व्यक्तिवृत्त
गोलकिपर बन्न हिँडेका कुशल बुवाको सपना पूरा गर्न मोडिए क्रिकेटतर्फ, अहिले गरिरहेका छन् उच्चस्तरको प्रदर्शन
लेग स्पिनर सन्दीप लामिछाने जतिबेला टिममा अनुपस्थित हुन्थे, मैदानमा चुनौतीको चाङ हुन्थ्यो। तर, त्यो चुनौतीलाई यतिबेला अवसरमा बदल्ने अभियानमा छन्, कुशल भुर्तेल।
कुशल प्रारम्भिक ब्याट्सम्यान मात्र होइनन्। बलिङमा पनि उत्तिकै प्रभाव छोडिरहेका छन्। १२ मार्च २०२४ मा हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलामा पपुवा न्युगिनीविरुद्ध ३९ बलमा ५९ रन बनाएर उनले टोलीका लागि मजबुत सुरुआत दिएका थिए। उनको योगदान यतिमा मात्र सीमित रहेन, चार ओभर बलिङ गर्दै तीनको इकोनोमीमा चार विकेट लिँदै नेपाललाई ८५ रनको फराकिलो जित दिलाए।
पूर्वप्रशिक्षक मोन्टी देसाई भन्थे, “कुशल हामीले चाहेजस्ता खेलाडी हुन्। उनी जुनसुकै भूमिकामा तयार देखिन्छन्। ब्याटिङ र बलिङ दुवैमा सन्तुलन मिलाउने क्षमता छ उनमा।”
तर, कुशलको छोटो फर्म्याटको क्रिकेट यात्रा त्यति सजिलो रहेन। सन् २०२१ मा श्रीलंकालीमूलका अस्ट्रेलियन प्रशिक्षक डेभ वाट्मोरले नेदरल्यान्ड्स र मलेसियाविरुद्धको त्रिकोणात्मक शृंखलामा डेब्युको अवसर दिलाएका थिए। घरेलु मैदानमा भएको उक्त शृंखलाको पाँच खेलमा चार अर्धशतकसहित २७८ रन बनाएपछि राष्ट्रिय टोलीमा उनको स्थान सुनिश्चित भएको हो।
राष्ट्रिय टोलीमा निरन्तरता सजिलो कुरा पक्कै होइन। वाट्मोरको बहिर्गमन र नयाँ प्रशिक्षकको आगमनसँगै कुशलको लय मात्र बिग्रिएन, टोलीमा स्थान बनाउन हम्मेहम्मे पर्यो। तर, संयोग नै मान्नुपर्छ, उनको खेल शैलीका कारण बीचमा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन आएका कुनै प्रशिक्षकले निकालिहाल्ने जोखिम उठाएनन्। सन्दीपविरुद्ध ‘बलात्कार’ को आरोप र टोलीमा लेग स्पिनरको अभावले उनलाई बलिङको अर्को विकल्प बनायो।
अचानक उपस्थिति
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाका अनुसार कुशल उमेर समूहदेखि नै अलराउन्डरको भूमिकामा खेल्थे। सन् २०१६ मा बाङ्लादेशमा भएको आईसीसी यू-१९ विश्वकपमा नेपाललाई प्लेट प्ले-अफ सेमिफाइनलमा पुर्याउन उनले सबै खेलमा तल्लोक्रममा ब्याटिङ र तीव्र गतिमा बलिङ गरेका थिए। तर दुर्भाग्य, उनी दुवैमा चम्किन सकेनन्।
ब्याटिङमा उनले ५७ रन बनाए। १० ओभर बलिङ गरेका उनी विकेटविहीन बने। सन्दीप भने १४ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।
भुर्तेल त्यो घटना सम्झिँदै भन्छन्, “मेरो बलिङमा पेस पनि थिएन र ढाडको समस्या पनि थियो। त्यसैले बलिङमा करिअर बन्ला जस्तो लागेन र छाडेँ।”

टोलीका अन्य सदस्यसँग कुशल। तस्बिर : क्यान
त्यसयता ६ वर्ष बलिङ गरेनन्। कहिलेकाहीँ घरेलु क्रिकेटमा भने प्रयोग गरिरहे। घरेलु क्रिकेटमा उनले बलिङ गरेको देखेका तत्कालीन भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई भने उनको बलिङले प्रभावित तुल्यायो। प्रभाकर आफैँ पनि भारतीय टोलीका प्रारम्भिक बलर थिए। उनले नोभेम्बर २०२३ मा यूएईसँग भएको तीन एकदिवसीय शृंखलामा कुशललाई टोलीमा स्थान दिए। यसले उनलाई स्थापित गराउन सहयोग गर्यो। पुछारमा ब्याटिङ गरे। तीन विकेट पनि लिए।
