हिजो उग्र वामपन्थी, आज कट्टर राजावादी
संविधानको परिपालक हुने, राष्ट्रियता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने राष्ट्रप्रमुख चाहियो, त्यो राष्ट्रप्रमुखमा परम्परागत राजा आउने हुन् कि होइनन्? अस्ति त्यसप्रकारको प्रस्ताव जाँदा दलहरूलाई सम्मान गरेर दलहरूमा सहमति हुन्न भने मैले आउनुको औचित्य छैन भनेर राजा पछि हटेका छन्। दलहरू नबोले पनि जनताले बोल्ने हो भने, जनताले साथ दिने हो भने सायद (राजा) आउँछन् कि?
यो भनाइ राजपरिवारको कुनै सदस्यको होइन, राजावादीको पनि होइन, न त कुनै समय राजतन्त्रबाट लाभ लिएकाको हो। बरु यसको ठीकविपरीत यो बोली त्यस्ता व्यक्तिको हो, जो कुनै समय राजतन्त्र नै उन्मूलन गर्नुपर्छ भनेर हतियार उठाउने पार्टीका कमान्डर थिए, माओ–त्सेतुङलाई आदर्श मात्र होइन, पार्टीकै अध्यक्ष पनि मान्थे।
उनी अर्थात् सीपी (चन्द्रप्रकाश) मैनाली २२ असोजमा काठमाडौँ डिल्लीबजारस्थित भोजनगृहमा यस्तै सुनिए। नेपाली कांग्रेस (बीपी)ले दसैँतिहारको शुभकामना आदानप्रदान गर्न आयोजना गरेको चियापान कार्यक्रममा पूर्वपञ्च र राजावादीसँग मैनाली एकै मञ्चमा देखिएनन् मात्र, उक्त पार्टीले २०४७ सालको संविधान ब्युँताउन गरेको मागमा सहमतिसमेत जनाए। यो देश राजाहरूले नै जोगाएको दाबी गर्दै उनले आफ्नो भाषणमा बीपीलाई स्मरण गर्दै भने, ‘बाङ्लादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरू मिलेर गए मात्रै देश बच्न सक्छ, नत्र बच्न सक्दैन भन्ने बीपीको सोचाइ अहिले आएर ज्वलन्त बनेको छ।’
वर्गशत्रु खत्तम अभियान दबाउन माघ २०३२ मा सरकारले सीपीसहित पक्राउ परेकाहरूलाई खुन डाँका र कर्तव्य ज्यान मुद्दा लगायो।
सामन्तवाद अन्त्य गर्न वर्गशत्रु सफाया गर्ने सिद्धान्तका पक्षपातीबाट गणतन्त्रकालका उपप्रधानमन्त्रीसमेत बनिसकेका मैनाली राजसंस्थाको मोहपासमा फस्नुलाई धेरैले गहिरो वैचारिक विचलन भन्न सक्छन्। तर, उनी स्वयं यसलाई वैचारिक पुनर्जागरण भन्न रुचाउँछन्। त्यसैले त अचेल उनी मार्क्स , एंगेल्स, लेनिन, माओलाई भन्दा पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रलाई कम्ता महत्त्वको ठान्दैनन्। सँगै देख्छन्, सँगै जप्छन्। चाबहिलस्थित उनको निवासमा पुग्दा त्यसको प्रमाण भेटिन्छ। बैठक कोठामा लस्करै यी कम्युनिस्ट दार्शनिक र नेतासँगै राजाहरूको तस्बिर पनि टाँगिएको देखिन्छ।
एक थिए सीपी
पञ्चायती व्यवस्थाको एक दशक भएकै बेला वैशाख २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको कोसी प्रान्तीय कमिटीबाट अलग्गिएर युवाहरूले झापा जिल्ला कमिटी गठन गरे। त्यो समय चीनमा माओले सञ्चालन गरेको सांस्कृतिक क्रान्ति उत्कर्षमा थियो। उता भारतमा पनि झापापूर्व पश्चिम बंगालका सीमावर्ती क्षेत्रमा नक्सलबाडी विद्रोह चलिरहेको थियो। यी दुईकै प्रभावमा सीपीका दाजु राधाकृष्ण मैनालीको नेतृत्वमा युवा समूहले झापामा पनि ‘वर्गशत्रु खत्तम’ गर्ने छापामार संघर्ष थाल्यो।
२०२४ सालको एसएलसी बोर्डमा पाँचौँ स्थानमा आएका सीपी त्यसबेला अमृत साइन्स कलेजमा पढ्थे। मेधावी विद्यार्थी थिए। विदेश पढ्न जाने छात्रवृत्ति परीक्षामा उनी पनि उत्तीर्ण भए। तर, आँखा डेढो भएको भन्दै उनको नाम काटियो। त्यसपछि झापा विद्रोहमा सीपीको सक्रियता बढ्यो।
