काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

खेलकुद

कुनै बेला क्रिकेट र फुटबलभन्दा लोकप्रिय हक्की नेतृत्वको अक्षमताका कारण नेपाली माटोबाट अलपझैँ

२३ आश्विन २०८२
च्यासलमा आयोजित राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता। तस्बिर : नेपालन्युज
अ+
अ-

बागमती प्रदेश हक्की टोलीका खेलाडी हुन्, विशाल कार्की। उनले पोखरामा २०७९ मंसिरमा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेपछि ‘स्टिक’ समातेका थिएनन्। जो २३ वैशाखमा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता खेल्न आउँदा ललितपुरस्थित च्यासल फुटबल मैदानमा भेटिएका थिए। “विदेश जान अन्तर्वार्ता दिन काठमाडौँ आएको थिएँ। साथीभाइले खेल छ, आऊ, भेटघाट पनि हुन्छ भनेर मात्र खेल्न आएको थिएँ,” कार्की भन्दै थिए।

उनलाई उक्त प्रतियोगिता प्रतिस्पर्धाभन्दा पनि साथीभाइ भेटघाट गर्ने बहाना बन्यो। जसले हक्कीको ओर्लिंदो अवस्था दर्साउँछ। “अन्य खेलको प्रतियोगिता भइरहन्छ। पैसा पनि आइरहन्छ, तर हक्कीमा प्रतियोगिता र पैसा दुवै छैन। त्यही भएर घर धान्न विदेश रोजेको हुँ,” उनले निन्याउरो अनुहार लगाउँदै भने।

कार्कीजस्तै धेरै खेलाडी मलेसिया, कतार, जापान, अस्ट्रेलियालगायत देश पलायन भइसकेका छन्। राष्ट्रिय टोलीमा सम्भावना बोकेका कतिपय खेलाडी होटल, निर्माण व्यवसाय र सवारी चालक पेसामा आबद्ध छन्। अरू पलायन भए पनि आफ्नै जिद्दीले खेलिरहेको बताउँछन्, बागमती प्रदेशका कप्तान अर्जुन खड्का। “हामीले खेल्नुपर्ने त टर्फ (कृत्रिम घाँसे मैदान)मा हो। तर, फुटबल मैदानमा खेलाइन्छ। चित्त बुझाएर खेल्यो, तर पैसा हुँदैन,” उनी भन्छन्, “पैसा नै नदिने भएपछि तँलाई किन जानुपर्‍यो भनेर घरबाट भनिरहेका हुन्छन्।”

विद्यार्थीले भारतबाट भित्र्याए
हक्की खेल भारत र पाकिस्तानमा १९औँ शताब्दीदेखि लोकप्रिय थियो। भारतले सन् १९२८ देखि १९८० सम्म ६ वटा ओलम्पिक्समा स्वर्ण जितेर तहल्का पिटेको थियो। पाकिस्तानले सन् १९७१ मा स्पेनको बार्सिलोनामा भएको पहिलो विश्वकप जितेर सनसनी मच्चायो। यी दुवै छिमेकीसँग विशेष सम्बन्ध भएको नेपालमा भारतीय हक्कीको प्रभाव ठूलो छ। कोलकाता, देहरादुन, लखनउ र दार्जिलिङ पढ्न गएका नेपाली विद्यार्थीले राणाकालमा यो खेल भित्र्याएका थिए। उनीहरू छुट्टीमा फर्किएका बेला नेपाली सेनाको हेडक्वार्टर भएको मैदानमा खेल्थे। हक्की संघको दर्ता २०११ सालमा भयो।

हक्कीको अवस्था २०३३–४० सालसम्म राम्रै थियो। प्रतियोगिता भइरहन्थ्यो। यसै कारण २०४० सालमा पोखरामा दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा हक्की पहिलोपल्ट समावेश गरियो।

