काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

गाउँबस्तीका तरुनीहरूले घरगाउँकै सामानले देब्रे गालामा खोपाएका चन्द्रमायुक्त टाटु देखेर तन्नेरीहरू लोभिँदा हुन्। त्यसैले नै यस्तो गीत बनेको हुँदो हो‒ ‘यो मायालाई आजै हो देखेको, देब्रे गाला चन्द्रमा लेखेको।’

२ कार्तिक २०८२
टुँडिखेलमा सोनाम ल्होसारको मनाउन आएका परम्परागत वेशमा सजिएका तामाङ समुदायका युवती। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

हरेक वस्तुमा सौन्दर्य हुन्छ। तर, हरेकले त्यसलाई देख्दैन।
–कन्फ्युसियस

कन्फ्युसियसको भनाइलाई आत्मसात् गर्ने हो भने सौन्दर्यचेत आत्मिक विषय हो, एउटाका अगाडि प्रकटित सौन्दर्य अरूका अगाडि अदृश्य रहन पनि सक्छ। त्यस अर्थमा हामीले आफैँभित्रको सौन्दर्य नदेखेको प्रतीत हुन्छ।

मोटामोटी २०४० सालअघिको ग्रामीण बस्तीको सौन्दर्यचेत र ग्रामीण सौन्दर्य मनोविज्ञानलाई नियाल्दा पत्रेदार रोचक तथ्य फेला पर्छन्। त्यसअघिको जीवनलाई धेरै हदसम्म आधुनिकताको छालले भेटेको थिएन। सूचना-सञ्चार प्रविधि, आधुनिक आमसञ्चार प्रणाली, भूमण्डलीकरणको क्रान्तिबाट हाम्रा गाउँघर एकप्रकारले बेखबर नै थिए।

सर्ट वेभ रेडियोको प्रसारणबाहेक कुनै आधुनिक आमसञ्चार प्रणाली गाउँमा पुगेको थिएन। ताजा जानकारीको खडेरी थियो। विदेश घुमेर आएका लाहुरे र सहरबाट गाउँ पसेका एकाध जान्नेसुन्ने व्यक्तिले गरेका वर्णनबाट देश र दुनियाँमा भइरहेका परिवर्तन र विकसित मुलुकका चमत्कारपूर्ण वैभवबारे सुन्न पाइन्थ्यो। सूचनाका बाँकी माध्यम सहज र सौविध्यपूर्ण थिएनन्।

यसबाहेक आधुनिक युगको सौन्दर्य मानकले निर्धारण गरेका अनेकन् परिभाषा र ढाँचाहरूसँग ग्रामीण जनजीवन पूरै बेखबर थियो। सँगै, सन् १९४० ताकाकी अमेरिकी सुन्दरी मर्लिन मुनरो, सन् १९५० दशककी भारतीय अभिनेत्री सुन्दरी मधुबाला, १९६० ताकाका सुपरमोडल ट्विगी तथा १९९० ताकाका सुपरमोडल केट मोसले निर्धारण गरेका सौन्दर्य मानकबारे ग्रामीण जीवनमा कुनै पत्तो थिएन।

बहुसंख्यक महिला अपठित रहेको समाजमा न भर्तृहरिको श्रृंगार शतकको शास्त्रीय सौन्दर्यचेत थियो, न त काँचका पर्दामा देखापर्ने फुकीढल्नुका सुन्दरीहरूको सौन्दर्य-रहस्य नै थाहा थियो। न सौन्दर्यको शास्त्रीय चेत थियो, न आधुनिक सञ्चारमाध्यमबाट विज्ञापित सौन्दर्य प्रसाधनको प्रभाव थियो।

तमाम नखराबाट अप्रभावित ग्रामीण समाजमा आफ्नै किसिमको मौलिक सौन्दर्यचेत थियो, जो बाहिर दुनियाँको रवाफिलो अप्रभावित थियो। त्यस समयको सौन्दर्य कुनै शास्त्रीय मापदण्ड र आधुनिक नखराबाट पूरै विच्छेद थियो।