झापा विद्रोहको सुरुआतताका नै सचिव राधाकृष्णलाई क्षयरोगले समात्यो। उनले स्वास्थ्यकै कारण नेतृत्व छाड्नुपर्यो। नेतृत्वको दायित्व केपी शर्मा ओलीमा आइपुग्यो। ‘तर, सचिव केपी सम्पर्कविहीन बन्नु, राधाकृष्ण क्षयरोगग्रस्त हुनु, प्रहरीको धरपकड बढ्नु आदि कारणले सीपीको उदय भयो,’ निरोज कट्टेललिखित २०२८ः झापा विद्रोहको अन्तर्कथा पुस्तकमा उल्लेख छ। फागुन २०२९ मा भएको जिल्ला अधिवेशनले सीपीलाई पार्टी सचिव छनोट गर्यो। युवा र जुझारु सीपी कति प्रभावशाली थिए भने व्यक्तिहत्याबाट क्रान्ति हुँदैन भनेर पार्टीभित्र हुने फरक मत राख्नेहरू उनका अघि टिक्नै सक्दैनथे। पार्टीको बैठकमै नक्सलबाडीका प्रतिनिधि बोलाइन्थे र सशस्त्र क्रान्तिका लागि प्रशिक्षणसमेत हुन्थ्यो।
२०३० सालमा भने पार्टीले व्यक्तिहत्याको कार्यनीति रोक्यो। तर, यी दुई वर्षमा वर्गशत्रु ठानिएका आठ जनाको हत्या गरिएको थियो। सरकार पक्षबाट सात जना मारिएका थिए।
२४ र २५ जेठमा २०३२ मा भएको झापा जिल्ला कमिटीको सम्मेलनले सीपीको नेतृत्वमा ‘अखिल नेपाल क्रान्तिकारी को-अर्डिनेसन केन्द्र (कोके) मार्क्सवादी लेनिनवादी’ गठन भयो।
वर्गशत्रु खत्तम अभियान दबाउन माघ २०३२ मा सरकारले सीपीसहित पक्राउ परेकाहरूलाई खुन डाँका र कर्तव्य ज्यान मुद्दा लगायो। तर, १२ चैत २०३३ मा सीपीसहित १५ कैदी नख्खु जेलबाट सुरुङ खनेर भागे। ‘जेल ब्रेक’ ले सीपीलाई झनै चर्चित बनायो।

सीपी मैनाली।
को-अर्डिनेसन केन्द्रमा विभिन्न समूह संगठित हुँदै ११ पुस २०३५ मा नेकपा (माले) बन्यो। पछि पूर्वको रातो झन्डा, मुक्तिमोर्चा, सन्देश समूह, गण्डकी धौलागिरि कम्युनिस्ट क्रान्तिकारी दल, क्रान्तिकारी कम्युनिस्ट संगठन, सर्वहारावादी क्रान्तिकारी संगठनलगायतको को-अर्डिनेसन केन्द्रसँग एकता भयो। “ससाना समूहमा रहेका कम्युनिस्टहरूलाई खुला संवाद गरेर एकै स्थानमा ल्याउने काम भने सीपीकै नेतृत्वमा भएको हो,” कट्टेल भन्छन्।
२०३५ सालमा मालेले नक्सलबाडी लाइन छाड्यो। तर, सिद्धान्तमा माओवाद कायमै थियो। २०३९ सालमा मालेमा राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रतामा के प्रधान भन्ने विवाद चर्कियो। पार्टी स्वतन्त्रता नीति ल्याएका सीपी अल्पमतमा परेपछि उनले महासचिवबाट राजीनामा दिए। सीपी यसलाई भारतीय पक्षधरको षड्यन्त्र मान्छन्। भन्छन्, “मैले राजीनामा दिने भने पनि अनुशासनहीनतालगायत अनेक आरोप लगाएर महासचिव र पोलिटब्युरोबाट निष्कासन गरे।” सीपीपछि झलनाथ खनाल पार्टी महासचिव बने।
९-१४ भदौ २०४६ मा नेकपा मालेको चौथो महाधिवेशन सिरहामा भयो। महाधिवेशनले पार्टी महासचिवमा मदन भण्डारीलाई चयन गर्नुका साथै पार्टीले माओ विचारधारा त्याग्दै अन्य दलहरूसँग मिलेर पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गर्यो। २०४६ सालमा आन्दोलन सफल भएपछि २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच एकताबाट नेकपा (एमाले) जन्मियो। जसमा मार्क्सवादीका मनमोहन अधिकारी अध्यक्ष र मालेका मदन भण्डारी महासचिव बने।
वाम राजनीतिमा ५० वर्षभन्दा बढी बिताएका सीपी अहिले ७३ वर्षमा हिँडिरहेका छन्, र राजनीति र जीवनकै उत्तरार्द्धमा उनी राजावादी चोलामा देखिएका छन्।
