काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अर्थतन्त्र

भाइमसला, झिलिमिली बत्ती र फूलको अत्यधिक कारोबार

४ कार्तिक २०८२
धरानको मुख्य बजार भानुचोकस्थित घण्टाघरको सडकपेटीमा बिक्रीका लागि राखिएका भाइमसला। तस्बिर : संगीता राई/रासस
अ+
अ-

तिहार अर्थात् उज्यालो, फूल र रङहरूको रौनक। तिहारलाई धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने पर्वका रूपमा समेत लिइन्छ। तर, तिहारको परिचय यतिमा सीमित छैन। नेपालमा तिहार अर्थतन्त्र चलायमान बनाउने दोस्रो ठूलो पर्व पनि हो।

अरू त अरू तिहारमा साढे दुई अर्बको त ड्राइफ्रुट्स (भाइमसला)कै कारोबार हुन्छ। तिहारमा अर्थतन्त्र चलायमान बनाउन ड्राइफ्रुट्सको महत्त्वपूर्ण भूमिका देखिएको छ। भाइमसलाका रूपमा परिचित ड्राइफ्रुट्स तिहारमा बढी खपत हुन्छ। यस वर्ष साउन र भदौमा मात्रै दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको ड्राइफ्रुट्सको आयात भएको भन्सार विभागको तथ्यांक छ।

तिहारमा बढी माग हुने ड्राइफ्रुट्समध्ये ओखर, बदाम, काजु, आलमन्ड, पेस्ता, किसमिस आदि पर्छन्। त्यसबाहेक अन्जिर, कटुस, सुपारी, खुर्पानीजस्ता ड्राइफ्रुट्स पनि तिहारमा अत्यधिक खपत हुनेमा पर्छन्। चालु आर्थिक वर्षको दुई महिनामा नरिवल मात्रै २६ करोड ७३ लाख रुपैयाँ बराबरको आयात भएको छ। साउन र भदौमा ओखर २४ करोड ६४ लाख रुपैयाँको आयात भएको छ। पेस्ता चार करोड ६ लाख रुपैयाँको आयात भएको छ।

नेपाली समाजमा किसमिस भनेर परिचित सुकेको अंगुर मात्रै साउन र भदौमा ३७ करोड ६६ लाख रुपैयाँ बराबरको आयात भएको छ। तिहारमा किसमिस धेरै माग हुनेमध्येमा पर्छ। यसबाहेक दुई महिनामा अन्य मिश्रित ड्राइफ्रुट्स भने १७ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा अस्ट्रेलिया, चीन, भारत, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया, भियतनाम, बहराइन, बेनन, ब्रुनाई, इजिप्ट, इजरायल, कोरिया, मोजाम्बिक, नाइजेरिया, सिंगापुर, दक्षिण अफ्रिका, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिकालगायत देशबाट ड्राइफ्रुट्स आयात हुने गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नरिवल मात्रै ८६ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भएको छ। त्यसैगरी, काजु ५३ करोड २२ लाख, ओखर एक अर्ब चार करोड र किसमिस ४१ करोड ३८ लाख रुपैयाँको आयात भएको छ।

गत आर्थिक वर्षमा सुपारी मात्रै एक अर्ब चार करोड रुपैयाँ बराबरको आयात भएको छ। विशेषगरी, नेपालमा भारत, इन्डोनेसिया र कतारबाट सुपारी आयात हुन्छ। नेपालमा आयात भएका सुपारी फेरि विदेश नै निर्यात हुने गरेको छ।

त्यसो त तिहारमा धेरै कारोबार हुनेमा फलफूल र मिठाई पनि पर्छन्। तिहारकै लागि भनेर फलफूल आयात नभए पनि वर्षभरि खपत हुने फलफूलमध्ये दसैँ र तिहारमा बढी बिक्री हुन्छ। त्यसबाहेक तिहारमै मिठाई भण्डारहरू पनि उत्तिकै गुल्जार देखिन्छन्। यही पर्वमा सुन-चाँदीको कारोबार पनि बढ्छ। नेपाल राष्ट्र बैंकले तिहारलाई नै लक्षित गरेर विगतमा सुनको असर्फी बिक्री गर्दै आएको थियो। यस वर्ष भने सुनको असर्फी नछापिएको भन्दै बिक्री गरेन। राष्ट्र बैंकको टक्सार महाशाखाले यसपालि चाँदीको सिक्का बिक्री गरेको छ। १०/१० ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिएको हो। आइतबारसम्म ४१० किलो चाँदीबराबरको सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ।

