काठमाडौं। अविरल वर्षाका कारण बाढी-पहिरोले अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन्।
सडक विभागका अनुसार बिहीबार साँझबाट बीपी राजमार्गमा एकतर्फी सवारीसाधन चलाउन थालिएको हो।
असोज १७ देखि लगातार तीन दिनको अविरल वर्षाका कारण बाढी आउँदा बीपी राजमार्गका १३ ठाउँमा सडक क्षति भएको थियो। क्षति भएका ठाउँमा विभागले अस्थायी पुनस्निर्माण गरेको छ।
पछिल्लो पटक तल्लो माम्तीमा दुईतर्फी डाइभर्सन निर्माण सकेपछि यातायातका साधन चल्न थालेको प्रवक्ता प्रभातकुमार झाले बताए।
“बीपी राजमार्ग एकतर्फ सञ्चालन भएको छ,” उनले भने, “भत्किएको ठाउँमा अस्थायी लेन बनाएर यातायात सुचारू गरिएको छ।” आइतबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने प्रवक्ता झाले बताए।
अवरुद्ध भएको सडक खुलाउन रोशी खोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ।
क्षति पुगेको सडक गत सोमबारबाट मर्मत सुरू गरिएको थियो। बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो।
काभ्रेको कटुञ्जे, चार सयबेंसी, चिउरीबास, मङ्गलटार , कालढुङ्गा, पिप्ले माथिल्लो र तल्लो, मान्ती माथिल्लो र तल्लो सडक क्षति पुगेको थियो।
यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक झोलुङ्गे पुलमा सडकमा क्षति पुगेको थियो ।
बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडक भत्किएको थियो।