काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हालका दिनमा देशभरि छिनछिनमा बत्ती जाने समस्याको समाधानको लागि नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुलाई कडाइका साथ निर्देशन दिएका छन्।
सोमबार साँझ काठमाडौँको स्यूचाटारस्थित केन्द्रको अनुगमनको क्रममा मन्त्री घिसिङले देशको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीका अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग र आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात तथा बाढी र पहिरोबाट क्षति पुगेका विद्युत् आयोजनाहरुको अवस्थाबारे विस्तृत जानकारी लिएका छन्।
अत्यधिक गुनासो आएका छिनछिनमा बत्ती जाने समस्याको समाधानका लागि मन्त्री घिसिङले प्राधिकरणका अधिकारीहरुलाई तत्काल कदम चाल्न निर्देशन दिएका छन्। उनले विद्युत् प्रणालीलाई अझ सुधार र व्यवस्थित बनाउन विभिन्न नीतिगत र प्रविधिक सुधारको आवश्यकता औँल्याए। यसका लागि उनले तीन चरणमा सुधारको योजना बनाउने कुरा गरे—अल्पकालीन, मध्यकालीन र दीर्घकालीन।
मन्त्री घिसिङले बाढी र पहिरोका कारण क्षति भएका संरचनाहरूको शीघ्र मर्मत गरि विद्युत् आपूर्ति पुनः सुरु गर्न आवश्यक कदम चाल्न प्राधिकरणलाई निर्देशन दिए। उनले प्राधिकरणका सबै कार्यालयलाई तयारी अवस्थामा राख्न र छिटो कार्यान्वयनका लागि दबाव दिन आग्रह गरे।
तसर्थ, आगामी हिउँदयामका लागि विद्युत् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र महत्त्वपूर्ण प्रसारण लाइन जस्तै मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा-ढल्केबर ४०० केभी निर्माण कार्यलाई प्राथमिकतामा राख्ने कुरा पनि मन्त्री घिसिङले जोड दिएका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले प्राधिकरणको विद्युतीय प्रणालीको वर्तमान अवस्था, उत्पादन र आपूर्ति स्थितिबारे जानकारी दिएका छन्। कार्यकारी निर्देशक सिलवालले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत र विद्युत् आपूर्ति पुनः प्रारम्भ गर्न तयारी अवस्थामा राखेको दाबी गरेका छन्।