चुरौटे समुदायले पहाडी सौन्दर्यचेतमा मलजल गर्ने काम गर्‍यो। उनीहरूले डोकामा चुरा, डोरी, धागो, रिबन, गोलो ऐनाजस्ता नारी सौन्दर्य प्रसाधनसम्बन्धी सामग्री बेच्न ल्याउँथे। चुरौटे चेलीले चौतारी, चौबाटो, पँधेरा वा यस्तै ठाउँमा भारी बिसाउँदा गाउँका चेलीबेटीको हुलबाट घेरिन पुग्थे। उनीहरू आफ्ना सामानको विज्ञापन गर्न र महिलाहरूको नाडी हेरी चुरा लगाइदिन बिछट्टै सिपालु हुन्थे। चुरौटे समुदाय तत्कालीन ग्रामीण बस्तीमा सौन्दर्य प्रसाधनको ‘होम डेलिभरी’ को एक मात्र माध्यम थियो, जसले ग्रामीण नारी सौन्दर्यमा बान्की थप्न सघाउँथ्यो।

चुरा डुलाउने चुरेट्नी दिदीबहिनीहरू लोकभाकाका विस्तारक पनि थिए। चुरा लिएर गाउँबेसी डुल्ने क्रममा ठाउँ ठाउँमा बास पर्थ्यो। जहाँ बास पर्थ्यो, त्यहाँ गीतको खाल जम्थ्यो। तनहुँको सम्जुर गाउँ चुरौटे समुदायको प्रख्यात बस्ती हो। त्यहाँका दिदीबहिनी कला र गलाको ख्यातनामा लमजुङ र तनहुँका गाउँबस्तीका पाका-पुरानाबाट अझै सुन्न पाइन्छ।

जनकवि केशरी धर्मराज थापाले आफ्नो खोजमूलक कृति लोकसंस्कृतिको घेरामा लमजुङमा चुरा बेच्ने चुरेट्नी चेलीबारे रमाइलो प्रसंग कोट्याएका छन्। थापाले मादी नदीको किनारमा अवस्थित कर्पुटारमा लाग्ने शिवरात्रि तथा फागुपूर्णिमा मेलामा ठाडो भाकाका जगत्‌प्रसिद्ध गायक देउबहादुर दुराको गीत सुन्न जनसागर उर्लिने चर्चा गरेका छन्। त्यही भिडमा २५ थरी चुरा लिएर ५० थरी भाउ गर्ने चुरेट्नी नानीहरू पसल थाप्थे भनी उनले वर्णन गरेका छन्।

सरदार भीमबहादुर पाण्डेले त्यसबखतको नेपालमा लाहुरे संस्कृतिले नेपाली जनजीवनमा पारेको प्रभावबारे रोचक वर्णन गरेका छन्। लाहुरे, लाहुरेनी तथा तिनका परिवारजनले लगाउने विदेशी कपडा तथा गरगहनाले गाउँघरमा ‘लक्जरी फेसन’ को चेतना हवात्तै जगाइदियो। लाहुरे-लाहुरेनी गाउँघरमा आर्थिक वैभव र पहिरनका दृष्टिले आरिसलाग्दो समुदाय थियो।

लाहुरेहरू जानेर वा नजानेर गाउँघरमा फेसन प्रदर्शन गर्थे। लाहुरे-लाहुरेनीहरू आकर्षक जुत्ता, मलायाको बुट्टेदार लुंगी, मखमली चोली, साटनको पछ्यौरा, बेलायतको स्विटरजस्ता झिलिमिली लुगाफाटामा सजिन्थे। त्यसमा पनि सिंगापुर एयरलाइन्सका एयरहोस्टेसले लगाउने ‘ड्रेस क्रेज’ को त कुरै नगरौँ। त्यसमाथि सुनका महँगा गहनाले उनीहरूको सामाजिक तथा सांस्कृतिक भाउ अकासिन्थ्यो।

लाहुरेहरूले फौजी प्रयोजनका लागि लाउने टाटेपांग्रे पहिरन (क्यामोफ्लज आउटफिट्स) ग्रामीण तन्नेरीहरूका लागि बहुमूल्य फेसन बन्थे। त्यस्तोे पहिरन पाउनका लागि तन्नेरीहरू मरिमेट्ने गर्थे, पासोमै पर्थे। कति युवा त टाटेपांग्रे पहिरनमा सजिएर आफू लाहुरे भएको भ्रमसम्म छर्न पनि पछि पर्दैनथे।

