संगीत
म्युजिक नेपालले युट्युबमा यो गीतका गायकगायिकामा राखेको थियो उदितनारायण, दीपा झा र आनन्द कार्कीको नाम
हाँसेर बोल बहिनी तिहारको बेलैमा
रिस गर्नु हुन्न नि लै लै हाँस र खेलैमा
तिमी हाँसे फूल हाँस्छ,
तिमी रोए आँसु बरर
हरेक तिहारमा देउसीभैलोदेखि रेडियो, टेलिभिजनसम्म गुन्जिने चर्चितमध्येको गीत हो यो। तर करिब दुई दशकअगाडि माइती फिल्ममा समावेश यो गीतका गायक को हुन्? धेरैलाई थाहा नहुन सक्छ।
गीत चर्चित हुँदा पनि छायामा परेका गायक हुन्, नागेन्द्र श्रेष्ठ। कुनै समयका चर्चित र व्यस्त गायक नागेन्द्रले यो तिहारगीत गाउनु र उनको नाम ओझेलमा पर्नुको बेग्लै कथा छ।
२० वर्षको उमेरमै नागेन्द्रका गीत रेडियो नेपालमा बज्थे। एल्बम र फिल्मका लागि गीतहरू रेकर्ड भइसकेका थिए। गायकका रूपमा उनको परिचय बनिसकेको थियो तर गीत गाएर नाम थियो, दाम थिएन।
सन् १९८९ तिर उनी हङकङ पुगेका थिए। त्यस बेला सांगीतिक कार्यक्रम गर्ने अवसर मिल्यो। उनको गायन सबैले मन पराएपछि अन्य कार्यक्रममा पनि निम्ता आयो। एकपछि अर्को कार्यक्रम गर्दै व्यस्त बने। उतै भारतीय रेस्टुराँमा गाउने जागिर पाए।
नागेन्द्र बेला बेला नेपाल आएर गीत रेकर्ड गर्थे। एकदिन संगीतकार लक्ष्मण शेषले भने, ‘एउटा फिल्मको लागि तिहारको गीत छ, तपाईंले गाउनुपर्यो’। नागेन्द्रलाई अर्को फिल्म चोटको गीत पनि रेकर्ड गर्नुपर्ने थियो। हङकङबाट उनी काठमाडौँ आइपुगे। दयाराम दाहालको शब्द र लक्ष्मण शेषको संगीतमा नागेन्द्रले गाए, हाँसेर बोल बहिनी तिहारको बेलैमा…।
श्रीकृष्ण श्रेष्ठ, निरुता सिंह, जल शाहलगायतले अभिनय गरेको माइती फिल्ममा समावेश यो गीत खुब हिट भयो। उनी हङकङ फर्किए। आफ्नै काममा व्यस्त रहे। त्यसपछिका प्रत्येकजसो तिहारमा यो गीत बज्न थाल्यो। हङकङमा पनि धेरैले तिहारका बेला यो गीत गाएको नागेन्द्र स्वयंले सुने। आफ्नो गीत गुन्जिएको सुन्दा उनलाई आनन्द त लाग्थ्यो तर गायक कसैले चिन्दैनथ्यो। “यसको गायक मै हुँ भन्न पनि मिलेन, मनमनै मख्ख पर्यो हिँड्यो,” उनी सुनाउँछन्।
हुन त उनले यो गीत गाएको भने पनि कसैले सहजै पत्याइहाल्ने अवस्था थिएन। किनभने, म्युजिक नेपालले त्यति बेला युट्युबमा यो गीतका गायक उदितनारायण झा, दीपा झा र आनन्द कार्की भनेर राखेको रहेछ। आफूले गाएको गीतमा अर्कैको नाम रहेको नागेन्द्रले डेढ वर्षअघि मात्र थाहा पाए। जबकि, म्युजिक नेपालले ६ वर्षअघि नै यो गीत युट्युबमा राखेको थियो।
उनले थाहा पाउनासाथ म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई सम्पर्क गरेर गल्ती भएको जानकारी गराएका रहेछन्। भन्छन्, “उहाँहरूले क्षमा मागेर सच्याइदिनुभयो। अहिले चाहिँ मेरै नाम राखिएको छ।”

नागेन्द्र श्रेष्ठ
नाम सच्चिएपछि भने उनलाई धेरैले ‘यो चर्चित गीत त तपाईंले पो गाउनुभएको रहेछ’ भनेर सोधिखोजी गर्न थालेको उनी बताउँछन्। नागेन्द्रको सांगीतिक यात्रा करिब चार दशक पुग्यो। २०४१ सालतिर टाढाको बस्ती नामको टेलिफिल्मका लागि उनले टाढा धेरै टाढा मायालु बोलको गीत गाएका थिए। त्यसपछि कञ्चन पुडासैनीको शब्द र शम्भुजित बाँस्कोटाको संगीतमा चाँदनीमा बग्छ खोलो बोलको गीत रेकर्ड गराए। गीत स्रोताले मन पराएपछि फिल्ममा पनि गाउने मौका पाए।
उनले नेपाली फिल्म भरिया, गुन्युचोली, पाकेटमारलगायतमा गाएका छन्। फिल्मसँगै केही विज्ञापनमा पनि स्वर दिएका छन्। हङकङ पुगेर पनि उनी संगीत क्षेत्रमै काम गरिरहेका छन्।
हङकङमा गायनभन्दा वाद्यवाधन र संगीतको काममा रमाउन थालेका छन् उनी। भारतका प्रसिद्ध कलाकारहरू कैलाश खेर, इलैया राजा, पंकज उधास, प्रिती सेठ, जितु शंकरलगायत धेरैका कार्यक्रममा वाद्यवाधन गरेका छन्।
नागेन्द्रले रामकृष्ण वान्तवाको शब्द र आफ्नै संगीतमा ‘आवाज’ एल्बम पनि निकालेका छन्। उनको संगीतमा दीप श्रेष्ठ, सत्यराज आचार्य, स्वरूपराज आचार्य, अन्जु पन्त, यम बरालसहित नयाँपुस्ताका रचना रिमाल, प्रताप दास, किरण भुजेल, सुनिता कार्कीलगायतले पनि गाएका छन्। अञ्जु पन्त र रचना रिमालले त उनको संगीतमा हिन्दी गीत पनि गाएका छन्।
नागेन्द्रले आमाबाट नेपाल भाषाका गीत सिकेका थिए। उनकी श्रीमती रचना प्रधान पनि गीत लेख्छिन्। छोरा साउन्ड इन्जिनियर छन्। “परदेशमा जति सेवा सुविधा भए पनि आफ्नो देशमा नहुँदा कता कता मन दुखिरहन्छ। भविष्यमा नेपाल फर्किएर संगीत क्षेत्रमै जीवन बिताउने विचार छ,” उनी भन्छन्।