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान देवेन्द्रराज कँडेल लखनउमा हक्की खेल्दै हुर्किएका हुन्। उनी भारतको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छानिएका पनि थिए, जो गोलकिपरमा पहिलो रोजाइका खेलाडी भए पनि नागरिकताका कारण अन्तिम समयमा फ्याँकिए। कँडेललाई भारतीय टिममा समावेश हुन उताकै नागरिकता लिनुपर्ने दबाब परेको थियो। तर, उनले नेपाली नागरिकता त्याग्न अस्वीकार गरे। स्वदेश फर्किएर २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय प्रतियोगिता हुँदा आफ्नो एक्लो बलबुताले लुम्बिनी अञ्चललाई स्वर्ण पदक दिलाए।

यो खेल पहिले काठमाडौँमा सीमित थियो। काठमाडौँमा काठमाडौँ रेड र यल्लो, महावीर, गोदावरी अल्मुनाई एसोसिएसन (जीए), ब्वायज युनियन, सेन्ट जेभियर, बूढानीलकण्ठ, त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज, अमृत साइन्स कलेजका टिम थिए।

नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा गोदावरी क्लबबाट खेल्थे। पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ पनि उही क्लबमा आबद्ध थिए। क्लबको मैदान थिएन। त्यसैले अभ्यास गर्न टुँडिखेल धाउँथे। जहाँ स्कुले युवा अभ्यास गरिरहेको देखेपछि ठमेलले पनि काठमाडौँ रेड र काठमाडौँ यल्लोका नाममा दुई टिम तयार पारेको थियो।

बेलायती दूतावासले आफ्ना कर्मचारीलाई खेलाउन मीनभवनमा ब्रिटिस गोर्खा क्लब बनायो। क्यानडा र बेलायती दूतावासमा कार्यरत कर्मचारीलाई संगठित गरी टिम बनाइएको थियो। सेन्ट जेभियर र बूढानीलकण्ठ स्कुलले पनि टिम बनाउँदा हक्कीको गतिविधि राम्रो थियो। जसकारण फुटबल र क्रिकेटमा करिअर बनाउन संघर्षरत खेलाडी पनि यही खेलप्रति आकर्षित भए। यसको जल्दोबल्दो उदाहरण हुन्, राष्ट्रिय टोलीका पहिलो मुख्य प्रशिक्षक अशोक पाण्डे। “फुटबललाई त्यतिबेला गेम अफ पावर भनिन्थ्यो। क्रिकेटलाई गेम अफ लक। हक्की कलात्मक शैलीका कारण लोकप्रिय थियो। त्यसैले हक्की रोज्ने धेरै थिए,” उनी भन्छन्, “यसको क्रेज यस्तो थियो कि टुँडिखेलमा खेल हुँदा झगडा नभएको दिनै हुँदैनथ्यो।”

तत्कालीन राजपरिवारका सदस्य पनि यो खेलप्रति चासो राख्थे। दार्जिलिङको नर्थ पोइन्टस्थित सेन्ट जोसेफ स्कुलमा अध्ययनरत रहँदा पूर्वराजा ज्ञानेन्द्र र उनका भाइ धीरेन्द्र शाहले पनि हक्की खेल्न सिकेका थिए। उनीहरू छुट्टीमा फर्किंदा टुँडिखेलमा सर्वसाधारणसँग मिसिएर खेल्थे।

