त्यो काण्ड
केआई सिंहलाई राजद्रोहको मुद्दामा माफी दिएर राजा महेन्द्रले २०१४ सालमा प्रधानमन्त्री बनाए। तर, उनीसँगै राजा किन तर्सिए?
११ साउन २०१४ मा राजा महेन्द्रले दिउँसो ३ बजे रेडियो नेपालबाट राष्ट्रका नाममा सम्बोधन गरे– ‘संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्ष डा. कुँवर इन्द्रजीत (केआई) सिंहको नेतृत्वमा ११ जनाको मन्त्रिमण्डल घोषणा गरिबक्सेका छौँ।’
त्यो सम्बोधनमा महेन्द्रले मुलुकमा प्रजातान्त्रिक पद्धतिको जग राम्रोसँग स्थापना होस् भन्ने आफ्नो दृढ इच्छा भएको र प्रत्यक्ष शासन चलाउने इच्छाअनुकूल नहुँदा केआई सिंहको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन गरेको बताउन भुलेनन्। तर, आफैँले बनाएको मन्त्रिमण्डलले पाँच महिना पनि काम गर्न नभ्याउँदै सिंहलाई प्रधानमन्त्रीबाट बर्खास्त गरे।
२९ मंसिर २०१४ मा राजाको अर्को शाही घोषणा आयो– ‘२००७ सालको परिवर्तनपछि बखत बखतमा सरकार गठन भई विभिन्न कारणवश विघटन गर्नुपर्ने अवस्था आइपरेको सबैलाई थाहा भएकै कुरा हो। बराबर सरकारमा हेरफेर भइरहेर मात्र देशनिर्माणको काम सुचारु रूपले चल्दैन भन्ने कुरा पनि सबैले भनिआएकै हो। यसैले सकभर सरकार विघटन गर्न नपरोस् भन्ने हामीबाट समय समयमा इच्छा र आशा गरिबक्सेका पनि थियौँ, तर मौजुदा सरकारलाई पनि अहिले विघटन गर्न बाध्य हुनुपरेकोमा हामीलाई खेद छ।’
सिंहको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्दा त्यो चुनावी सरकार हुने घोषणा राजा महेन्द्रले गरेका थिए। तर, बीचमा त्यस्तो के पर्यो, जसका कारण आफैँले गठन गरेको सरकारलाई चार महिना १९ दिनमै राजाले हटाए?
केआई सिंहलाई प्रधानमन्त्री पदबाट हटाउने राजा महेन्द्रको कदम जति आश्चर्यजनक थियो, त्यति नै चकित पार्ने घटना थियो– उनलाई प्रधानमन्त्री बनाउने निर्णय। सिंह तिनै पात्र थिए, जसले राजा त्रिभुवनको शासनकालमा २००८ सालमा प्रजातान्त्रिक व्यवस्थाविरुद्ध विद्रोह गरे। उनकै नेतृत्वमा सिंहदरबार २४ घण्टा कब्जा भयो।
यो घटनापछि भागेर तिब्बत पुगेका सिंह साढे तीन वर्ष चीन सरकारको संरक्षणमा बसे। त्यतिबेला नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भइसकेको थिएन। अझ, नेपालले तिब्बतलाई चीनको अंग मान्न अस्वीकार गरेको थियो।
यस्तो अवस्थामा चीनबाट राजनीतिक संरक्षण प्राप्त गरेका सिंहलाई प्रधानमन्त्री नियुक्त गर्ने राजा महेन्द्रको निर्णयप्रति सबैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो।
२०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट चुनाव लडेका १०३ वर्षीय लीलाप्रसाद लोहनी सम्झन्छन्, “प्रधानमन्त्री नियुक्त हुनुअघि उनलाई राजद्रोहको मुद्दा लगाइएको थियो। तर, राजा महेन्द्रले उनको मुद्दा फिर्ता लिँदै प्रधानमन्त्री बनाए। देशभित्र नेपाली कांग्रेस, नेपाल प्रजा परिषद्, राष्ट्रिय प्रजा पार्टी, नेपाली राष्ट्रिय कांग्रेसजस्ता पार्टीहरू सक्रिय थिए। तर, चीनबाट फर्केको दुई वर्षभित्रै नयाँ पार्टी गठन गरेका उनलाई प्रधानमन्त्री नियुक्त गर्न राजालाई त्यस्तो के आवश्यकता पर्यो, यो हामी कसैले बुझ्न सकेनौँ।”