बाल्यावस्था पार गरेर किशोरवयमा प्रवेश गर्दै गरेका छोराछोरीले तिनै लाहुरे-लाहुरेनीले लगाएका जस्ता ‘फेसनेबल’ लुगाफाटा किनिदिन जोरजुलुम गर्थे, जुन माग बहुसंख्यक अभिभावकले पूरा गर्न सक्दैनथे। त्यसपछि त के चाहियो र? घरपरिवारमा अभिभावक र छोराछोरीबीच झगडा मच्चिन्थ्यो। गाउँघरमा लाहुरे समुदाय प्रकारान्तरले झगडाको बीउ बन्न पुग्थ्यो। समग्रमा लाहुरे संस्कृतिले ग्रामीण सौन्दर्यचेतमा भुइँचालो नै ल्याइदियो।

लाहुरे संस्कृतिबाहेक केही घण्टा हिँडेपछि पुगिने नजिकको चलचित्रघरमा प्रदर्शन हुने फिल्ममा देखिने हिरो-हिरोइनको ‘रिल जिन्दगी’ ले पनि ग्रामीणजनको जिन्दगीलाई बाहिरी दुनियाँतिर नखरातर्फ अभिमुखीकरण गर्न सघाएको देखिन्छ। ती अभिनेता-अभिनेत्रीको पहिरन, डायलग, केशविन्यास तथा आभूषणले ग्रामीण तरुण मन पगाल्यो। सम्भवतः ग्रामीणवयहरूको सौन्दर्यचेतलाई बाहिरी संस्कृतिबाट संक्रमित तुल्याउन चलचित्र संस्कृतिले एक हदसम्म योगदान दियो।

चन्द्रागिरिमा हिउँ खेलेर रमाउँदै एक महिला। तस्बिर : बिक्रम राई/नेपालन्युज

एकजोर नयाँ लुगा लगाउन दसैँ पर्खनुपर्ने अवस्था अधिकांश ग्रामीण बस्तीको वास्तविकता थियो। लुगा ज्यादै जतन गर्नुपर्ने वस्तुमा पर्थे। चाडबाडमा लाउने कपडा र अघिपछि लाउने कपडा बेग्लैबेग्लै हुन्थे। चाडबाडमा लाउने कपडामा कपुर राखेर बाकसमा राखिन्थ्यो। यस्ता कपडा चाडबाडमा मात्र प्रेमपूर्वक लगाइन्थ्यो। अघिपछि झुत्रोझाम्रो कपडाले नै आङ ढाक्ने आमचलन थियो। त्यस समयमा सधैँ नयाँ लुगा लगाउन सम्भव थिएन। त्यसबेला वस्त्र अभावको मनोविज्ञानलाई ढाडस दिने एउटा कथन प्रचलित थियो—‘सधैँभरि राम्रो लुगा लगाउँदा सुहाउँदैन।’ त्यसबेला अहिलेको जस्तो हरेक चाडमा नयाँ नयाँ लुगा फेरी फेरी लाउने प्रचलनको कल्पनासम्म गर्न सकिँदैनथ्यो।

जुन कुराको अभाव हुन्छ, त्यसको चर्चा हुनु स्वाभाविक हो। चाडबाड तथा हाटबजारमा कसैले लगाएका नयाँ कपडाले उसको सौन्दर्य कति खुल्यो भन्ने चर्चा चल्थ्यो। सौन्दर्यचर्चाको खास जिम्मा महिलाहरूको भागमा पर्थ्यो। यस किसिमको चर्चा घरपरिवार हुँदै पानी-पँधेरादेखि मेलापर्मसम्म फैलिन्थ्यो। सायद, त्यो चलन फेसनको कुरा गरेर फेसनकै रहन मेट्ने मृगमरीचिका थियो।

सधैँभरि वनपात-मेलापातको व्यस्त कार्यसूचीमा अल्झिएका ग्रामीणजनलाई नुहाइधुवाइमा समय खर्च गर्ने र सोह्र श्रृंगार गर्ने मौका बिरलै मिल्थ्यो। त्यसबेला बास्नादार साबुन कहाँ पाउनु? स्याम्पु त धेरै परको कुरा थियो। बहुसंख्यक नारीले तोरीको पिनाले टाउको नुहाउँथे। फुर्सदका समयमा खासगरी चाडबाडका बेला मात्र पँधेरामा शरीरको सातपत्र मैलो पखालिन्थ्यो।