छोटो स्वर्णिम युग
हक्कीको स्वर्णिम युग २०३३ मा सुरु भयो। तर, त्यो लामो समय टिकेन। यो खेल त्यसबेलासम्म काठमाडौँमा सीमित नभई जिल्लातिर फैलिन थालेको थियो। यसै क्रममा राजेन्द्र कार्कीले विराटनगरमा पुर्‍याए। उनी बूढानीलकण्ठ स्कुलमा अध्ययनरत रहेका बेला हक्की खेल्थे। विराटनगरमा भने फुटबल र क्रिकेटको क्रेज थियो। उनै कार्कीको प्रेरणाले आफू हक्कीमा लागेको सुनाउँछन्, राष्ट्रिय खेलकुद परिषद्का मुख्य हक्की प्रशिक्षक रञ्जन थापा। “हामीले सिक्दा काठमाडौँमा पहिलेदेखि हक्कीको क्रेज थियो। दाइहरू खेल्न आउनुहुन्थ्यो। विराटनगरमा चाहिँ पुरानो हवाई अड्डा (अहिलेको डिग्री क्याम्पस)मा धेरै खेल खेल्ने खेलाडी भेला हुन्थे। त्यहाँ फुटबल र भलिबल पनि खेलिन्थ्यो। दाइकै कारण हक्की पनि खेल्न थाल्यौँ,” उनी भन्छन्।

हक्कीको अवस्था २०३३–४० सालसम्म राम्रै थियो। प्रतियोगिता भइरहन्थ्यो। यसै कारण २०४० सालमा पोखरामा दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा हक्की पहिलोपल्ट समावेश गरियो। त्यस प्रतियोगितामा तत्कालीन १४ अञ्चलमध्ये कोसी, लुम्बिनी, नारायणी, बागमती, गण्डकी र भेरीका टोली सहभागी भए। त्यति नै बेला भारतबाट फर्किएका कँडेल सम्मिलित लुम्बिनी अञ्चलले उपाधि चुमेको थियो। उसले २०४१ र २०४३ सालमा पनि जितेर उपाधिमा ‘ह्याट्रिक’ बनायो।

पहिलो अन्तर्राष्ट्रिय सहभागिताको तीतो अनुभवपछि खेल गतिविधिलाई थप तीव्र बनाउनुपर्थ्यो। तर, संघको नेतृत्वमा आएका श्रेष्ठले यसलाई विदेश घुम्ने माध्यम मात्र बनाए।

लुम्बिनीको त्यो दुर्लभ इतिहाससँगै परिषद्ले पूरै टिमलाई मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पठाउन खोजेको थियो। तर, पछि अन्य अञ्चलका खेलाडी पनि समावेश गर्दै राष्ट्रिय टोली बैंकक उड्यो। नेपाली टोली विदेश गएको त्यो नै पहिलो अवसर थियो। कप्तान कँडेल नै थिए।

निजी क्षेत्रले २०४० सालतिर प्रतियोगितामा लगानी पनि गर्‍यो। जापानी गाडी टोयटाको आधिकारिक विक्रेता कम्पनी वैद्य समूह अघि सरेको थियो। उसले आफ्नै टिम पनि बनायो। भारत र पाकिस्तानी दूतावासका पनि टिम थिए। तर, हक्कीको त्यो चमक लामो समय टिकेन। संघको आन्तरिक द्वन्द्वका कारण प्रतियोगिता नै हुन छोड्यो। “त्यतिबेला बाहिरका टिमहरू आउने र पछिसम्म निरन्तर चलेको प्रतियोगिता टोयोटा कप नै हो। त्यसमा पैसा पनि थियो। तीन संस्करणपछि वैद्य समूहले हात उठायो,” पूर्वगृह राज्यमन्त्रीसमेत रहेका कँडेल भन्छन्, “राष्ट्रिय खेलकुद परिषद्बाट शरदचन्द्र शाहको बहिर्गमन पनि हक्कीका लागि अभिशाप नै भयो। २०४६ सालको राजनीतिक परिवर्तनपछि हक्की हराउँदै गयो।”

त्यसपछि अन्तर्राष्ट्रिय खेलमा सहभागिता
नेपालले काठमाडौँमा २०५१ सालमा भएको राष्ट्रिय प्रतियोगितापछि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने मौका पायो। नेपाली टोली भारतको मद्रासस्थित चेन्नईमा आयोजित सातौँ दक्षिण एसियाली खेलकुद (साग)मा विजयेन्द्र शर्मा (पिन्टु)को कप्तानीमा पहिलोपटक सहभागी भएको थियो। सागमै यो खेल पनि पहिलोपटक समेटिएको थियो।