२०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा नेपाल र चीनबीच सम्झौता भयो। यसपछि राजा महेन्द्रकै सक्रियतामा सिंह काठमाडौँ फर्किए। २८ भदौ २०१२ मा राजधानी प्रवेश गर्दा सिंहलाई नागरिक अभिनन्दनको नाममा भव्य स्वागत गरियो। उनको स्वागत कुनै विजेताभन्दा कम थिएन।
सिंहले चीनमा शरण लिइरहेकै बेला ५ कात्तिक २०११ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चीन भ्रमण गरेका थिए। नेहरूको त्यो भ्रमण चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि कुनै पनि देशको राष्ट्राध्यक्षले गरेको पहिलो यात्रा थियो। नेहरूले यही भ्रमणमा सिंहलाई शरण दिने चिनियाँ नीतिको आलोचना गरे। २९ कात्तिक २०११ मा बर्माका प्रधानमन्त्री उ नुलाई नेहरूले पठाएको पत्रमा उल्लेख छ– ‘केआई सिंह, एक नेपाली नागरिक, जसले आफ्नै सरकारविरुद्ध विद्रोह गरेका थिए। चीनमा प्रोत्साहन पाइरहेको कुरा उठाएँ। यस किसिमको कुराले एसियाली देशको मनमा आशंका उत्पन्न गर्छ।’
नेहरूको असन्तुष्टि सम्बोधन गर्ने क्रममा चिनियाँ प्रधानमन्त्री चाउ एन लाइको भनाइ थियो– ‘केआई सिंह चीनको सीमाभित्र प्रवेश गरेका हुन्, अन्य केही मानिससहित गोलाबारुद बोकेर। अन्तर्राष्ट्रिय चलनअनुसार उनीहरूलाई निःशस्त्र बनाएर शरण दिइएको हो, थप केही गरिएको छैन। उनलाई आफ्नो देशविरुद्ध कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन अनुमति दिइएको छैन।’
चीनमा राजनीतिक शरण लिएपछि सिंहले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङसँग भेट गर्न बारम्बार प्रयास गरेका थिए। तर, नेहरू रिसाउने डरले माओले सिंहसँग भेट्न मानेनन्।
प्रधानमन्त्री चाउले भने सिंहलाई भेटेको चिनियाँ स्कलर सिया डेङजुनले चिनियाँ लेखक सी जुआनसँगको अन्तर्वार्तामा बताएका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्री चाउले त अझ उत्तर कोरिया र सोभियत संघ (रुस) पठाउने तयारी गरेका थिए।’
नेपाल र भारतसँग कुनै सन्धिसम्झौता नभएको बेला चीनले सिंहलाई ठूलो महत्त्व दिएको थियो। तर, अमेरिकी गुप्तचर संस्था (सीआईए)ले उनको गतिविधि नियालिरहेको सूचना पाएपछि चाउ पनि हच्किएका थिए।
यही सेरोफेरोका बीच २०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा नेपाल र चीनबीच सम्झौता भयो। यसपछि राजा महेन्द्रकै सक्रियतामा सिंह काठमाडौँ फर्किए। २८ भदौ २०१२ मा राजधानी प्रवेश गर्दा सिंहलाई नागरिक अभिनन्दनको नाममा भव्य स्वागत गरियो। उनको स्वागत कुनै विजेताभन्दा कम थिएन।
“उनको स्वागत युद्ध जितेर फर्किएजस्तै थियो। सिन्दुर जात्रा र भव्य जुलुससहित नगर परिक्रमा गराइएको थियो। उनको स्वागतमा त्यत्रा मानिस कहाँबाट आए, यो बुझ्न कठिन थिएन,” लोहनी भन्छन्।

