मासुले होसप्राण लिएपछि यो जिनिस मेरा लागि बनेको रहेनछ भनेजस्तै लाग्यो। तर, पिताजीलाई उहाँका कर्मचारी साथीहरूले मासु नखाए छोरो कमजोर हुन्छ भनेर सुनाएका रहेछन् क्यारे। छुट्टीमा आएपिच्छे मासु खुवाउने कोसिस गरिरहनुहुन्थ्यो, तर मैले सकिनँ। एकपटक लोकल कुखुराको काँचो अन्डा खुवाउँदा त्यो पटक पनि उपर्तल्ली भएर झन्डै सकिइएन।
जब हजुरआमाको शव चितामा जलाउन राखियो र जल्दै जाँदा जुन गन्ध आयो, त्यसले त झनै विक्षिप्त बनायो। त्यहीँ चारचोटि बान्ता गरेँ। टाउको दुखेर टन्टनी भयो। अब आजीवन मासु खानेछैन भनी झुप्राखोला किनारमा हजुरआमाको जलिरहेको चितासँगै मैले प्रण गरेँ।
माछाबाहेक गाउँघरमा पाक्ने सबै प्राणीका मासुहरू ट्राई मारियो, तर सकिएन। यहीबीचमा हजुरआमाको देहान्त भयो। सत्गतका लागि घाटसम्मै गइयो। जब हजुरआमाको शव चितामा जलाउन राखियो र जल्दै जाँदा जुन गन्ध आयो, त्यसले त झनै विक्षिप्त बनायो। त्यहीँ चारचोटि बान्ता गरेँ। टाउको दुखेर टन्टनी भयो। अब आजीवन मासु खानेछैन भनी झुप्राखोला किनारमा हजुरआमाको जलिरहेको चितासँगै मैले प्रण गरेँ।
हाम्रो परिवारमा बुवाका ६ जना दाजुभाइ हुनुहुन्थ्यो रे। तर कान्छा बुवा १५ वर्षकै उमेरमा बेपत्ता भएपछि पाँच जना बुवाका १८ जना छोरा र १० जना दिदीबहिनी गरी २८ जना छोराछोरी र करिब ७० जना नातिनातिना छन्। काइँला बुवाको जोडी नै बितिसक्नुभयो। चार जना फुपूहरूमध्ये हाल दुई जना मात्र जीवित हुनुहुन्छ। नातिनातिना पनि केहीको बिहे भएर बालबच्चा भइसकेका छन्। यसरी मिलेसम्म हामीहरू सबै परिवार करिब डेढ सय हाराहारी जम्मा भएर दसैँमा सामूहिक टीकाटालो गर्छौं। परम्परागत रूपमा मांसाहारी नै रहे पनि अचेल बुवाआमाहरू सबै शाकाहारी हुनुहुन्छ। मेरो पुस्ताका पनि केही शाकाहारी हुनुहुन्छ।
केही वर्षअघिसम्म हाम्रो परिवारको कुलपूजा भयानक हुन्थ्यो। बलि अनिवार्य थियो। धामी अनिवार्य बसालिन्थ्यो। घरभन्दा केही पर जंगलछेउ थान बनाएर नौताल बाजाका तालमा जंगल र पाखापहरा थर्किने गरी गुन्जिएको आवाज तथा पाठाहरूको चीत्कारमा रगताम्मे अनुहारसहित धामीहरू कामिरहेको देखिन्थ्यो। यसो नगरे कुलदेवता दाह्रेमष्टो रिसाउँछन् भन्ने गरिन्थ्यो।
यसरी दाह्रेमष्टो कुलदेवता मान्ने र कुलपूजामा अनिवार्य बलि दिने हामीहरू परम्परागत रूपमा शाकाहारी थिएनौँ, तर दसैँकै लागि र देवीका लागि भनेर छुट्टै बलि दिएको मलाई सम्झना छैन। यद्यपि, अष्टमीका दिन पाठो लगेर घरबाट केही पर पिपिरास्थित देउतीबज्यै मन्दिरमा बलि दिएको र टाउको त्यहीँ छोडी पाठाको शरीर मात्र घरमा ल्याएर घरमा पकाई खाने चलन थियो।
जेठाबा र हाम्रो घर नजिकै भएकाले हामीलाई भने यस्तो सुविधा हुन्नथ्यो। सुरुमा नेपाली सेना र पछि निजामती सेवामा रहनुभएका मेरा पिताजी मासु खानुहुन्थ्यो। माताजी पनि मासु खानेमै पर्नुहुन्थ्यो, तर जेठाबासँग दुवैलाई डर। मासुसमेत लुकेर खाएको देखेर मलाई भने अचम्म लाग्थ्यो।
दसैँमा घरमा देवीपूजा हुन्थ्यो। पिताजी चण्डी खुब मजाले पाठ गर्नुहुन्छ। पिताजीको छेउमा बस्दाबस्दै मैले पनि कामचलाउ चण्डी पाठ सिकिसकेको थिएँ। देवीपूजाका क्रममा कुभिन्डोलाई चारखुट्टे बनाएर बलि दिने चलन भने अहिले पनि छ।