नियमित खेलिरहेका खेलाडी त्यतिबेला सन्न्यासको सँघारमा थिए। त्यसैले टिम बनाउन गाह्रो परेको थियो। जनकपुर चुरोट कारखानाको टोलीबाट गोलकिपर खेलिरहेका अश्विनी अधिकारी र भारतमा क्रिकेट खेलिरहेका जगत टमाटाजस्ता खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिम बनाइएको थियो। अनुभवी खेलाडी नभएका कारण नेपालले भारतसँग २७ र पाकिस्तानसँग १६ गोल खाएको थियो। “पाकिस्तान एक वर्षअघि मात्र विश्वकप जितेर (चौथोपल्ट) आएको थियो। तर, भारतको तुलनामा कम गोल खाएका हौँ। पहिला खेलिरहेका दाइहरू नै भएको भए केही राम्रो नतिजा निकाल्न सक्थ्यौँ होला, तर त्यो हामीले सक्दो दिएका हौँ,” उक्त प्रतियोगितामा सहभागी रवीन्द्र सिंह भन्छन्।

पहिलो अन्तर्राष्ट्रिय सहभागिताको तीतो अनुभवपछि खेल गतिविधिलाई थप तीव्र बनाउनुपर्थ्यो। तर, संघको नेतृत्वमा आएका श्रेष्ठले यसलाई विदेश घुम्ने माध्यम मात्र बनाए। मैदानमा जति ‘प्लेइङ क्यारेक्टर’ देखाए, त्यसको एक भाग पनि छनक संघमा दिन सकेनन्। भइरहेका प्रतियोगिता उनको आगमनसँगै भटाभट बन्द भए। श्रेष्ठको दुई दशक लामो कार्यकालमा संघ निष्क्रिय भयो। “साग खेलेपछि रफ्तारमै जान्छौँ भन्ने लागेको थियो। तर, त्यो बेलाको अध्यक्ष र सदस्यसचिवको ट्युनिङ नमिलेपछि संघको गतिविधि ओझेल पर्‍यो,” मधेस प्रदेश हक्की संघका प्रशिक्षकसमेत रहेका सिंह भन्छन्।

नेपाल हक्कीको स्तर खस्किएकै बेला साग खेल्न गएको थियो। त्यतिबेलासम्म भारत र पाकिस्तान माथिल्लो वरीयतामा पुगे पनि बाङ्लादेश र श्रीलंकाले भने उल्लेख्य प्रगति गरेका थिएनन्। तर, यी दुई टोलीले आफूलाई सुधार गर्दै लैजाँदा नेपालको स्तर अझै खस्किँदै गयो। “हामीले अवसर पाएनौँ। त्यतिबेला टर्फ पनि आइसकेको थियो। हामीले खेलेको खुला मैदानमा हो। यहाँ खेल्दा र त्यहाँ खेल्दा अवश्य नै फरक हुन्थ्यो। फेरि जुन बेलामा हामी मद्रासमा खेल्न गयौँ, त्यतिखेर लगभग नेपालको स्तर खस्किएर गइसकेको थियो,” पूर्वकप्तान शर्मा भन्छन्।

यो खेलमा गोल खानु ठूलो मानिँदैन। नेपालले यो खेललाई निरन्तरता दिन सक्छ या सक्दैन भन्ने महत्त्वपूर्ण थियो। नतिजा जेसुकै भए पनि खेल हेर्न आएका अतिथिले तारिफ गरेका स्मरण गर्छन्, सागमा गोलकिपर बसेका अधिकारी। नेपाली टोलीले सहयोगको आश्वासन पनि नपाएको होइन। तर, संघले समन्वय गर्न सकेन। फुटबल र क्रिकेटले आफ्नो गतिविधि बढाइरहँदा हक्कीले भने आफूलाई ‘अपग्रेड’ गर्न कुनै चासो देखाएन। त्यसपछि खेल निरन्तर हुन सकेन।

