क्रिकेट
वेस्ट इन्डिजविरुद्ध २–१ ले शृंखला जितेपछि नेपालको अबको लक्ष्य टी–२० विश्वकपतर्फ
संयुक्त अरब इमिरेट्स (यूएई)मा वेस्ट इन्डिजविरुद्ध टी–२० शृंखला सुरु हुनुअघि नेपाली टोलीको सन्तुलनमा निकै ठूलो प्रश्न उठेको थियो। किनकि, वेस्ट इन्डिजविरुद्धको शृंखलाअघि नेपालले अस्ट्रेलियामा टप एन्ड टी–२० शृंखला खेलेको थियो, जसमा टोलीको कमजोरी छताछुल्ल भयो।
पहिलो विकेट ढल्नासाथ मध्यक्रम लर्बराउने रोगका कारण ब्याटिङको निरन्तरता खोज्नुपर्ने अवस्था थियो। अनुभवी बलरले साधारण क्लबका ब्याटरलाई समेत दबाबमा राख्न सकिरहेका थिएनन्। फिल्डिङमा प्राथमिक स्तरका त्रुटिहरूले टोलीको आत्मविश्वास खस्काएको अवस्था थियो।
परिणामतः नेपालले ६ खेलमा दुई जित मात्र हात पार्यो र ११ टोलीमध्ये आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको थियो। यस्तो अवस्थामा आईसीसी टी–२० विश्वकप छनोटअघि वेस्ट इन्डिजविरुद्धको शृंखलामा आशंका गर्नु जायज पनि थियो।
तर, सारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली खेलाडीले सबैलाई चकित तुल्याए। उनीहरूले दुईपटकको टी–२० विश्वविजेता वेस्ट इन्डिजलाई २–१ ले पराजित गर्दै अस्ट्रेलियामा हात पारेको निराशालाई आत्मविश्वासमा बदलेका छन्।
यसले के स्पष्ट गर्छ भने, नेपाल संकटतर्फ मात्र केन्द्रित टोली होइन, अवसर आउँदा आफ्नो स्तर उकास्ने क्षमता पनि राख्छ। यही आत्मविश्वासका साथ नेपाली टोली ८ अक्टोबरदेखि ओमानमा आयोजना हुने विश्वकप छनोटमा सहभागी हुँदै छ।
तेस्रोपटक विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालका लागि यो महत्त्वाकांक्षी अभियान पनि हो। यसका लागि वेस्ट इन्डिजविरुद्धको शृंखलाले आधार तय पारिसकेको छ।
कप्तान रोहित पौडेल भन्छन्, “परिस्थिति अनुकूल नहुँदा पनि दबाब झेल्न सक्ने क्षमता देखायौँ र योजना कार्यान्वयन गर्न सफल भयौँ। वेस्ट इन्डिजविरुद्धको शृंखलाले हामीलाई ठूलो आत्मविश्वास दिलाएको छ। विश्वकप छनोटको तयारीका लागि पनि एकदमै महत्त्वपूर्ण थियो र हामी यो लयलाई छनोटसम्म कायम राख्न चाहन्छौँ।”
अझै कमजोर नेपाल
कप्तान रोहितले यसो भनिरहँदा के नेपालले आफ्नो लयलाई विश्वकप छनोटसम्म कायम राख्न सक्ला? क्रिकेटप्रेमीहरूका लागि यतिबेला कौतूहल बनेको छ। किनभने, वेस्ट इन्डिजविरुद्ध अघिल्ला दुई खेलमा सानदार प्रदर्शन गरेको नेपाल अन्तिम खेलमा नमज्जाले पराजित भएको थियो।
वेस्ट इन्डिजविरुद्ध तीनवटै खेलमा नेपालले सुरुमै ब्याटिङ रोज्यो। टस जिते वा हारे पनि नेपालले सबै खेलमा ब्याटिङ गर्ने रणनीति अपनायो। तर, तुलनात्मक रूपमा युवा खेलाडीले भरिएको वेस्ट इन्डिजविरुद्ध दोस्रोबाहेक अन्य खेलमा ठूलो स्कोर खडा गर्न सकेन।
नेपाल अहिले पनि दुई–तीन ब्याटर र बलरमा निर्भर देखिन्छ। पहिलो खेलमा कप्तान रोहित र मध्यक्रमका कुशल मल्लले ४५ बलमा ५८ रनको साझेदारी गर्दै टोलीको स्कोर १४८ सम्म पुर्याएका थिए। छोटो लक्ष्य भए पनि ‘पार्टटाइम’ बलर कुशल भुर्तेल र रोहितको बलिङले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै नेपालले ऐतिहासिक जित हात पारेको थियो।

दोस्रो खेलमा नेपाल ६.४ ओभरमा ३–४३ को संकटपूर्ण स्थितिमा थियो। तर, ओपनर आसिफ शेख र मध्यक्रममा आएका सन्दीप जोराले शतकीय साझेदारी गर्दै टोलीको योगफल ६ विकेटको क्षतिमा १७३ रनसम्म पुर्याए। बलिङतर्फ भुर्तेल पुनः चम्किए। अघिल्लो खेलमा दुई विकेट लिएका उनले यसपटक तीन विकेट झारे। यस खेलमा तीन वर्षपछि टोलीमा फर्किएका मोहम्मद आदिल अन्सारीको घातक बलिङका कारण वेस्ट इन्डिज कुनै पनि समय सम्हालिन सकेन। उनले चार विकेट झार्दै नेपाललाई एक खेलअगावै शृंखला दिलाउन उच्च योगदान गरेका थिए।