समयक्रमसँगै माताजी र पिताजीले पनि मासु छोडिदिनुभो। मेरो पनि बिहे भइसकेको थियो। तर मेरो ससुरालीतिर मासु छैन त दसैँ छैन! ससुराली जाँदासमेत समस्या पर्ने। ‘ल ल ज्वाइँ आए, पनिर खोज पनिर’ भन्ने स्थिति यति बन्यो कि अचेल त्यो पनिर भन्ने चिज पनि नाक लागिसक्यो।
जीवनका धेरै वसन्त बिते। अब दसैँको मासु सायद आजको पुस्ताका लागि ‘खास चिज’ रहेन, न त नयाँ लुगा नै खास रह्यो। बरु अब शहरमा हुर्किएका बालबालिकाहरूका लागि खास भनेको त दसैँमा गाउँ जानु, खेतबारी चहार्नु, बचेखुचेका अम्बा (बेलौती) र काँक्रा कोपर्नु पो भयो त।
जीवनका धेरै वसन्त बिते। अब दसैँको मासु सायद आजको पुस्ताका लागि ‘खास चिज’ रहेन, न त नयाँ लुगा नै खास रह्यो।
परिवारमा श्रीमती, छोराछोरी र भाइको परिवार मांसाहारी अनि आफू र मातापिता शाकाहारी हुनाले मेरो दसैँ सधैँ आँखा र नाकका लागि मासु, मुख र जिब्रोका लागि नमासु भएर बित्छ। बाल्यावस्थादेखि नै शाकाहारी भए पनि मलाई मासु राम्रैसँग पकाउन आउँछ र पकाएर खुवाउन रमाइलो पनि लाग्छ। एउटै समस्या भनेको नुन चाख्ने कुरामा हो।
माछामासु पनि नखाने, तास खेल्न पनि नजान्ने र मदिरामोह पनि त्यागिसकेको मलाई अचेल दसैँ अरूको अनुहारको भाव पढ्ने पर्व भएको छ। दसैँमा सिनेमा हेर्ने, किताब पढ्ने भन्ने नितान्त एक्लोपनमा रमाउने कुरा हो। दसैँ खासमा हाम्रो अर्धवार्षिक समीक्षाको पर्व पनि हो। यो वर्ष खेती कति सप्रिएला? धान कति मुरी फल्ला? १२ कक्षाको नतिजा आयो, अब कहाँ भर्ना गर्ने होला? यस वर्षको आधाउदी त गयो, अब के गर्ने होला? हरेक पेसा र व्यवसाय गर्नेहरूले आफ्नो आम्दानी-खर्चको लेखाजोखा मात्र होइन, आगामी दिनको गन्तव्य पहिल्याउने पर्व पनि हो यो।
बलि दिने र मासु खानैपर्नै चलन हाम्रो स्थानीय मौलिकता मात्र हो। दसैँ त संसारका अरू देशमा पनि मनाइन्छ। करिब २५ वर्षअघि गुजरातमा बस्दा मैले दुईवटा दसैँ देखेँ। गुजरातीहरू प्राय: सबै कट्टर शाकाहारी हुन्छन्। मदिरा पिउँछन्, तर मिठाईसँग। दसैँका दिन देवी विसर्जन गर्छन्। हामीले जस्तो जमरा र टीका लगाउँदैनन्, तर त्यसअघिका नौ रात हरेक दिन गुजरातका टोल, चोक, पार्टी प्यालेस र खुला चौरहरू गरबा र दान्डियाले गुलजार हुन्छन्।
म मदिरा नपिउनुमा गर्व या अरूभन्दा भिन्न हुँ भन्ने महसुस गर्दिनँ। बरु त्यही भिडमा आफूलाई यसरी घोल्छु कि कसैले यसले पिइराखेको छैन या मासु खाइराखेको छैन भन्ने पत्तै नपाओस्। मेरा लागि मासु पृथ्वीमा पाइने अरू खाद्यपदार्थ जस्तै एउटा अर्को खाद्यपदार्थ मात्रै हो। कसैलाई करेला बेस्सरी मन पर्छ, कसैलाई बेपत्ता तीतो लाग्छ। कसैलाई चनाको दाल हालेको लौकाको तरकारी धेरै मीठो लाग्छ भने कसैलाई लौकाको नाम सुन्यो कि मुखमा मुक्काले हानेर लौ खा भन्न मन लाग्छ।
खाद्यपदार्थको छनोट व्यक्तिपिच्छे फरक हुन्छ। एउटै जात, धर्म, पेसा, वर्ग, वर्णका मानिसबीच मात्र होइन, एउटै कोखबाट जन्मिएका जुम्ल्याहाबीच पनि खाना र स्वादको छनोट फरक फरक हुन्छ।
म माछामासु मात्र नभई अन्डाजन्य परिकार पनि खाँदिनँ। त्यति मात्र होइन, केक, चाउचाउजस्ता खाद्यपदार्थ पनि खाँदिनँ, तर यो मेरो छनोट हो। शाकाहारी हुँ भन्दैमा आफ्नो छनोट अरूलाई थोपर्न मिल्दैन। त्यसमाथि चाडबाड त रमाइलो गर्ने बहाना पनि हो। रमाइलोमा थप रमाइलो आफ्नो खुलापनले थप्छ। जति धेरै खुलापन, उति रमाइलो माहोल।
सबैलाई दसैँको शुभकामना!