काठमाडौँ। रुसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमान्डरमा बढुवा भएका छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत आफू रुसी सेनामा बढुवा भएर सेक्सन कमाण्डर बनेको जानकारी दिएका हुन्।
डाइमण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जनयुद्धमा सहभागी हुँदा देखेका धेरै सपना अधुरै रहँदा परिवार पाल्नकै लागि बाध्य भएर रुस जानु परेको हो।’
जीवन जोखिममा राख्दै रसियन सेनाको जुनियर सर्जेन्ट सेक्सन सह–कमाण्डर बाट बढुवा भएर हाल सर्जेन्ट (सेक्सन कमाण्डर) बनेको उनले बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ।’ आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती भएको बताएका छन्।
शान्ति प्रक्रियापछि वि.सं २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए। जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए । उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन्।
उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका हुन्। ‘सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ,’ उनले भनेका छन्।