१४-२० माघ २०४९ मा भएको एमालेको पाँचौँ महाधिवेशनमा सीपीले अघि सारेको परिमार्जित नौलो जनवादको प्रस्ताव पराजित भयो। भण्डारी पुनः महासचिव चुनिँदा सीपी भने पोलिटब्युरो सदस्य बने।
यसैबीच ३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भयो। त्यसपछि माधवकुमार नेपाल महासचिव चुनिए।
२०५१ सालमा एमाले संसद्मा सबैभन्दा ठूलो दल बन्यो। पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना अल्पमतको सरकार बन्यो। सीपी स्थानीय विकास, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पनि बने। तर, सरकार सञ्चालनमा खटपट भएपछि सीपीलाई बीचमै हटाइएको थियो।
४ असोज २०५३ मा नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमालेसहितको समर्थनमा संसद्बाट भारतसँग महाकाली सन्धि पारित भयो। महाकाली सन्धिले राष्ट्रघात गरेको भन्दै २१ फागुन २०५४ मा वामदेव गौतम र मैनालीको नेतृत्वमा एमाले फुट्यो र पुनः नेकपा (माले) बन्यो।
तर, २०५६ सालको आमनिर्वाचनमा यो दलले एक सिट पनि ल्याउन सकेन। २०५८ सालमा गौतमको नेतृत्वमा अधिकांश नेताहरू पुनः एमालेमै फर्किए। तर, सीपी भने महासचिव बनेर मालेमै रहे। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मालेबाट क्रमशः आठ र पाँच जना सांसद निर्वाचित भए, जसमा दुवैपटक सीपी समानुपातिकतर्फ सभासद् बने। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने मालेले कुनै सिट ल्याउन सकेन।
संविधानसभामा दुई पटक निर्वाचित भएका सीपीले कहिले पनि राप्रपा नेपालजस्तो राजतन्त्रको माग गरेका थिएनन्। ३ असोज २०७२ मा जारी भएको संविधानमा सीपीले गणतन्त्रकै पक्षमा मतदान गरेका थिए। संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको केपी शर्मा ओलीको नेतृत्वमा २०७२ सालमा बनेको सरकारमा उनी उपप्रधानमन्त्रीकै हैसियतमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत बने।
गन्तव्य राजावादी
वाम राजनीतिमा ५० वर्षभन्दा बढी बिताएका सीपी अहिले ७३ वर्षमा हिँडिरहेका छन्, र राजनीति र जीवनकै उत्तरार्द्धमा उनी राजावादी चोलामा देखिएका छन्। यस्तो कसरी सम्भव भयो?
असोजको पहिलो साता नेपाल न्युजसँगको भेटमा सीपीले आफू पहिल्यै राजाका राम्रा कामका प्रशंसक रहेको बताउँछन्। राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव ल्याउँदा पनि आफूले समर्थन गरेको तर पार्टीले अनुमोदन नगरेको उनको भनाइ छ। “त्यसबेला म जेलमा थिएँ। शान्ति क्षेत्रको प्रस्तावको समर्थन गर्न जेलबाटै सन्देश पठाएको थिएँ,” उनी भन्छन्।
नेपाल बनाउन राजाहरूको सबैभन्दा बढी भूमिका भएको बताउने सीपी त्यसलाई अवमूल्यन गरिएकामा चिन्तित लाग्छन्। “राजाहरूलाई समग्रमा हेर्दा पृथ्वीनारायण शाहको एकीकरणको भूमिका देखिन्छ। त्रिभुवनले घोषणा गरेको विधान सभालाई राजा महेन्द्रले नतुहाइदिएको भए उतिबेलै नेपाल सिक्किम नभए पनि भुटान बनिसक्थ्यो, गणतन्त्रको षड्यन्त्र त त्योबेला नै बनेको थियो,” उनको तर्क छ, “त्यसैले पृथ्वीनारायणपछि महेन्द्र नै यस्ता राजा हुन् जसले सिंगो नेपालको रक्षा गरे।” उनको भनाइमा महेन्द्रको भूमिसुधार तथा सामाजिक सुधारको कामको पनि सही मूल्यांकन गरिएन।
