अनुभूति
जुनार र सुन्तलाको बास्ना, मादलको ताल, हाडे ओखर फुटाउँदाको रमाइलो, सातभाइ बुवाहरूको टीका र जुवाको खालमा हुने रमाइलोले मनमा अमिट छाप छोडेका छन्।
अन्तिमपटक सिन्धुलीमाढीमा सातै भाइ जम्मा भएको तिहारको सम्झना अझै ताजा छ। अब बुवा हुनुहुन्न, उहाँको अभावले तिहारको रौनक हाम्रा लागि घटेको छ। अब त्यस्तो तिहार कहिल्यै आउने छैन।
सिन्धुलीको बितिजोर भदौरे। जहाँ बारीमा जुनार र सुन्तलाका रूखहरू लटरम्म फल्छन्। मेरो बाल्यकालको तिहारको सम्झना त्यही माटोसँग जोडिएको छ। कात्तिकको चिसो हावाले गाउँको आँगनलाई छुँदा, बारीमा लटरम्म फलेका जुनार-सुन्तलाले गाउँ पहेँलपुर हुँदा तिहारको रौनकले गाउँलाई उज्यालो बनाउँथ्यो।
गाउँमा पढ्ने सुविधा नभएकाले मैले सिन्धुलीको भिमानस्थित मावल घरमा बसेर पढेँ। स्कुल दसैँदेखि तिहारसम्मै बिदा हुन्थ्यो। दसैँको रमझमसँगै तिहारसमेत गाउँमै मनाउने उत्साह बोकेर म गाउँ फर्किन्थेँ। गाउँमा मेरो आगमन पाहुनाको भन्दा कम हुन्थेन। साथी-सँगातीहरू भेट्न आउँथे। गाउँभरि मेरो चर्चा चल्थ्यो। घरको जेठो छोरा, बाहिर बसेर पढेको। छुट्टै खातिरदारी हुने नै भयो।
तयारी रमझम
दसैँ नसकिँदै गाउँमा तिहारको रौनक सुरु हुन्थ्यो। आमा तिहारको तयारीमा जुट्नुहुन्थ्यो। बारीमा मालभोग केराको घरी साँचेर राखिएको हुन्थ्यो, जुन तिहारको टीकाको दिन चेलीबेटीले दाजुभाइलाई दिन्थे। बारीमा सयपत्री, मखमली र गोदावरीका फूल फुलेका हुन्थे।
तिहार आउनुभन्दा अघिदेखि नै वारिपारिका गाउँहरूमा मादल घन्किन सुरु हुन्थ्यो। देउसी-भैलोको क्रम ठूली एकादशीसम्म चल्थ्यो।
दिदीबहिनीले हाटबजारबाट भाइमसला ल्याउँथे- हाडे बदाम, काजु, किसमिस, नरिवल, अन्जिरलगायत। यी ड्राइफ्रुट्स तिहारमा मात्र देखिन्थे त्यतिखेर। चेलीबेटीले टीका लगाएर दिएको भाग लिएपछि मात्र खान पाइन्थ्यो। अहिले त यस्ता सुकेका फल घरमा सधैँ हुन्छन्, त्यसैले यी फल खासै विशेष हुँदैनन्। त्यो बेला तिहारको विशेष मिठास यिनैमा हुन्थ्यो।

तस्बिर सौजन्य : डन्ड गुरुङ
बितिजोरको विशेषता थियो- बारीभरि फलफूल लटरम्म। हामीलाई चाडबाडका लागि फलफूल लिन बजार धाउनुपर्दैनथ्यो। बारीमा जुनार र सुन्तलाका रूखहरू लटरम्म फल्थे। बिहानै बारीमा गएर रूखबाट आफ्नै हातले टिपेका सुन्तला चाख्दा त्यसको स्वादले मन साँच्चै रमाउँथ्यो। यी फलफूलले तिहारलाई मिठासले भरिदिन्थे। यी फलफूल यो गाउँको माटो, मिहिनेत र आत्मनिर्भरताका प्रतीक थिए।
चाहे देउसी-भैलोमा बाँड्ने होस्, चाहे टीकाको थाल सजाउने वा छिमेकीलाई उपहार दिने, जुनार र सुन्तलाले गाउँको तिहारलाई प्रकृतिसँग जोड्थे।
ओखर फुटाउने प्रतिस्पर्धा
हाडे ओखर फुटाउने रमाइलो त तिहारको छुट्टै आकर्षण थियो। सिलौटोमा ओखर राखेर लोहोराले ठोकेर फुटाउँदा, सियोले गुदी झिक्ने क्रममा हामी निकै रमाउँथ्यौँ। ओखर फुटाउने एक प्रकारको प्रतिस्पर्धा नै चल्थ्यो। कहिलेकाहीँ ओखर फुटाउँदा लोहोराले हात किच्याउँथ्यो, त्यो पीडा पनि रमाइलो लाग्थ्यो।
बल्लतल्ल जम्मा भएको ओखरको गुदी चेलीबेटीले टीकाको दिन दाजुभाइलाई खुवाउँथे। यो प्रक्रिया केवल खानेकुराको तयारी थिएन, यो त गाउँको मायालु माहोलको हिस्सा थियो। अहिले दाँते ओखर दाँत र हातले फुटाएर खान सकिने भएको छ।