ग्रामीण नारीहरूले धानको भुसले हातगोडा रगडी-रगडी धुन्थे। कसैले घिरौँलाको झुसमा साबुन लगाएर हातगोडा रगड्थे। धेरैजसो महिलाले पँधेराको ढुंगामा कुर्कुच्चा रगड्थे, जसका कारण पँधेराको छपनी ढुंगा नै खाल्टो परेको हुन्थ्यो। त्यसरी मैलो पखालिएका खुट्टाले बढीमा पायल चप्पल वा भक्कु चप्पलभन्दा उच्चस्तरको ‘फुटवेयर’ पाउँदैनथे। कतिको भाग्यमा त त्यति पनि लेखिएको हुन्नथ्यो।

पहाडी बस्तीमा ‘कस्मेटिक्स’ सर्वथा अपरिचित शब्द थियो। नौनी घिउले नै हातगोडा र मुहारमा मुलायम बनाउने रैथाने क्रिमको अभिभारा बोकेको थियो। आधुनिक क्रिम-पाउडरको प्रसंग त रेडियोमा बज्ने गीत र गन्धर्व समुदाय गाउँघर डुल्दा गाउने गीतमा मात्र सीमित थिए।

गाउँबस्तीका तरुनीहरूले देब्रे गालामा घरेलु सामग्री प्रयोग गरी चन्द्रमा आकार झल्कने टाटु खोपाउँथे। यसका लागि अँगार, बाख्राको दूध आदिको मिश्रण प्रयोग गरिन्थ्यो। टाटु खोपाउने तरुनीहरू आफ्नै सौन्दर्यमा मगनमस्त भएर हाटबजार डुल्थे। चन्द्रमायुक्त टाटु देखेर तन्नेरीहरू लोभिँदा हुन्। गीत नै छ‒ ‘यो मायालाई आजै हो देखेको, देब्रे गाला चन्द्रमा लेखेको।’

ग्रामीण चेलीको केशविन्यासमा अहिलेको जस्तो विविधता थिएन। डोरी तथा रिबन प्रयोग गरी चुल्ठी बाट्नेबाहेक वैकल्पिक शैली उपलब्ध थिएन। यससँगै मौसमअनुसारका फूल शिरमा सजाउँथे। त्यसले दुइटा मुख्य काम गर्थ्यो- सौन्दर्यमा बान्की र शरीरमा सुवास थप्ने। उनीहरूले केबराको बास्नादार फूल, लाँकुरीको लरक्क परेको फूल, गुर्धौली फूल, लालीगुराँस आदि फूल केशमा सजाउँथे।

कुनै पनि अप्राकृतिक सौन्दर्य प्रसाधन प्रयोग नगरी प्रकृतिमै रमाएको तत्कालीन सौन्दर्य साँच्चै अर्गानिक थियो। कस्मेटिक उद्योगको भ्रमपूर्ण विज्ञापनबाट चोखै बसेको ग्रामीण बस्ती आर्थिक स्रोतसाधनका दृष्टिले अभावग्रस्त थियो। अभावका बीचमा छचल्किएको ग्रामीण सौन्दर्यले हरेक सौन्दर्य-उपासकलाई कुमारी अनुभूतिमा डुबाइदिन्थ्यो।

पश्चिमी गोलार्धको व्यापारपरस्त दृष्टिबाट निर्धारित ती सौन्दर्य मापदण्ड हाम्रा लागि कति उपयोगी छन्? त्यो मापदण्ड अझै पनि छलफलको विषय हो। व्यावहारिक दृष्टिबाट हेर्दा यस्ता मापदण्डको उपयोगिता व्यापारिक प्रयोजनभन्दा माथि देखिँदैन। सौन्दर्य प्रतियोगिताको कहिल्यै प्रतिस्पर्धी नबनेको ग्रामीण सौन्दर्य वर्णनातीत छ। अखबारका पानामा नपोखिएका र स्क्रिनमा दृष्टिगोचर नभएका तिनको अर्गानिक र अनुद्घाटित सौन्दर्य अद्वितीय थियो, जसको बखाननामा गर्नै बाँकी छ।