काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फिल्म समीक्षा

पटकथा कमजोर हुँदा टेको नपाएको एक्सनको तामझाम

२५ आश्विन २०८२
चलचित्र बलिदानको एक दृश्य।
अ+
अ-

निर्देशक : सन्तोष सेन
कलाकार : समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, सौगात मल्ल, हेमन्त बुढाथोकी, कामेश चौरसिया, कविता राय, सन्तोष सेन र अरू।
कथा : दर्शन जी
निर्माता : पवन ब्राफोर्ड विष्ट
छायांकन : महेश पौडेल

कथा/पटकथा : अंक २
नेपालको दक्षिणी सीमावर्ती गाउँ भिल्लमगढ, जहाँको राजनीतिमा विजय (कामेश) जस्ता इमानदारभन्दा हिंसा र बबन्डर मच्चाउने बाली सेन (अर्पण) को बोलवाला छ। तर बाली माध्यम मात्र हुन्, खास खेलाडी हुन् पुजारी (हेमन्त)।

मान्छेको बलि दिने पुजारी धर्मको आडमा विखण्डनको राजनीति गर्छन्। भिल्लमगढ राज्य टुक्र्याएर राजा बन्ने महत्त्वाकांक्षा बोकेका उनी यसका लागि जुनसुकै अपराध गर्न उद्यत छन्।

एकदिन, यही गाउँमा माछा मारेर जीविका चलाउने युवा अभय (समीर) को आँखैअगाडि बम विस्फोट हुन्छ। कैयौँ निर्दोषको ज्यान जान्छ। जसले उनलाई विचलित बनाउँछ। त्यसपछि, जानी नजानी भिल्लमगढमा विध्वंस मच्चाउने समूहसँग उनको साक्षात्कार हुँदै जान्छ। गाउँमा विस्फोट गराउने र आफू सानो छँदै बुवाको हत्या गर्ने बाली सेन र पुजारी भएको थाहा पाएपछि अभय आफ्नी आमा (ऋचा) को इच्छाविपरीत रणमैदानमा होमिन्छन्।

अभयले सत्ता र शक्तिले भरिपूर्ण पुजारी र बाली सेनलाई भिल्लमगढ टुक्र्याउनबाट रोक्न सक्लान् कि नसक्लान्? बुवाको हत्यारासँग बदला लिने उनको उद्देश्य पूरा होला कि नहोला? कथा यही सेरोफेरो घुमेको छ।

कथामा द्वन्द्वको पृष्ठभूमि सशक्त छ। जसलाई बलिया एक्सन दृश्यहरूले न्याय नै गरेका छन्। तर, कथाको विकासक्रम र चरित्र स्थापनाभन्दा एक्सन हाबी हुँदा कथा र पात्रसँग बेलाबेला दर्शक ‘डिसकनेक्ट’ हुन्छन्। दर्शकले पात्र र घटनाक्रमलाई महसुस गर्न नपाउँदै थपिने नयाँ नयाँ दृश्यबीच तालमेलै नहुँदा पटकथा निकै कमजोर भएको छ।

‘स्क्रिप्ट डक्टर’ को परिचय बनाएका मनोज पण्डितले फिल्ममा द्वन्द्व बलियो हुनुपर्ने वकालत गर्दै आएका छन्। उनले भन्ने गरेको द्वन्द्व एक्सन मात्र नभई परिस्थितिजन्य र भावनात्मक पनि हो। तर, उनै पण्डित स्क्रिप्ट डक्टर बनेको बलिदानमा द्वन्द्वको नाममा एक्सनबाहेक केही नहुनु पटकथाकारसँगै उनको पनि असफलता हो।

अभिनय : अंक २.५
१२ गाउँबाट डेब्यु गरेका समीरले एक्सन हिरोका रूपमा पुनः क्षमता देखाएका छन्। तर, भावनात्मक दृश्य र डायलग डेलिभरीमा उनी फितलो लाग्छन्। अभयकी आमाको भूमिकामा ऋचाको काम औसत मात्र छ। कतै शक्तिशाली त कतै रोनाधोना गर्ने पात्रका रूपमा देखाइएको उनको चरित्र निर्माणमै समस्या छ। खलपात्रका रूपमा अर्पण थापाको अभिनय ठिकै भए पनि उनी धेरैपटक यस्तो भूमिकामा देखिइसकेका छन्।

निर्देशक सन्तोष फिल्ममा छोटो तर प्रभावशाली भूमिकामा देखिन्छन्। आदिवासी बस्तीका मूलीका रूपमा उनी सुहाएका छन्। तर, उनीलगायत पूरै बस्तीका मानिसको हुलिया ‘पोस्ट-एपोक्यालिप्टिक’ विधाका फिल्मका पात्रसँग मिल्नु असंगत देखिन्छ।

छोटो तर प्रभावकारी भूमिकामा देखिएका सौगात एक्सन दृश्यहरूमा जमेका छन्। तर, फिल्ममा उनको सान्दर्भिकता भेटिँदैन। अभयका अप्ठ्यारा क्षणहरूमा साथ दिने कविता पनि पर्दामा घरीघरी आउँछिन्, तर दर्शकसँग जोडिन सक्दिनन्। क्रूर पुजारीको भूमिकामा हेमन्त कतै शक्तिशाली देखिएका छन् त कतै सामान्य।

प्राविधिक पक्ष : अंक ३
फिल्मको विधाअनुसार बलिदानका एक्सन दृश्यहरूमा गरिएको मिहिनेत महसुस हुन्छ नै। लामा एक्सन दृश्यमा पनि दर्शक रोमाञ्चित नै हुन्छन्।

पार्श्वसंगीतदेखि छायांकनसम्मले रोमाञ्चकता थप्ने काम गरेको छ। वीर रस जगाउने खालकै साउन्ड डिजाइनसँगै सुजन चापागाईंको स्वर, संगीत र हर्क साउदको शब्द रहेको शीर्ष गीत बलिदान पनि विषयसुहाउँदो छ।

भीएफएक्सको कामसमेत सराहनीय छ। तर, एक्सनबाहेकका दृश्यमा मध्यान्तरअघिदेखि नै सम्पादनको कमजोरी खड्किन्छ।

निर्देशन : अंक २
सन्तोष सेन आफ्ना फिल्म चलाउन प्रचारप्रसार गर्न माहिर मानिन्छन्। बलिदानको पनि ठूलो हल्लाखल्ला भयो। तर, हल्ला भएअनुसार र दर्शकको अपेक्षाअनुसारको फिल्म निर्देशन/निर्माणमा उनी पटक पटक चुकेका छन्। प्राविधिक पक्ष र प्रचारप्रसारमा सफल सन्तोषले पटकथामा लगानी गर्न अपरिहार्य भएको सन्देश बलिदानले पुनः एकपटक दिएको छ।

अनागरिकका सास्ती, जातीय विभेद र पहिचानको राजनीतिजस्ता गम्भीर राजनीतिक मुद्दा उठान गरेर निर्देशकले फिल्मलाई नियमित ‘रिभेन्ज फिल्म’ मा सीमित गरिदिएका छन्। कसले, किन र केका लागि बलिदान दिने भन्ने स्थापित नहुँदा फिल्मको नाम बलिदान नै असान्दर्भिक प्रतीत हुन्छ। त्यसैले, भन्न करै लाग्छ, निर्देशक सेनको यो बलिदान खेरै गएको छ।