आमाले सेलरोटी, अनरसालगायत मिठाइका परिकार तयार गर्नुहुन्थ्यो। यहाँ अरू मिठाई थिएनन्। बिस्तारै खजुरी, पत्रेजस्ता मिठाई पनि घरमै बन्न थाले। तिहारका बेला सेलरोटीले नै छाक टारिन्थ्यो। आँगन लिपेर घर चिटिक्क पारिन्थ्यो।
बितिजोरको त्यतिखेरको तिहार मेरा लागि केवल पर्व थिएन, यो मेरो बाल्यकाल, परिवार र गाउँको पहिचानको हिस्सा थियो।
बारीमा तिहारकै लागि सयपत्री, गोदावरी र मखमलीका फूल फुलाइएको हुन्थ्यो। ती फूल टिपेर माला बनाइन्थ्यो। ती मालाले घरको ढोका, कोठा सजिन्थे। ती फूल काग, कुकुर, गाई र गोरुको पूजा गरेर माला लगाउन प्रयोग हुन्थे।
भाइटीकाका दिन दिदीभाइका गलामा सजिनु त छँदै छ। लक्ष्मीपूजाको साँझ गाउँको हरेक घरमा माटाको दियो बालिन्थ्यो। बिजुलीको अभावमा टुकी र दियोको मधुरो उज्यालोले आँगन र कोठाहरू जगमगाउँथे। तिहारको यो उज्यालो केवल दियोको होइन, यो त गाउँको मायाको उज्यालो थियो।
देउसी-भैलो
तिहार आउनुअघि नै वारिपारिका गाउँहरूमा मादल घन्किन सुरु हुन्थ्यो। देउसी-भैलोको क्रम ठूली एकादशीसम्म चल्थ्यो। मादल र मुरलीको धुनमा गाइने ‘देउसी रे, भैलो रे’ को भाकाले गाउँका गल्लीहरू गुन्जिन्थे।
हामी बच्चाहरू टोली बनाएर गाउँ डुल्थ्यौँ। कसैले पैसा दिन्थे, कसैले सेलरोटी। देउसी-भैलोको टोलीमा हामीले गाउने भाकाहरू सधैँ परम्परागत हुन्थे। ‘रातो माटो, देउसी रे, चिप्लो बाटो देउसी रे’ भन्दै मादलको तालमा नाच्दा रातको चिसो पनि बिर्सिन्थ्यो। बूढापाकाहरूसमेत मादलको तालमा रमाइरहेका हुन्थे।
सात भाइ जम्मा
हाम्रो घरमा तिहार विशेष हुन्थ्यो, किनभने मेरा सातभाइ बुवाहरू एक्ली दिदी (हाम्री फुपू)को हातको टीका लगाउन हाम्रै घरमा जम्मा हुनुहुन्थ्यो। सातभाइ बुवाहरूको जमघटले यो पर्वलाई अविस्मरणीय बनाउँथ्यो।
जेठा दाजुको घरमा टीका लगाउन दिदी आउनुहुन्थ्यो। सातभाइ बुवामध्ये कोही सिन्धुलीको थाक्ले, कोही तिनपाटन, कोही मोरङको झोराहाटमा हुनुहुन्थ्यो। जब सातै भाइ एकै ठाउँमा भेला हुनुहुन्थ्यो, घरमा तिहारको रौनक दोब्बर हुन्थ्यो।

लेखकको परिवार
अन्तिमपटक सिन्धुलीमाढीमा सातैभाइ जम्मा भएको तिहारको सम्झना अझै ताजा छ। अब बुवा हुनुहुन्न, तिहारको रौनक पनि घटेको छ। त्यस्तो तिहार अब कहिल्यै आउनेछैन।
दाउ हान्ने र च्याँखे थाप्नेको रौनक भाइटीकापछि हाम्रो घरमा जुवाको खालमा आउँथ्यो। बुवा दिदीसँग भन्नुहुन्थ्यो, ‘आज चेलीबेटीसँग सापटी मागेर खेल्नुपर्छ, अनि जितिन्छ!’ हुन पनि बुवा छक्का दाउ लिएर खेल्दा प्रायः जित्नुहुन्थ्यो।
गाउँभरिका छिमेकी जुवाको खालमा जम्मा हुन्थे। ठूलो रकमको हानथापले माहोल रमाइलो बनाउँथ्यो। हामी बच्चाहरू च्याँखे थाप्न र रमिता हेर्न मस्त हुन्थ्यौँ। जित्नेहरूले जितौरी भनेर केही रकम हामी केटाकेटीलाई बाँड्थे। हार्नेहरू निराश भएर घर फर्कन्थे।
बितिजोरको त्यतिखेरको तिहार मेरा लागि केवल पर्व थिएन, यो मेरो बाल्यकाल, परिवार र गाउँको पहिचानको हिस्सा थियो। जुनार र सुन्तलाको बास्ना, मादलको ताल, हाडे ओखर फुटाउँदाको रमाइलो, सातभाइ बुवाहरूको टीका र जुवाको खालमा हुने रमाइलोले मेरो मनमा अमिट छाप छोडेका छन्। आज सहरको झिलिमिलीमा बसेर ती दिन सम्झिँदा रोमाञ्चित हुन्छु।
– घिमिरे अधिवक्ता हुन्।