काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

महिला फुटबल

बाङ्लादेशले एक दशकमा एक अर्ब रुपैयाँ खर्च गर्दा नेपाली महिला फुटबलरलाई तलबै पाउन सकस

९ भाद्र २०८२
दशरथ रंगशालामा आयोजित ‘साफ महिला च्याम्पियनसिप २०२४’ को उपाधि जितेपछि बाङ्लादेशी टोली। तस्बिरहरू : इलिट जोशी
अ+
अ-

काठमाडौं। सन् २०१५ को साफ महिला च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपाल र बाङ्लादेशबीच प्रतिस्पर्धा हुँदा त्यो खेल, भिड्न्तजस्तै देखिएन। खेल अवधिभर नेपाल एकतर्फी हाबी भयो।

आफ्नो शरीरभन्दा ठूलो जर्सी लगाएका बंगाली खेलाडीहरू नेपाललाई रोक्न मैदानभरि दौडिरहेका देखिन्थे। प्राविधिकरूपमा निकै कमजोर देखिएका उनीहरूलाई बल नियन्त्रणमा राख्न धौधौ परिरहेको थियो। नेपालले भने मौकाको फाइदा उठाउँदै दुवै प्रतियोगितामा फराकिलो जित हात पार्‍यो। नेपालसँगको पराजय बंगाली खेलाडीका लागि यति ठूलो पीडा बन्यो, उनीहरू मैदानमै डाँको छाडेर रुन थाले।

यो शृंखला २०१० बाट शुरू भएर २०१९ सम्म जारी रह्यो। यसबीच पाँचमध्ये पाँचवटै खेलमा जित हात पार्दै नेपालले बाङ्लादेशमाथि मनोवैज्ञानिक दबाब बनाइरह्यो। तर, अहिले अवस्था उल्टिएको छ। कुनैबेला नेपालसँग खेल हार्दा मैदानभित्र डाँको छोडेर रुने बंगाली खेलाडीहरू अहिले जितको उन्मादमा हाँस्ने गरेका छन्।

सन् २०२२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाङ्लादेशले साफ च्याम्पियनसिपको छैटौं संस्करणको फाइनलमा घरेलु नेपाललाई ३–१ गोलले पराजित गर्‍यो। यतिबेला नेपाली खेलाडीहरू डाँको छोडेर मैदानमा रुएका थिए।

बाङ्लादेशले गत वर्ष दशरथ रंगशालामै आयोजना भएको सातौं साफ च्याम्पियनसिपको फाइनलमा पुनः नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै आफू दक्षिण एशियाको सशक्त टोली भएको पुष्टि गर्‍यो।

महिला साफ २०२४ को फाइनलमा बाङ्लादेशसँग हारेपछि डगआउटमा स्तब्ध नेपाली खेलाडी।

करिब एक दशक नेपाली फुटबलसँग नतिजा आत्मसमर्पण गर्दै आइरहेको बाङ्लादेशले बीचको वर्ष त्यस्तो के गर्‍यो, जसका कारण अहिले ऊ दक्षिण एशियाकै बलियो टोलीको रूपमा स्थापित भएको छ? यसलाई बुझ्न हामीले बाङ्लादेश फुटबल संघले महिला फुटबलमा गरेको लगानीलाई विस्तृत रूपमा नकेलाइ स्पष्ट हुँदैन।

