काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

टिप्पणी

नियतिको खेलले हाम्रो पुस्तालाई प्रश्न गर्ने होइन, जवाफ दिनुपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ। अब हाम्रो काम केवल बाँच्नु होइन, मुलुकलाई नयाँ जीवन दिनु हो।

२१ आश्विन २०८२
२३ भदौमा जेन-जीले माइतीघर-बानेश्वर सडकमा आयोजना गरेको प्रदर्शन। तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

७ सेप्टेम्बर : प्रतिज्ञाको साँझ

हामीमध्ये केहीका लागि आन्दोलनको तयारी केवल सडकमा होइन, सन्देश र बैठकमै केही दिनअघि नै सुरु भएको थियो। यसै क्रममा ७ सेप्टेम्बरको साँझ माइतीघर मण्डलतिर सानो समूहमा भेला भयौँ।

मेरा लागि ४–५ सेप्टेम्बर आसपास सरोज दाइले नीतिशालाको ग्रुप च्याटमा पठाउनुभएको सन्देश नै प्रवेशबिन्दु भयो। “संसद् भवनअगाडि केही प्लस–टुका भाइबहिनीले आन्दोलनको योजना गर्दै छन्। तिमीहरूले तिनीहरूलाई मण्डलतिर ल्याएर शान्तिपूर्ण रूपमै प्रोटेस्ट सम्झाउनुपर्छ।”

यो वाक्यले हामीलाई एउटा नैतिक आधार दियो। त्यसपछि साथीहरू युजन र आदित्यले समन्वय सुरु गरे, सम्पर्क च्यानलहरू खोलियो। डिस्कोर्ड, रेडिटलगायत सबैतिर साथीहरू खुलेरै आन्दोलन शान्तिपूर्ण बनाउन लागे। हामी कसैको नेतृत्वमा थिएनौँ।

जेन-जी प्रदर्शनमा लेखक वनको तस्बिर।

मण्डलको त्यो साँझ हामीले साझा प्रतिज्ञा गर्‍यौँ— जेसुकै भए पनि आन्दोलन शान्तिपूर्ण बनाउनुपर्छ।

८ सेप्टेम्बर : शान्तिमाथि गोलीको जवाफ

माइतीघर मण्डलबाट नयाँ बानेश्वरतर्फ हाम्रो र्‍याली अगाडि बढ्दै गर्दा म पिकअप भ्यानमै उभिएको थिएँ। अगाडि–पछाडि वरिपरि हजारौँ अनुहार, कोही स्कुल ड्रेसमै, अझै किशोरजस्ता देखिने। तर ती अनुहारहरूको चमक असाध्यै गहिरो थियो— अधैर्य, आक्रोश र आशाले भरिएको। भिडलाई नियाल्दा मनमा एउटा मात्र वाक्य गुन्जिरह्यो—यो इतिहास निर्माणको क्षण हो।

लाग्यो— नेपालको लोकतन्त्रमा नयाँ अध्याय खुल्दै छ। यो भ्रष्टाचारविरोधी आन्दोलनले पक्कै पनि देशलाई नयाँ बाटो देखाउनेछ। नाराले गुन्जायमान आकाश विद्यार्थीको आवाजले चिर्नेछ।

अचम्म लाग्न सक्छ— ‘नेपो किड्स’ राजनीतिकर्मीका सन्तानलाई व्यंग्य गर्ने टिकटक भिडियो नै नेपालको ठूलो युवा आन्दोलनको झिल्को बन्न पुग्यो। सामाजिक सञ्जाल प्रतिबन्धको आक्रोशमा सामूहिक निराशाले निकास पाउँदै थियो। टिकटकका छोटा क्लिपहरूले केवल नातावादमाथि मजाक गरेनन्; तिनीहरूले तीन नेताको घुम्तीमा अड्किएको लोकतन्त्रको तीतो सत्य पनि उजागर गरे।

२३ भदौमा जेन-जीले माइतीघरमा आयोजना गरेको प्रदर्शन। तस्बिर : बिक्रम राई/नेपालन्युज।

