२८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। ‘कल्याणमणि आचार्य दीक्षित स्मारक कोष’को ३६औं वार्षिक समारोहमा करुणा फाउन्डेसन सम्मानित भएको छ। अपांगता रोकथाम एवं अपांगता भएका व्यक्तिहरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत करुणा फाउन्डेसन कोषको ३६औँ वार्षिक समारोहका उपलक्ष्यमा सम्मानित भएको हो।

कोषले बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान दिने संस्था वा व्यक्तिलाई आफ्नो स्थापनाकालदेखि नै सम्मान गर्दै आएको छ। त्यसक्रममा यस वर्षको सम्मान करुणा फाउन्डेसनले पाएको हो।

करुणा फाउन्डेसनले कोशी प्रदेशका एक सय ३७ पालिकामा कोशी प्रदेश सरकार तथा स्थानीय तहहरूसँगको आर्थिक तथा प्राविधिक साझेदारीमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ। करिब एक सय ५० जना अपांगता भएका व्यक्तिलाई विभिन्न पालिका तथा करुणा नेपालमा रोजगारीको अवसरसमेत दिलाएको छ।

कोशी प्रदेशमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक विकासको नमुना (मोडल) का रूपमा समेत विकसित भएको फाउन्डेसनले जनाएको छ। यो कार्यक्रम संघीय सरकारको सहकार्यले देशभर विस्तार हुने अवस्थामा छ भने ‘नेपाल मोडेल’का रूपमा कंगो, तान्जानिया र केन्यामा चलिरहेको छ।