संस्कृति
राष्ट्रिय पहिचान रहेको संवत्प्रति अपनत्व लिन ढिलाइ किन?
राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्हरूभन्दा अलि फरक छ। प्रचलित संवत्हरूमध्ये कुनै राजाको नाममा छ भने कुनै धर्मगुरु वा अन्य व्यक्तिविशेष नाममा। कुनै चाहिँ वंश वा घटनाविशेषसँग सम्बन्धित छन्। नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो, जुन देशको नाममा छ।
ऐतिहासिक सामग्रीहरू पर्गेल्दा नेपालमा अनेकौँ संवत् चलेको पाइन्छ। कतिपय संवत् आयातित हो भने कतिपयको उद्गम नेपालभित्रै रहेको पाइन्छ। ऐतिहासिक सामग्रीहरूमा कुनैमा नामसहित संवत्को उल्लेख हुन्छ भने कुनैमा नाम नदिई संवत् मात्रै भनिएको पाइन्छ र गणना तथा अन्य तथ्यको आधारमा त्यसको पहिचान गरिएको पाइन्छ। चिन्न सजिलोका लागि कतिपय संवत्लाई अहिले ऐतिहासिकहरूले फलानो राजाबाट सुरु भएको भनेर उल्लेख गर्ने गर्छन्। उदाहरणका लागि, लिच्छवि राजा अंशुवर्माको समयमा एउटा नयाँ संवत्को उत्थान भएको पाइन्छ।
नेपालबाटै उत्थान भएका संवत्हरूमा नेपाल संवत् पहिलो होइन। त्यसअघि अन्य संवत्हरूको उदय हुने, केही समय प्रचलनमा रहने तर बीचमा सोही संवत्को उत्थानको दिनबाट पुनः सुरु हुने गरी अर्कै संवत्को थालनी हुने गरेको पाइन्छ। त्यसमध्ये एक नेपाल संवत् हो। प्राप्त ऐतिहासिक सामग्रीहरूमा थालनीका नेपाल संवत्हरूमा पनि संवत् मात्रै प्रयोग गरेको पाइन्छ भने पछि नामै किटेर नेपाल संवत् उल्लेख गरेको पाइयो। अझ ‘शंखधरकृत नेपाल संवत्’ भनेर उल्लेख भई धेरै कुरा प्रस्ट पारिदिएको पनि छ।
नेपाल संवत्को थालनी शंखधर नामका एक व्यक्तिबाट भएको कुरा ऐतिहासिक रूपमा पुष्टि भएको छ। तर के कति कारणले उत्थान भयो भन्ने सम्बन्धमा भने एउटै मत छैन। नेपाल संवत् प्रचलनका सम्बन्धमा काठमाडौँ उपत्यकामा ज्यादै प्रचलित कथा यस्तो छ:
त्यस बेला काठमाडौँ र भक्तपुर दुई बेग्लाबेग्लै राज्य थियो। भक्तपुरका एक ज्योतिषीले काठमाडौँको विष्णुमती नदीमा मिसिन आउने खोला (लखुतीर्थ)बाट रातको निश्चित समयमा बालुवा ल्याउन सके सुनमा परिणत हुने मुहूर्त देखे। भक्तपुरका राजाले ज्यामी लगाएर बालुवा लिन पठाए। तर राति भक्तपुरदेखि बालुवा लिन आएको घटनापछाडि कुनै रहस्य हुनुपर्छ भनी काठमाडौँका व्यापारी शंखधरले केही पैसा दिए उक्त बालुवा आफूकहाँ ल्याए, र भक्तपुरका लागि पुनः लिन पठाए। मुहूर्त मिलाएर उनको घरमा लगिएको बालुवा भोलिपल्ट सुन बन्यो, तर भक्तपुरमा लगिएको बालुवा यत्तिकै रह्यो।
अचानक प्राप्त भएको सुनबाट शंखधरले जनताको ऋण तिरेर ऋणभारबाट मुक्त गरेको र काठमाडौँका तत्कालीन राजा गुणकामदेवबाट स्वीकृत लिई नेपाल संवत् प्रचलनमा ल्याएको भनिन्छ।
नेपालको पहिलो भनिएको गोपाल राजवंशावलीमा नेपाल संवत् सुरु भएको उल्लेख भए पनि यो कथाको उल्लेख छैन। पछिल्ला वंशावलीहरूमा मात्रै पाइने यो कथा तिलस्मी एवम् अपत्यारिलो छ र ऐतिहासिक तथ्यसँग पनि मिल्दैन। त्यस बेला भक्तपुर र काठमाडौं गरी दुई छुट्टाछुट्टै राज्य थिएन। लिच्छवि राजवंशको प्रभाव क्षीण हुँदै गएको र सशक्त केन्द्रीय शासकको अभावमा उल्लेखनीय घटना हुन नसक्दा अभिलेखलगायत ऐतिहासिक सामग्रीहरू पाइएन। यही भएर कतिपय ऐतिहासिकहरूले यस समयलाई ‘अँध्यारो युग’ पनि भन्ने गरेको पाइन्छ। नेपालको इतिहास अध्ययन गर्दा नेपाल संवत्को थालनीदेखि प्राचीनकालको अन्त्य र मध्यकालको सुरुआत मान्ने गरेको बेग्लै कुरा हो।
बालुवा सुन भएको कथा समाजमा व्यापक प्रचलित भएपनि त्यसलाई ‘रमाइलो कथा’का रूपमा मात्रै लिँदा पनि प्रश्न त बाँकी नै रहन्छ– नेपाल संवत् किन र कसरी प्रचलनमा ल्याइएको थियो?