आक्रोश त पहिलेदेखि नै थियो। जब सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो, दबिएको आक्रोश विस्फोट भयो। सरकारले यो बिर्सियो कि ऊ हाम्रो कक्षा, काम गर्ने ठाउँ र सार्वजनिक चौतारी बन्द गर्दै थियो। कतिका लागि कमाइ खाने बाटो बन्द हुँदै थियो। र, अन्ततः त्यो आक्रोश विस्फोट भयो।

माइतीघर मण्डलमा भेला हुँदा हाम्रो हातमा हतियार होइन, केवल आशा थियो। पिकअप भ्यानबाट मैले बेलामौकामा रक्षा दिदी, अमितसँगै भिडलाई भनिरहेकी थिएँ— ढुङ्गा नहान्ने! बोटबिरुवा नफोड्ने! हामीले देखाउनैपर्छ— जेन–जीले शान्तिपूर्ण तर सशक्त रूपमा आफ्नो कुरा राख्न सक्छ।

रक्षा दिदीको भिडियो सन्देश हेर्नुस् त, हामी त त्यसैमा आधारित भएर आन्दोलन टुंग्याउने सोचमा थियौँ। सबै कुरा लगभग सामान्य नै थियो। हामीले पानी बाँड्यौँ, गीत गाउँदै अगाडि बढिरहेका थियौँ, आमाबाबुलाई ढाडस दिँदै बीचमा फोन पनि गर्‍यौँ— ‘चिन्ता नलिनुस्, सुरक्षित छौँ।’

चर्को आवाजले आकाश चिरेर भिडलाई पहिलो राउन्ड टियरग्यास फायर हुनासाथ हामी गाडीबाट ओर्लियौँ।

मानव साङ्लो बनाएर सकेसम्म धेरै भाइबहिनीलाई घर फर्किन सम्झायौँ।

तर केही छिनपछि पड्किएको पहिलो गोलीको आवाजले त्यो विश्वासलाई टुक्रा टुक्रा बनाइदियो।

गोलीको आवाजले उत्तेजित उनीहरू झन् अगाडि बढे।

बिस्तारै माहोल हाम्रो नियन्त्रणभन्दा बाहिर पुग्यो। केही मिनेटअघि मात्र शान्तिपूर्ण अन्त्यको अपिल गरेका थियौँ। तर, अचानक हामी आफ्नै जीवन जोगाउन भागिरहेका थियौँ।

एकको मृत्यु। त्यसपछि अर्को। त्यसपछि दर्जनौँ। अस्पताल भरिभराउ। अभिभावकको चिच्याहटले सडक गुन्जियो। मोबाइलमा आउने तस्बिरहरू भयावह थिए।

मेरो दिमागमा एउटै प्रश्न आजपर्यन्त घुमिरहेकै छ— के अपराधका लागि हामीलाई गोली चलाइयो? हामी निहत्था नागरिक थियौँ, केवल करदाताको पैसा कहाँ गयो भनेर प्रश्न गरेका थियौँ। सरकारले किन गोलीमार्फत जवाफ फर्कायो?

८ सेप्टेम्बरमा भएको दृश्य विश्वका धेरै विद्रोहहरूसँग प्रतिध्वनित भएको थियो। यो ट्युनिसियाको सन् २०१० को विद्रोहसँग मेल खान्थ्यो, जसले अरब स्प्रिङ जन्मायो। यो श्रीलंकाको जनआन्दोलनसँग पनि गुन्जिन्थ्यो, जसका कारण राष्ट्रपति पलायन हुन बाध्य भए। यो हङकङका युवा आन्दोलनको दर्पणजस्तै लाग्थ्यो, जहाँ डिजिटल पुस्ताले शासकसँग दृढ प्रतिरोध गर्‍यो।

नैतिक दृष्टिले हेर्दा, यो भारतको २०११ को अन्ना हजारे नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनसँग पनि नजिक थियो। तर, यहाँ एउटा ठूलो फरक थियो— त्यो आन्दोलन वृद्ध समाजसेवीको नेतृत्वमा थियो; हाम्रो आन्दोलन भने त्यहाँ उपस्थित जेन–जीको काँधमा थियो। हामी डिजिटल पुस्ता थियौँ; ऊर्जावान् तर अनुभवहीन। सडकमा बिनाहतियार उभिएर प्रश्न गरिरहेका, नेतृत्वबिना सडकमा सबै जना नेता भएको कुरा हाम्रो बल हुनुपर्ने थियो। विडम्बना, त्यही कुरा हाम्रो कमजोरी बन्न पुग्यो।