चीनबाट फर्किएपछि नागरिक अभिनन्दनमा सहभागी केआई सिंह
काठमाडौँ प्रवेश गर्नु दुई दिनअघि सिंहलाई आममाफी दिइएको थियो। २६ भदौ २०१२ मा शाही घोषणामार्फत भनिएको थियो, ‘साढे तीन वर्ष फरार भई हाल नेपाल फर्किआई बिनासर्त आत्मसमर्पण एवं राजा र देशको बफादारी गर्ने आश्वासनसहित लिखित बिन्तीपत्रद्वारा माफी मागेको हुनाले निजहरू उपर लगाइएको सरकारी आरोप खारिज गरी निज केआई सिंह र निजका साथीहरूलाई हाम्रा शाही विशेषाधिकार प्रयोग गरी माफी बक्सेका छौँ।’
सिंहले पनि नगर परिक्रमा गर्ने क्रममा देश र नरेशप्रति बफादार रहने बताएका थिए। यसको दुई महिनाभित्र संयुक्त प्रजातन्त्र पार्टी स्थापना गरेका उनी २०१४ सालमा नयाँ मन्त्रिमण्डल गठन हुँदा राजा महेन्द्रको पहिलो रोजाइमा परे।
यो घटनापछि दरबारले सिंहको विषयमा एउटा रणनीति बनायो– न उनलाई धेरै नजिक राख्ने, न टाढा।
प्रधानमन्त्री नियुक्त भएको एक साता नबित्दै उनले ठूल्ठूला घोषणा गरेका थिए। २००७ सालयताको सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने, राजकीय पार्टीहरूमा मदिरा सेवन र मन्त्रिमण्डलको बैठकमा मन्त्रीहरूलाई चियापान गराउने प्रथाको अन्त्य गर्ने घोषणा गरे। उनको मन्त्रिमण्डलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्ती पनि समावेश थिए। देवकोटा शिक्षा तथा स्वायत्त शासनमन्त्री थिए।
मन्त्रिमण्डल राम्रैसँग चलिरहेको थियो, तर एक्कासि भंग भयो। त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा इतिहासविद् हेमन्तशमशेर राणा भन्छन्, “बाहिर सरकार ठीकठाकसँग चलेको देखिए पनि केआई सिंह भित्रभित्र राजालाई नै फ्याँक्ने अभियानमा लाग्नुभएको रहेछ।”
राजा महेन्द्रलाई गद्दीबाट हटाउन उनले दरबारनिकट पूर्वप्रहरी प्रमुख नरशमशेर राणासँग कुराकानी गरेका रहेछन्। नरशमशेरको आत्मकथाका लेखकसमेत रहेका हेमन्त भन्छन्, “उहाँ (केआई सिंह)ले नरलाई फकाउन भन्नुभएको रहेछ– यिनीहरू (राजा) कान्तिवतीका त सन्तान हुन्, तपाईं-हामीजस्ता शुद्ध ठकुरी होइनन्। म पनि बहादुर (ठकुरी), तपाईं पनि बहादुर (ठकुरी)। ल हामी मिलौँ। पन्छाइदिऔँ यिनीहरूलाई।”
राजा रणबहादुर शाहको पालामा जनकपुरबाट एक मैथिली ब्राह्मणी पशुपतिनाथको दर्शन गर्न आएकी थिइन्। उनको रूपमा मोहित भएर रणबहादुरले उनको सन्तानलाई राजकाजको जिम्मा दिने सर्तमा बिहे गरेका थिए। केआई सिंहले नरशमशेरलाई भनेको कुरा त्यही थियो। तर, सिंहको प्रस्ताव सुनेपछि हच्किएका नरशमशेरले भोलिपल्टै दरबार पुगेर राजालाई यो कुरा सुनाइदिए।
“यसै त राजा महेन्द्र, त्यसमा पनि आफ्नो गाथ ताक्ने खबर सुनेपछि उहाँ बेस्सरी रिसाउनुभयो। भोलिपल्टै शाही घोषणामार्फत केआई सिंहको मन्त्रिमण्डल विघटन गरिदिनुभयो,” हेमन्त भन्छन्।
यो घटनापछि दरबारले सिंहको विषयमा एउटा रणनीति बनायो– न उनलाई धेरै नजिक राख्ने, न टाढा।