मद्रासमा खेल्नुअघि भारतले प्रशिक्षणका लागि दुई महिना टर्फ उपलब्ध गराएको थियो। नेपालमा टर्फ मैदान नभएको अवस्थामा भारतको त्यो ठूलो सहयोग थियो। “देश संक्रमणकालमा रहे पनि संघले सहयोग लिन सक्नुपर्थ्यो। किनभने, हाम्रो खेलाडी त भारतमै थिए। सबै कुरा इच्छाशक्तिको हो। तत्कालीन नेतृत्वमा फिटिक्कै देखिएन,” उनी भन्छन्।

श्रेष्ठले १५ वर्ष कुनै चासो नदिँदा यो खेलको साख फर्काउन संघलाई हम्मेहम्मे परेको छ। त्यसमाथि तत्कालीन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गत वर्ष नेताको नाममा भइरहेका प्रतियोगितालाई परिषद्बाट बजेट रोक्का गरे। त्यससँगै गिरिजाप्रसाद कोइराला स्मृति पुरुष हक्की र सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता अनिश्चित बनेका छन्। राष्ट्रिय प्रतियोगिताले पनि मैदानकै अभावका कारण अर्को वर्ष निरन्तरता पाउँछन् या पाउँदैनन् भन्न सक्ने अवस्था छैन।

नेपाली खेलाडीले पछिल्लोपटक सन् २०१८ मा पाकिस्तानमा एक महिना प्रशिक्षणको अवसर पाएका थिए। दक्षिण एसियामा नेपालको राम्रो सम्भावना छ।

भारतमा रहेका केही नेपाली खेलाडी नागरिकता परिवर्तन गरी उतै खेल्न थालेका छन्। पछिल्ला उदाहरण हुन्, पन्जाबको कपुरथलामा जन्मिएका २८ वर्षीय गोलकिपर कृष्णबहादुर पाठक। कास्की लुग्दीका पाठक भारतीय राष्ट्रिय टोलीका गोलकिपर हुन्। जसले जुनियर विश्वकप हुँदै कमनवेल्थ गेम्स, एसियन च्याम्पियन्स ट्रफी चार, एसियन गेम्स दुई र च्याम्पियन्स ट्रफी एकपटक खेलिसकेका छन्। उनले भारतलाई पाँच स्वर्ण, दुई कांस्य र एक रजत दिलाइसकेका छन्।

यस्ता प्रतिभाशाली धेरै खेलाडी भारतको प्रदेशस्तरीय प्रतियोगिता खेलिरहेका छन्। संघले उनीहरूलाई समेट्न नसक्दा खेल नै लोप हुने अवस्थामा पुगेको बताउँछन्, बागमती हक्की संघका स्वयंसेवी प्रशिक्षक मनोजकुमार शर्मा। नेपालले यस्ता खेलाडीबाट फाइदा लिन सक्नुपर्छ।

भारतमा अहिले पनि थुप्रै नेपाली बसोबास गर्छन्। तीमध्ये विद्यार्थीको संख्या बाक्लो छ। जसले हक्की खेल्न छाडेका छैनन्। ती खेलाडी एकदमै राम्रो रहेको सुनाउँछन्, गण्डकी प्रदेश हक्की संघका प्रशिक्षक रञ्जित गुरुङ। सम्भावना बोकेका ती खेलाडीलाई देश फर्काउन सके यसले हक्कीलाई नयाँ जीवन दिनेछ।