९ सेप्टेम्बर : आन्दोलनको अपहरण

मलाई त्यस दिनको आघात नै अन्त्य हो भन्ने लागेको थियो। तर, त्यो त सुरुआत मात्र रहेछ।

भोलि झन् भारी बन्यो। २४ घण्टामा अब यो आन्दोलन जेन–जीबाट सबैको आन्दोलन भइसकेको थियो। सायद अघिल्लो दिन ज्यान गुमाउने भाइबहिनीको अनुहारमा सबैले आफ्ना छोरा–छोरी देख्नुभयो र त्यो आक्रोश गएर नेताहरूको घर–कार्यालयमा पोखियो। संसद् भवन जलिरहेको थियो। नेताहरूको सम्पत्ति जलिरहेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै सत्ताशून्यता फैलियो। अवसरवादीहरूले हाम्रो आन्दोलनलाई स्वार्थका लागि तोडमोड गरे। हामी सार्वजनिक-निजी सम्पत्तिमा गरिने आगजनीको विरोधी थियौँ, तर घुमाउरो पारामा त्यो दोष हामीलाई पनि थोपरियो। अग्रपंक्तिमा रहेका कति साथीहरूको नाममा पक्राउ पुर्जी जारी हुँदै थियो, कति लुकेरै बसेका थियौँ।

हाम्रा केही साथीहरूलाई सेनाप्रमुखले वार्तामा बोलाए। सँगै केही साथीलाई पुरानै दलहरूले अझै सिँढी बनाउन सकिन्छ कि भनेर अन्तिमसम्म पनि कोसिस गरिरहे। त्यो अत्यन्त तनावपूर्ण समय थियो।

हिजोसम्म किताबको सूची र अन्य सामान्य विषयवस्तुबारे बहस गर्ने हामी एकाएक संविधान संशोधनदेखि मुलुकको आगामी दिनबारेको छलफलमा पुगेका थियौँ। समयले सोध्दै नसोधी ठूलो जिम्मेवारी सुम्पेको थियो। प्रत्येक वाक्य, निर्णयले राष्ट्रको दिशा बदल्न सक्ने स्थिति बन्यो।

२४ भदौमा जेन-जी प्रदर्शनकारीहरु सिंहदरबार प्रवेश गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकाे कागजपत्र बाहिर फाल्दै। तस्बिर : बिक्रम राई/नेपालन्युज।

त्यो अस्वाभाविक थियो, केही हदसम्म डरलाग्दो पनि। तर, हामी लोकतन्त्रको रेखामै दृढ बनेर उभिएका थियौँ। हामीलाई थाहा थियो, प्रत्येक निर्णय, प्रत्येक कदमले मुलुकको दिशा बदल्न सक्छ। जिम्मेवारीको बोझ हामीसँग थियो— अत्यन्त भारी, असह्य तर अपरिहार्य। हामीलाई पछि फर्कने अधिकार भने थिएन।

डिस्कोर्डमा डिस्कोर्स

केही घण्टामै संसद्मा हुने भनिएको बहस डिजिटल स्पेसतर्फ सर्‍यो। डिस्कोर्ड सर्भरमा अचानक देशको भविष्यका विकल्पहरू टेबलमा आएका थिए— ‘सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनाउने?’ वा ‘हर्क साम्पाङलाई अघि सार्ने?’ कतै त राजतन्त्र पुनःस्थापनाको आवाज पनि घन्किन थालेको थियो।

त्यो शक्तिशून्यताको घडीमा हामी निसासिइरहेका थियौँ। अनलाइन च्यानलहरूमा बहस चलिरहेको थियो, रेडिट र डिस्कोर्डमा हरेक नोटिफिकेसनले हाम्रो धड्कनलाई तितरबितर बनाइरहेको थियो। हामी अलमलमा थियौँ— के सही कदम उठाइरहेका थियौँ?

