काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातसहित तीन मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माणबारे नवमीको दिन बुधबार निरीक्षण गरेका छन्।
चाडपर्वमा यात्रुहरूलाई बीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्याएको क्षतिपश्चातको पुनः निर्माणको अवस्थाबारे बुझ्न मन्त्री घिसिङ सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरूसहित निरीक्षणमा निस्किएका हुन्।
संघीय राजधानीलाई पूर्वी क्षेत्रसंग जोड्नको लागि महत्वपूर्ण रहेको बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो। १६० किलोमिटर लम्बाई रहेको बीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो। हाल भइरहेको इन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाइने छ।
घिसङले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरूले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै भइरहेको राजमार्ग पुनःनिर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिए। गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। बाँकी रहेको खण्ड भने जाइकाले अनुदान सहयोगमा बनाइदिने भएको छ।
घिसिङले बीपी राजमार्गको पुन:निर्माण तत्कालै सुरू हुने बताए। उनले बीपी राजमार्गलाई जति सक्यो छिटो पुन:निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए। उनले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति पुर्याएको सडक खन्ड पुन:निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताए।
“नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे दुई किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ। दसैं-तिहारपछि काम तीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ। छिटोभन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौं,” मन्त्री घिसिङले भने।
दसैंलगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताए। यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरे।
“असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पूर्वानुमान छ, यसबाट बीपी राजमार्ग र नारायणगढ-मुग्लिन तथा नारायणगढ-बुटवल सडकखन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ। म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दछु,” उनले भने।