६५ करोडको झिलिमिली बत्ती

तिहारमा सबैभन्दा बढी कारोबार हुनेमध्ये झिलिमिली बत्ती पनि हो। तिहारमा झिलिमिली बत्ती जोड्ने चलन पुरानो हो। विशेषगरी, लक्ष्मीपूजाको दिन विद्युत्‌को खपत उच्च हुने गरेको छ। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष एक हजार ६०२ मेगावाट विद्युत् खपत भएको रेकर्ड थियो। लक्ष्मीपूजाको दिन बढी विद्युत् खपत हुनुको मुख्य कारण झिलिमिली बत्तीको प्रयोग नै हो। लक्ष्मीपूजाको दिन थपिएका बत्तीसमेत बालेर उज्यालो बढाइन्छ।

यस वर्ष करिब ६५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको नेपाल विद्युत् व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटा बताउँछन्। देवकोटाका अनुसार यसरी आयात भएकामध्ये ९० प्रतिशतभन्दा बढी बत्ती चीनबाट आयात गरिएको छ।

४५ करोडको फूल

तिहारमा फूलमाला घर, कार्यालय सजाउनदेखि भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको गलामा लगाएर उत्सवमय बनाइन्छ। तिहारलाई नै लक्षित गरेर पुष्प व्यवसाय गर्ने किसानहरूको संख्या पनि हरेक वर्ष बढ्दो छ। तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको बढी माग हुने गरेको छ। यस वर्षको तिहारमा ४० करोड रुपैयाँभन्दा बढी मूल्यको फूलको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए। उनले भने, “फूलको कारोबार हरेक वर्ष बढिरहेको छ। तिहारमा खपत हुनेमध्ये ९० प्रतिशत फूल स्वदेशी उत्पादनले पुग्छ। बाँकी १० प्रतिशत भने अवैध रूपमा भारतबाट भित्रिने गरेको छ।” श्रेष्ठका अनुसार फ्लोरिकल्चर एसोसिएसनमा ६०० व्यवसायी आबद्ध छन्। त्यसबाहेक पुष्प व्यवसायमा नै करिब १२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्।

काठमाडौँको बानेश्वरमा तिहारका लागि सयपत्री फूलमाला किनिरहेका नागरिक। तस्बिर : गोपाल दाहाल/रासस

यस वर्ष तिहार चाँडै भएको कारण फूल राम्ररी फुलिनसक्दा बजारमा भनेजति उपलब्ध नभएको हुनसक्ने उनले बताए। “तिहार चाँडै छ। एउटा बोटमा फुल्नुपर्नेजति फूल फुलिसकेका छैनन्। यसले गर्दा बजारमा पर्याप्त फूल आउन सकेको छैन। किसानले पनि प्रशस्त मात्रामा बिक्री गर्न पाएका छैनन्। यस्तो बेला बिचौलियाले चर्को मूल्य लिएको हुन सक्छ। उपभोक्ता सचेत हुन आवश्यक छ,” श्रेष्ठले भने।

नेपालमा उत्पादन भएको फूल विदेशसमेत जान थालेको छ। विदेशमा नेपालीको बढ्दो उपस्थितिसँगै मखमली फूलको माला निर्यात हुन थालेको हो। अस्ट्रेलिया, बेलायत र अमेरिकालगायत देशमा मखमली फूलको माला निर्यात हुन थालेको छ। चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै करिब चार अर्ब रुपैयाँका विभिन्न प्रकारका फूल निर्यात भएको भन्सार विभागको तथ्यांक छ।