यस सम्बन्धमा अनेकौँ तर्कवितर्क भएको पाइन्छ। तिब्बतको गहन अध्ययन गरेका फ्रान्सेली विद्वान् सिल्भाँ लेभीका अनुसार, कुनै बेला नेपाल तिब्बतको अधीनमा थियो र तिब्बतबाट स्वतन्त्र भएको खुशीयालीमा नेपाल संवत् मनाइएको हो।
तर तथ्य के हो भने, नेपाल तिब्बतको अधीनमा रहेको कुरालाई समर्थन गर्ने ऐतिहासिक तथ्य कतै पनि भेटिँदैन। अधीनमै नरहेपछि स्वतन्त्रताको कुरै आउँदैन। कुनै बेला तिब्बतको अधीनमा नेपाल थियो भनिनुमा एउटा घटनाक्रमलाई आधार बनाइएको अनुमान भने गर्न सकिन्छ। त्यो के भने, राजा अंशुवर्मा (राज्यकाल इ.सं. ६०५–६२१) का उत्तराधिकारी उदयदेव केही समय मात्रै राजगद्दीमा बसेर सपरिवार तिब्बतमा शरण लिन गएका थिए। तिब्बतका राजा श्रङ्चङ् गम्पो (इ.सं. ६०५–६४९) ले विवाह गरेका नेपाली राजकुमारी भनिएकी भृकुटी यिनै राजाकी छोरी हुन्। वैवाहिक सम्बन्ध भइसकेपछि तिब्बती सेनाको मद्दतले राजकुमार नरेन्द्रदेव (इ.सं. ६४३–६७९)ले नेपालमा पुस्तौनी राजगद्दी प्राप्त गरेपनि तिब्बतको प्रभावबाट मुक्त हुन नसक्दा कुनै बेला नेपाल तिब्बतको अधीनमा रहेको भन्ने भाष्य बनेको हो कि भन्ने अनुमान हुन्छ। र, कालान्तरमा तिब्बतको प्रभावबाट मुक्त भएको सन्दर्भमा नेपाल संवत्को थालनी गरिएको अनुमान पनि गर्न सकिन्छ। जेजस्तो भए पनि यस सम्बन्धमा किटान गर्न ऐतिहासिक तथ्यको अभाव भएकाले आफूअनुकूल अनुमान गर्न सुविधा छ।
नेपालको आर्थिक वर्षको अन्त्य आजकाल असारमासमा हुने गरे पनि काठमाडौँको नेवार समाजमा वर्षान्त लक्ष्मीपूजाको दिन र नयाँ वर्षको सुरुआत यसको भोलिपल्टदेखि सुरु हुने नेपाल संवत्अनुसार हुने चलन छ। राज्यले यस परम्परागत आर्थिक वर्षलाई मान्यता नदिएको भए पनि आफ्नो आन्तरिक लेखा परम्परागतरूपमा नै राख्ने नेवार व्यापारीहरू अझै पनि छन्।
कतिपयलाई लाग्दो रहेछ, राजा पृथ्वीनारायण शाहले नेपाल संवत्को प्रचलन विस्थापन गरी विक्रम संवत् थालनी गरेका थिए। तर वास्तविकता के हो भने, यी राजाले विक्रम संवत् नभई काठमाडौँ उपत्यका तथा गोरखामा व्यापक प्रचलनमा रहेको शाके संवत् प्रचलनमा ल्याएका हुन्।
नेपालमा खासै प्रचलनमा नरहेको विक्रम संवत् राणा प्रधानमन्त्री चन्द्रशमशेरले लागू गरेका हुन्। राज्यस्तरबाट नेपाल संवत् उपेक्षित हुँदै गए पनि नेवार समुदायले यसलाई थामेर मात्रै राखेनन्, लामो समयसम्म यसलाई निरन्तरता दिँदै प्रचारप्रसार गरे, र यसलाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्दै आन्दोलितसमेत भए। अन्ततः राष्ट्रिय संवत्का रूपमा गणतान्त्रिक नेपालमा यसले मान्यता पायो। बीचमा केही समय अवरुद्ध भए पनि नेपालको इतिहासमा लामो समयसम्म व्यापक रूपमा प्रचलनमा रहेको नेपाल संवत् नै हो।
एक समय थियो, नेपाल संवत्लाई नेवार समुदायको रूपमा मात्रै बुझ्ने गरिन्थ्यो। यसबारे चर्चा गर्दा साम्प्रदायिक विचार फैलाउन खोजे आक्षेप लगाइन्थ्यो र नेपाल संवत्को ठाउँमा ‘नेवार संवत्’ भनिदिने गरिन्थ्यो। यसैको प्रभाव तथा अन्य समुदायमा प्रचलन हुन ढिलाइ भएकाले अझै पनि नेपाल संवत्को नयाँ वर्षको शुभकामना दिँदा ‘न्हूदँया भिन्तुना’ भनिरहेका हुन्छन् र गैरनेवारलाई शुभकामना दिन खासै आवश्यक ठान्दैनन्। यसको अर्थ हो, राष्ट्रिय पहिचानको सवालमा जागरुकता अझै आएको छैन।