भिजन र मिसन
बाङ्लादेशको महिला फुटबल टोलीलाई २०१५ सम्म सबैले सामान्य सोच्थे। तर, २०१६ मा भारतको सिलिगुडीमा आयोजना भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेपछि उसलाई हेर्ने सबैको नजर फेरियो। यही प्रतियोगितामार्फत आफूले देखाएको असीमित क्षमताका कारण नियमित फुटबल खेल्न थालेको १५ वर्षको अन्तरालमा बाङ्लादेशले साफ यू–१९, यू–२० र सिनियर महिला च्याम्पियनसिपको सबै उपाधि जितिर इतिहास रच्यो। यतिमात्र होइन, बाङ्लादेशले सिनियर र जुनियर दुवैतर्फ छनोट चरण पार गरेर एसियन कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। सार्क राष्ट्रमा भारतपछि यो उपलब्धि हात पार्ने बाङ्लादेश दोस्रो टोली हो। बाङ्लादेशको आँखा अब २०२७ को ब्राजिलमा हुने फिफा महिला विश्वकप र २०२८ अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक्समा गएर टिकेको छ।

बंगाली महिला खेलाडीले यो सफलता रातारात हात पारेका होइनन्। सफलताका लागि उनीहरूले १७ वर्षअगाडि नै काम शुरू गरिसकेका थिए। बाङ्लादेशले फिफाको ‘भिजन एसिया’ कार्यक्रममार्फत २००७ मा लगानी खन्याएको हो। यही कार्यक्रमअन्तर्गत उसले २००९ मा पहिलोपल्ट यू–१४ गर्ल्स फुटबल प्रतियोगिता आयोजना गर्‍यो। गाउँ–गाउँ र जिल्लास्तरमा आयोजना भएको यो प्रतियोगिताको लोकप्रियता पहिलो संस्करणबाटै यसरी बढ्यो– खुल्ना र चाँपाइ नबाबगन्जजस्ता ग्रामीण क्षेत्रबाट धेरै प्रतिभाको जन्म भयो।

यसबाट हौसिएको बाङ्लादेश फुटबल संघ (बीएफएफ) ले जापानबाट प्रशिक्षक झिकायो। यिनै जापानी प्रशिक्षकको रोहबरमा अर्को वर्ष सिनियर टोलीको निर्माणसमेत भयो।

बाङ्लादेशी महिला टोलीले अन्तर्राष्ट्रिय डेब्यू गरेको नेपालविरूद्ध हो। २९ जनवरी २०१० मा घरेलु मैदानमा आयोजना भएको साग प्रतियोगितामा उनीहरू नेपालसँग १–० ले पराजित भए। नेपालविरुद्ध उक्त खेल खेलेकी पूर्वखेलाडी जोया चक्मा भन्छिन्, “यद्यपि हामीले पहिलो खेलमा हार बेहोर्‍यौं। तर, त्यसले अझै धेरै मिहिनेत गर्न प्रेरित गर्‍यो।”

अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको एक वर्षभित्र बाङ्लादेशले राष्ट्रिय महिला लिगको शुरूआत गरिसकेको थियो। यसपछि जोयाजस्ता अनगिन्ती स्थानीय खेलाडी व्यावसायिक खेलाडीमा रूपान्तरण भए।

जोयाजस्ता बंगाली महिला खेलाडीलाई नेपालकी सावित्रा भण्डारीजस्तै सहज थिएन, फुटबलको शुरूआती दिनमा घरेलु मैदानमा उत्रिन। मुस्लिम कट्टरताका कारण बाङ्लादेशमा कट्टु लगाएर बलको पछाडि भाग्नु निकै जोखिमपूर्ण कार्य थियो। तर, संघले त्यो जोखिम उठायो। उसले २०११ मा ८ वटा टिम सहभागी गराउँदै सफलताका साथ महिला राष्ट्रिय लिग आयोजना गर्‍यो। उसले खेलाडीहरूको शारीरिक, प्राविधिक र मानसिक विकासका लागि २०१३ देखि नियमित प्रशिक्षण क्याम्प पनि सञ्चालनमा ल्यायो।

यस्तै, महिला फुटबल सशक्तीकरणका लागि अर्को वर्षदेखि बंगमाता शेख फाजिलातुन्नेसा मुजीब गोल्ड कप आयोजना गर्‍यो। यही प्रतियोगिताको माध्यमले देशभरका खेलाडीले राष्ट्रियस्तरमा उभिने मञ्च प्राप्त गरे। त्यसैको प्रतिफल हो, सन् २०१५ मा बाङ्लादेशले जितेको उमेर समूहको सुखद् नतिजा।

