२० आश्विन २०८२
तस्बिर: सिन्ह्वा
अ+
अ-

नयाँदिल्ली। पूर्वी भारतीय राज्य पश्चिम बंगालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन्।

पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू कटान हुनुका साथै गाउँहरू तहसनहस भएको जनाइएको छ।

प्रकोपले व्यापक विनाश गरेकाले हिमालयको फेदमा रहेको बस्तीका सयौँ बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ।

प्रकोपका कारण सूचना तथा सञ्चार सञ्जालहरू पनि बन्द भएको अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए।

पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा अवरोध निम्त्याएको छ।

अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थल बन्द गरेका छन्।

प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतबार साँझ आपत्कालीन बैठक बोलाई सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गरेकी छिन्।

“अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बंगालमा पानी भरिएको जनाइएको छ।

प्राकृतिक प्रकोप नियन्त्रणभन्दा बाहिर भएको बताउँदै ब्यानर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र कम्तीमा सात स्थानमा पहिरो र बाढी निम्त्याएको जनाएकी छन्।

भारी वर्षाले उत्तर बंगालका अन्य क्षेत्रहरू जस्तै जलपाइगुडी, सिलिगुडी र कुचबिहार जस्ता धेरै क्षेत्र जलमग्न बनेका छन्।

टेलिभिजनका तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ।

भारतीय मौसम विभागले सोमबारसम्म दार्जिलिङ र कालिम्पोङसहित पश्चिम बंगालमा भारी वर्षाको चेतावनी जारी गरेको छ। कुचबिहार र जलपाइगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ।