काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको कार्यक्रममा रहेको हुँदा वरिष्ठ उपाध्यक्षको हैसियतमा खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए।

उनै खड्काले आइतबार महासचिव राईले संघको साधारणसभा र कार्यसमितिको निर्णयविपरीत कार्य गरेर फुटबल खेलको विकासमा नकारात्मक असर पारेको भन्दै कारबाही गरेको पत्र पठाएका हुन्।

पत्रमा भनिएको छ,‘संघको साधारणसभा र कार्यसमितिको म्यान्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धतिविपरीत फुटबल खेलको विकासमा नै दीर्घकालीन असर पार्ने गरी के कति आधारमा कसको निर्देशनमा कार्य गर्नुभएको हो ? भनि तीन दिनभित्र स्पष्टीकरण सोधिएकामा तपाईंबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकाले आजको मितिदेखि लागु हुने गरी तपाईंलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौँ।’

गत बुधबार मात्रै उनले एन्फालाई बदनाम गराएको भन्दै राईलाई स्पष्टीकरण सोधेका थिए। उनले तीन दिनभित्र स्पष्टीकरण पेस नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएका थिए। सोहीअनुसार खड्काले आइतबार राईलाई निलम्बन गरेको अर्को पत्र पठाएका हुन्।

योसँगै महासचिवको जिम्मेवारी सहायक महासचिव दामोदर भट्टराईले सम्हाल्ने भएका छन्।