खेलाडी छन्, टर्फ र योजना छैन
महिलातर्फ नेपाल आर्मी, गण्डकी, मधेस र बागमती प्रदेशसहित चार टोली छन्। पुरुषमा तीन विभागीयसहित सबै प्रदेशका टोली छन्। तर, चाहिनेजति प्रशिक्षक छैनन्। जम्मा तीन जनाले प्रशिक्षणको काम धानिरहेका छन्। अर्कातर्फ अभ्यास गर्ने मैदानको अभाव छ। अझ कतिपय खेलाडी विद्यालयस्तरका छन्। उनीहरूलाई तिखार्न अझै धेरै समय कुर्नुपर्ने बताउँछन्, स्वयंसेवी प्रशिक्षक शर्मा। “प्रदेश संघले मात्र गर्न नसकिने रहेछ। अर्कातर्फ खेलाडी खोजेर ल्याउँछौँ। कहिले सामान छैन भन्छन्। कहिले मैदान छैन भन्छन्,” उनी सुनाउँछन्, “अब दुई वर्षमा एकपल्ट हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पनि निश्चित हुँदैन। त्यसैले नयाँ ल्याउने र सिकाउने क्रम मात्र जारी छ। दिगो भइरहेको छैन।”

नेपाललाई बेलाबेला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न निमन्त्रणा आउने गर्छ। तर, संघसँग आफ्नै ‘एस्ट्रो टर्फ’ छैन। भएका खेलाडीले पनि एस्ट्रो टर्फको अनुभव गर्न पाएका छैनन्। टर्फको अनुभव लिन पनि संघले भारतको निम्तो कुर्नुपर्छ। त्यसैको तयारी भइरहेको अध्यक्ष शर्मा बताउँछन्। “समस्या भनेको टर्फको हो। अहिले खेलिरहेका खेलाडीलाई यो के भन्ने पनि थाहा छैन। त्यसैले एकपल्ट त्यसको अनुभव दिलाउन भारत लैजाने तयारीमा छौँ,” उनी भन्छन्।

नेपाली खेलाडीले पछिल्लोपटक सन् २०१८ मा पाकिस्तानमा एक महिना प्रशिक्षणको अवसर पाएका थिए। दक्षिण एसियामा नेपालको राम्रो सम्भावना छ। यस क्षेत्रमा भारत, पाकिस्तान र श्रीलंकाले मात्र हक्की खेल्दै आएका छन्। त्यसलाई ध्यान दिँदै संघले महिला हक्कीलाई पनि प्राथमिकतामा राखेको छ। तर, मृत अवस्थामा रहेको हक्कीलाई पुनर्जीवित गर्न अब विद्यालयस्तरबाटै कार्यक्रम नथाली नहुने शर्मा बताउँछन्। “१८–२० वर्षको केटाकेटीलाई लगेर खेलाउँदा खेल्ने जीवन नै कति हुन्छ? जुन किसिमको फिजिकल फिटनेस चाहिन्छ, त्यो २७ वर्षमा जस्तो गाह्रो हुन्छ,” उनी भन्छन्, “त्यही भएर १२–१४ वर्षमा सुरु गर्ने भनेर हामी अब यसपालिदेखि तयारी गर्दै छौँ।”

गण्डकी र मधेससँगै भक्तपुर, हेटौँडा अनि हुम्लामा खेलाडी उत्पादन गर्न विद्यालयस्तरमै कार्यक्रम सुरु गरिसकेको उनको भनाइ छ। तर, यी स्थानमा सारा सामग्री दिएर सुरुआत गर्नुपर्ने अवस्था छ। यी सामग्री महँगो हुने हुँदा संघ पनि अन्य निकायमा भर परिरहेको छ। काभ्रेमा धुलिखेल नगरपालिकाको सहयोगमा संघले जग्गा पाइसकेको छ। जहाँ टर्फ हाल्ने तयारी छ। यी सबै कुरा पूरा भए हक्की पुरानै अवस्थामा फर्किनेमा शर्मा ढुक्क छन्।