तर, अन्तिम खेलमा नेपालको पोल खुल्यो। तेस्रो खेलमा नेपाल १० विकेटले पराजित भयो। यस खेलमा भुर्तेलबाहेक अन्य खेलाडीको प्रदर्शन औसतभन्दा माथि उठ्न सकेन।
समग्रमा यो शृंखला नेपाली टोलीका लागि गर्वको विषय रह्यो। पहिलो दुई खेलमा टिमले देखाएको एकता, दबाब झेल्ने र योजनालाई कार्यान्वयन गर्ने क्षमता प्रशंसायोग्य थियो। तर, ब्याटिङमा अझैसम्म देख्न नसकिएको निरन्तरता, लामो साझेदारीको अभाव र स्ट्राइक रोटेटको समस्याले दबाब सिर्जना गर्यो। बलिङमा पनि सबै योजना पूर्ण रूपमा सफल भएनन्।
फिल्डिङतर्फको प्रदर्शन भने उत्कृष्ट रह्यो। दबाबयुक्त परिस्थितिमा योजनालाई कार्यान्वयन गर्ने क्षमता देखाउनु र स्थिरता कायम राख्नु सकारात्मक संकेत हो। यस कुरामा रोहितको भनाइलाई नकार्न सकिँदैन। तर, विश्वकप यात्राका लागि नेपालले अझै सशक्त प्रदर्शन गर्नुपर्ने देखिन्छ।
परीक्षामा नेपाल
८–१७ अक्टोबरसम्म ओमानको अल अमेरत क्रिकेट मैदानमा एसिया–प्यासिफिक क्षेत्रीय टी–२० छनोटको फाइनल खेल हुँदै छ। नेपालको अबको लक्ष्य त्यो प्रतियोगिताको विजेता बन्ने छ। भारत र श्रीलंकाले संयुक्त रूपमा अर्को वर्ष टी–२० विश्वकप आयोजना गर्न लागेका छन्। यसका लागि १६ टोलीले पहिले नै आफ्नो नाम सुनिश्चित गराइसकेका छन्। विश्वकपका लागि अब अफ्रिकाबाट दुई र एसियाबाट तीन टोलीको नाम फाइनल हुन बाँकी छ। एसियाली देशको नाम यही प्रतियोगिताबाट टुंगो लाग्नेछ।
वेस्ट इन्डिजविरुद्धको शृंखलापछि नेपालको लक्ष्य त्यही छनोटको शीर्ष तीनमा रहँदै विश्वकप खेल्ने हुनेछ। नेपालले सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको टी–२० विश्वकपमा पहिलो सहभागिता जनाएको थियो। गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा पनि नेपाल दोस्रोपल्ट सहभागी भएको थियो।

नेपालसँगै ओमान र पपुवा न्युगिनीले यसपल्ट उपक्षेत्रीय छनोट खेल्नुपर्ने छुट पाएका छन्। सीधै एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा स्थान बनाएका यी तीन टोलीले यूएई, जापान, कुवेत, मलेसिया, समोआ र कतारसँग खेल्नेछन्। यी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा जापान र कुवेत समावेश छन्। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र समोआ रहेका छन्।
तीनवटै समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्स राउन्ड–रोबिन प्रणालीमा खेलिनेछ। त्यसपछि शीर्ष तीनमा पर्न सक्ने टोलीले विश्वकपको टिकट पक्का गर्नेछ। भुर्तेल भन्छन्, “नेपालबाट आउँदा नै हाम्रो लक्ष्य वेस्ट इन्डिजलाई हराउने थियो। त्यसपछि टी–२० विश्वकपमा छनोट हुने हो। अहिलेको स्थिति हेर्दा लगभग छनोट हुन्छौँ भन्नेमा ढुक्क छौँ।”
नेपाललाई तुलनात्मक रूपमा समूह चरणमा सहज प्रतिद्वन्द्वी परेको छ। हरेक समूहबाट समान दुई टोली सुपर सिक्समा जाने भएका कारण नेपालको त्यहाँसम्मको यात्रा सहज मान्न सकिन्छ। तर, शीर्ष तीनमा पर्न अझै गाह्रो हुने देखिन्छ। यूएई र ओमान एसिया कपका दुई फाइनलिस्ट भारत र पाकिस्तानसँग खेलेर आफ्नो तयारी पूरा गरेका टोली हुन्।
अझ वरीयतामा नेपालभन्दा तल रहेका पपुवा न्युगिनी र कुवेतलाई पनि कम आँक्न सक्ने अवस्था छैन। कुवेतले हङकङमा पाँच महिनाअघि चारदेशीय शृंखलाको फाइनलमा नेपाललाई तीन रनले हराएको तथ्य ताजै छ। त्यसैले नेपालको यात्रा अब कस्तो होला, त्यो भने सबैका लागि कौतूहलको विषय बनेको छ।