आईसीसी विश्वकप लिग-२ मा नामिबिया भ्रमणमा समेत उनलाई त्यही भूमिका दिइएको थियो। तर, नेपालको ब्याटिङक्रम भद्रगोल भयो। राम्रो नतिजा नआएपछि नेपाल क्रिकेट संघ (क्यान)ले फेरि टोलीबाट फिर्ता बोलायो। प्रशिक्षक पदबाट प्रभाकर बर्खास्तमा परेसँगै नेपाल आएका देसाईले भने प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा फर्काउँदै बलिङको पनि अवसर प्रदान गरे।
आफूले पाएको नयाँ चुनौतीबाट कुशल भागेनन्। बरु उनले जिम्मेवारी स्वीकार गर्दै १९ जुलाई २०२३ मा बाङ्लादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ विरुद्ध ६ विकेट लिए। उनको यही प्रभावकारी बलिङका कारण नेपालले तीन विकेटको जित निकालेको थियो।
कुशलको खेल जीवनको ‘टर्निङ पोइन्ट’ भनेको गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको टी-२० विश्वकप हो। अमेरिकामा अघिल्लो दुई खेल खेल्न नपाएका सन्दीप वेस्ट इन्डिजमा भएको खेलमा फर्किएका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेलअगाडि सन्दीपको चर्चा चुलिएको बेला उनले चार विकेट लिँदै सनसनी मच्चाए।
८० किमीको औसतमा बल फ्याँकेका उनको बलिङमा पर्याप्त टर्न देखिन्थ्यो। जसले विपक्षी ब्याट्सम्यानलाई संकटमा पार्यो। उनले स्पिनरलाई राम्रो खेल्ने एडेन मार्कराम र हिन्रिक क्लासेनजस्ता ब्याट्सम्यानलाई आउट गरे। फेब्रुअरीदेखि १५ जुन २०२४ सम्म कुशलले सन्दीपजति नै विकेट लिए।

टी-२० विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा कुशल म्यान अफ द म्याच भएका थिए। तस्बिर : क्यान
कुनैबेला फुटबल खेलाडी बन्न हिँडेका कुशल नेपाल क्रिकेटले पछिल्लो समय प्राप्त गरेको उत्कृष्ट प्रतिभा हुन्। सानोमा उनी गोलकिपर बन्न हिँडेका थिए। तर, बुवाको सपना पूरा गर्न क्रिकेटतर्फ मोडिए। त्यसको एक दशकपछि उनी विश्वमञ्चमा उच्चस्तरको प्रदर्शन गरिरहेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २३ इनिङ्समा ५६.२ ओभर बलिङ गर्दै एक मेडनसहित ३० विकेट लिइसकेका छन्। तीमध्ये ११ विकेट पछिल्लो १० खेलमा लिएका हुन्।
सन्दीपलाई अपवाद (१० खेलमा १९ विकेट) मान्ने हो भने कुशल नेपालका अन्य नियमित बलरभन्दा बढी विकेट लिने खेलाडी हुन्। नेपाली टोलीमा स्पिनरको भूमिकामा देखिएका अन्य खेलाडी पनि छन्। कप्तान रोहितकुमार पौडेल आफैँ स्पिन गर्छन्। दीपेन्द्रसिंह ऐरी पनि अर्का विकल्प हुन्। तर, यी दुवै बायाँहाते अर्थोडक्स बलर हुन्। सन्दीप मात्र टिमका यस्ता बलर हुन्, जो लेगी हुन्। त्यसैले उनी भन्छन्– सन्दीपसँग अन्य बलरको तुलना हुनै सक्दैन। सौभाग्यवश कुशल पनि सन्दीपजस्तै लेग स्पिनर हुन्। त्यसैले सन्दीप टिममा नभएको बेला कुशल उनको विकल्प बन्न सक्छन्।