त्यसो त सीपीभन्दा अघि झापा काण्डकै नेतृत्वकर्ता दाजु राधाकृष्णले पनि राजालाई वरण गरिसकेका हुन्। २०६१ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि राधाकृष्ण मन्त्री नै बने।
सीपी आफूलाई २०३९ सालमा माले महासचिवबाट हटाइएदेखि नै राजनीतिबाट किनारामा धकेल्ने खेल हुन थालेको बताउँछन्। “माधवकुमार नेपालसहित भारतबाट प्रभावित नेताहरूले मलाई कहिल्यै पार्टीमा राख्न चाहनुभएन, २०५४ सालको विभाजनताका एकपटक पनि मसँग कुरा गर्ने आवश्यकता महसुस गर्नुभएन। किनभने, बोस (भारत) चाहँदैनथ्यो,” उनी भन्छन्।
सीपीसँग लामो समय निकट रहेर काम गरेका र २०३९ सालमा उनकै विचारलाई समर्थन गरेका कारण कारबाही भोगेका एमाले केन्द्रीय सदस्य टंक कार्की मैनालीमा देखिएको राजावादी रुझानलाई ठूलो वैचारिक विचलन ठान्छन्। “झापा आन्दोलनको वैचारिक उग्रतालाई सुधार्दै २०४० सालसम्म उहाँले ठीकै काम गर्नुभएको हो। तर, अहिले उहाँमा आएको राजावादी विचार ठूलै वैचारिक विचलन हो,” उनी भन्छन्। कार्कीको बुझाइमा नेतृत्वको समग्र मूल्यांकन प्रजातन्त्र, राष्ट्रियता र सामाजिक न्यायको आधारमा गर्नुपर्छ। भन्छन्, “यसरी हेर्दा राष्ट्रियताको विषयमा उहाँको प्रतिबद्धतामा म आज पनि शंका गर्दिनँ, तर लोकतन्त्रको मूल्य र मान्यतामा चिप्लिएको देख्छु।”
लेखक कट्टेल भने सीपीमा आएको परिवर्तनलाई नेपाली कम्युनिस्ट आन्दोलनको उतारचढावको प्रतिनिधिका रूपमा हेर्नुपर्ने बताउँछन्। भन्छन्, “कम्युनिस्ट आन्दोलन कहाँबाट सुरु हुन्छ अनि कहाँ अन्त्य हुन्छ भन्ने यात्रामा सीपी मैनाली केस स्टडी हुन सक्छन्।”
लेखक-विश्लेषक खगेन्द्र संग्रौला सीपीको पछिल्लो शाही पक्षपोषण बिल्कुलै स्वाभाविक ठान्दैनन्। “इतिहासको चिहानघारीमा फालिएको वंशतन्त्रको पक्षमा उभिनु भनेको पतनको पराकाष्ठा हो,” उनी भन्छन्।
त्यसो त सीपीभन्दा अघि झापा काण्डकै नेतृत्वकर्ता दाजु राधाकृष्णले पनि राजालाई वरण गरिसकेका हुन्। २०६१ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि राधाकृष्ण मन्त्री नै बने। २०६२/६३ को आन्दोलनपछि भने एमालेबाट निकालिएको परिस्थितिजन्य अवस्थामा आफूबाट भुल हुन गएको स्पष्टीकरण दिएका थिए। राधाकृष्ण मात्रै होइन, झापा काण्डकै अर्का चर्चित नेता मोहनचन्द्र अधिकारी पछिल्ला दिनमा हिन्दुवादी र राजावादी बनेका छन्।
नेपाली कम्युनिस्टलाई लाग्दै आएको आरोपमध्ये एक हो– दरबारसँग निकटता। नेकपाको दोस्रो महाधिवेशनबाट निर्वाचित महासचिव केशरजंग रायमाझी स्वयंले १ पुस २०१७ मा राजा महेन्द्रले गरेको ‘कू’ को स्वागत गरेका थिए। त्यसपछि नेकपा (रायमाझी) गठन गरेका रायमाझी २०४६ सालपछि राजा वीरेन्द्रको सिफारिसमा राजसभा स्थायी समितिका सभापति पनि बने। रायमाझीको यही प्रवृत्तिलाई नेपाली वाम राजनीतिमा ‘रायमाझीपथ’ भनिन्छ। यही पथ पछ्याउँदै शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी, कमलराज रेग्मी पनि दरबार प्रवेश गरे।
संग्रौला सामन्ती सोचबाट आएका नेताहरूमा वाम वा दक्षिणपन्थी दुवैतर्फ उग्र प्रवृत्ति देखिने बताउँछन्। भन्छन्, “वर्गीय चरित्र वा रगतले जे संस्कार रोपेको थियो, त्योभन्दा फरक बाटो यिनीहरूले रोजे। कतिपय सन्दर्भमा निहित स्वार्थ पूरा नभएपछि वा थाकेपछि उनीहरू पुरानै अवतारमा फर्किएका मात्र हुन्।”