काठमाडौं। साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार लयमा फर्किएको छ। ४४.२५ अंकले बढेको नेप्सेमा आज हरियाली छाएको छ। योसँगै नेप्से २५४७.६० विन्दुमा रोकिएको छ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.१४ अंकले बढ्दै ४४४.५४ अंकमा पुगेको छ। नेप्सेमा आज ३३० वटा कम्पनीको ४८ हजार ८३६ पटकको कारोबारमा ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच भए। जसअनुसार आज चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ रुपैयाँबराबरको कारोबार भएको छ।
हरियाली बनेको सेयर बजारमा आज २०० कम्पनीका सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको मूल्यमा गिरावट आयो। ८ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक बढे।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा नेपाल माइक्रो इस्योरेन्स कम्पनी लिमिटेड परेको छ। यसैगरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इस्योरेन्स कम्पनी लिमिटेड क्रमश: पहिलो र दोस्रो स्थानमा रहे। यी तीनवटै कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् यी तीनवटै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले मुनामा पाए।
यसैगरी बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ। यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १८ सय रुपैयाँ कायम रह्यो।
नेप्सेमा आज एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ। एनआरएनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १८९८.८० रुपैयाँमा रह्यो। यसको ३१ करोड ९१ लाख चार हजार ७३२ रुपैयाँको सेयर कारोबार भएको छ।