अन्त्यमा असम्भवझैँ लाग्ने कुरा सम्भव भयो— नेपालले पहिलो महिला प्रधानमन्त्री पायो। यो राजनीतिक उपलब्धि मात्र थिएन; संकेत पनि थियो कि परिवर्तन डिजिटल माध्यमबाट पनि सम्भव छ। यसबाट अनुभव गर्‍यौँ कि हामी जेन–जी मात्र होइनौँ, एउटा युगको प्रतिनिधि हौँ, जसले प्राचीन संरचनाहरूसँग प्रत्यक्ष संघर्ष गर्‍यो।

तर, गर्वसँगै पीडा पनि मिसिएको थियो। ७५ जीवन गुमे, सयौँ घाइते भए। परिवारहरू चकनाचुर भए, व्यवसाय नष्ट भए। सडकमा, अनलाइनमा, हरेक कुनामा, हाम्रो पुस्ता आघातले चिन्हित भयो। यो केवल तथ्यांक होइन, हाम्रो सामूहिक आत्मामा बसेको गहिरो घाउ हो।

हामीले थाहा पायौँ— जिम्मेवारी केवल सफलता वा असफलतासँगै आउँदैन; यसले पीडा, डर र अनिश्चितता पनि बोकेको हुन्छ।

बाहिरबाट हेर्दा यो विजयजस्तै देखिन्छ। हामीलाई अरब स्प्रिङ, श्रीलङ्का, हङकङ र अन्ना हजारेको आन्दोलनसँग पनि तुलना गरिन्छ। उनीहरूले विजय देख्छन्।

अभिभावकहरूको रोदन अझै सुनिन्छ। रगत सुक्नै बाँकी छ। हामीले बोक्नुपर्ने जिम्मेवारीको भार अझै भारी छ।

सत्य के हो भने, वास्तविक संघर्ष त अब सुरु हुन्छ। जुन जुन नेताहरूलाई असफलताको दोष लगाउँथ्यौँ, अब त्यो तीर आफैँतिर फर्किएको छ। जुन प्रणालीलाई चुनौती दिएका थियौँ, त्यही प्रणालीले अब हाम्रो परीक्षा लिनेछ, सँगै प्रलोभन पनि दिनेछ। त्यसैले अब झन् सचेत भएर एक भई उभिनु आवश्यक छ।

अधुरो क्रान्ति

हो, हामीले इतिहास बनायौँ। तर, इतिहास निर्दयी हुने रहेछ। यदि हामी यहाँ रोकिन्छौँ भने, यदि यो कथा ह्यासट्याग र सहिदहरूसम्म मात्र सीमित भयो भने बलिदानी व्यर्थ हुनेछ।

हाम्रो आन्दोलनले देशलाई पुनःसंरचना गर्ने दुर्लभ अवसर दिएको छ। भ्रष्ट राजनीतिक संस्कृतिबाट बाहिर निस्कन, लोकतन्त्रलाई केवल सत्ताको कुर्सी खेलभन्दा माथि पुनःपरिकल्पना गर्न बाटो दिएको छ।

हामीले बलिदानी व्यर्थ बनाउन पाउँदैनौँ। जनतालाई निराश पार्न पाउँदैनौँ। हामीले सपनामा देखेको त्यस्तो नेपाल निर्माण गर्नैपर्छ— जुन हामीले पाएनौँ, तर अब बनाउन सक्नेछौँ।

किनकि, नियतिको खेलले हाम्रो पुस्तालाई प्रश्न गर्ने होइन, जवाफ दिनुपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ। अब हाम्रो काम केवल बाँच्नु मात्र होइन, मुलुकलाई नयाँ जीवन दिनु हो।

र, अब हामी अघि बढ्छौँ—

जहाँ आवाजले बन्दी भित्ता भत्काउँछ,

जहाँ आकाशले हाम्रो आशा अँगाल्छ,

जहाँ हरेक कदमले इतिहास अझ उज्यालो बनाउँछ।