२० आश्विन २०८२
कोशी ब्यारेज/ फाइल फोटो
अ+
अ-

सुनसरी। वर्षा कम भएसँगै सप्तकोशी नदीको कोशी ब्यारेजमा पानीको बहाव घट्दै गएको छ।

आइतबार ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड रहेको कोशीको बहाव सोमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेक प्रतिसेकेन्डमा झरेको छ।

यद्पि, पहाडी भेगमा मध्यम वर्षा भइरहेकाले बहाव बढ्न सक्ने अनुमान प्रहरीको छ। बहाव कम भए पनि कोशी ब्यारेजमा खतरा टरेको भने छैन। खतराको चिन्हस्वरुप ब्यारेजमा रातो बत्ती बालिएको छ।

कोशीमा ३ लाख क्युसेक प्रतिसेकेन्डभन्दा बढी बहाव भएपछि खतरापूर्ण मानिन्छ। ब्यारेजमा साना तथा मध्यम खालका सवारीसाधन भने सञ्चालनमा छन्।

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार जोखिमयुक्त क्षेत्रमा सवारीसाधन पठाइएको छैन। जोखिम नभएका क्षेत्रमा जाने सवारीसाधन भने सञ्चालनमा छन्।