फूलैफूलको पर्व
आम्दानी राम्रो हुने भएकाले पछिल्लो समय देशैभर व्यावसायिक फूल खेतीतर्फ किसान आकर्षित
काठमाडौँ। तिहारको आगमनसँगै किसानका बारीमा सयपत्री ढकमक्कै फुलेका छन्। फूलैफूलको चाड मानिने तिहारका लागि बारीका पाटा तथा कान्लामा फुलेका फूल टिप्न अहिले किसानलाई भ्याइनभ्याइ छ।
आम्दानी राम्रो हुने भएकाले पछिल्लो समय देशैभर व्यावसायिक फूल खेतीतर्फ किसान आकर्षित पनि भएका छन्। यद्यपि फूल उत्पादनमा आत्मनिर्भर बन्न नसक्दा नेपालमा आयातित र प्लास्टिकजन्य फूलको प्रयोग पनि ठुलो मात्रामा भइरहेकै छ।
काठमाडौँको नागार्जुन नगरपालिका नयाँगाउँका किसानहरु भने अघिल्ला वर्षझैं यसपटक फूलले मूल्य नपाएको गुनासो गर्छन्। ‘बारीका पाटाभरी ढकमक्क सयपत्री त फुलेका छन् तर अघिल्लो वर्षको भन्दा अलि कम फुलेका छन्,’ नागार्जुन नगरपालिका नयाँगाउँका ठूलोभाइ गिरी भन्छन्,‘जे भए पनि अहिले फूल टिपेर बजार पुर्याउने गरिरहेको छु।’ केही किसानको फूल बारीबाटै पनि बिक्री भइरहेको उनले जानकारी दिए।

अंग्रेजीमा ‘मेरी गोल्ड’ भनिने सयपत्रीलाई कहीँकहीँ ‘हजारी फूल’ पनि भनिन्छ। पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ। नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ।
सुगन्धित सयपत्री फूलका अनेक विशेषता छन् । तिहारमा पूजा गर्न, घर सजावट गर्न, भाइटीकामा दाजुभाइका लागि माला बनाउन यसको प्रयोग हुन्छ।
हेर्नुहोस् थप तस्बिर :