उमेर समूहको यही प्रतियोगितालाई नेपाली राष्ट्रिय टोलीका गोलकिपर अञ्जना रानामगर बंगलादेशी महिला फुटबलको ‘गेम चेन्जर’ मान्छिन्। एएफसी यू–१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिप (दक्षिण तथा मध्य एसिया) को फाइनलमा घरेलु टोली नेपाललाई १–० ले पराजित गर्दै बाङ्लादेशले उपाधि जितेको थियो। त्यतिखेर नेपालको कप्तान डिफेन्डर पूजा राना थिइन्। नेपाली टोलीमा हालका सिनियर खेलाडी गोलकिपर अञ्जना, डिफेन्डर निशा थोकर, मिडिफिल्डर सरु लिम्बू र फरवार्ड रेखा पौडेल सहभागी थिए।

उमेर समूहको खेलमा नेपालविरूद्ध सहभागी अधिकांश बंगाली खेलाडी हाल सिनियर टोलीमा समावेश छन्। त्यही टोली निरन्तर खेलिरहँदा नतिजा पनि राम्रो आइरहेको छ। शमसुननाहार जुनियर, कृष्णरानी सरकारजस्ता अधिकांश खेलाडीलाई बाङ्लादेशले २०१६ सिलगुडीमा भएको चौथो साफ महिला च्याम्पियनसिपमा मैदान उतारेको थियो। उक्त टोली सेमिफाइनलमा माल्दिभ्सविरूद्ध ६–० को फराकिलो जित हात पार्दै पहिलोपल्ट फाइनल प्रवेश गर्‍यो। फाइनलमा बाङ्लादेश साफको ‘पावर–हाउस’ भारतसँग ३–१ ले पराजित भयो भने नेपाल पहिलोपल्ट सेमिफाइनलमै रोकियो।

त्यसयता बाङ्लादेशले महिला फुटबलमा नसोचेको उपलब्धि हात पारिरहेको छ। यसको पछाडि रंगातुङ्गी फुटबल एकेडेमीको हात महत्त्वपूर्ण मानिन्छ। सन् २०१४ मा ठाकुरगाउँ जिल्लाको रंगातुङ्गी गाउँमा ताजुल इस्लाम नामका स्थानीय कलेजका पूर्वप्रध्यानध्यापकले यो एकेडेमी स्थापना गरेका थिए। स्थानीय फुटबल प्रतियोगितामा सन्ताल समुदायकी युवतीहरूमा देखिएको प्रतिभाबाट लोभिएका उनले एकेडेमी स्थापना गरेका हुन्। बाङ्लादेशमा महिला फुटबल विकासको लागि स्थापना भएको यो पहिलो ग्रामीण महिला फुटबल एकेडेमी पनि हो।

शुरूमा एकेडेमीका लागि कुनै स्थायी संरचना थिएन। तर, ताजुलले आफ्नै परिवारको ५० बिघा जमिनमा प्रशिक्षण कार्यक्रम चलाउन शुरू गरेका थिए। उनले युट्युबबाट प्रशिक्षण विधि सिकेर स्वयम् प्रशिक्षण दिए। सन् २०१५ मा प्रशिक्षक गोपाल मर्मु सुगा एकेडेमीमा जोडिए। उनी एएफसी ‘सी’ लाइसेन्स प्रशिक्षक हुन् र सन्ताल समुदायका सदस्य पनि। उनको नेतृत्वमा प्रशिक्षण अझ व्यवस्थित भयो र खेलाडीहरूमा शारीरिक तथा रणनीतिक सुधार हुँदै गयो।

रंगातुङ्गी एकेडेमीबाट उठेका खेलाडीहरूले २०१६ मा जिल्लास्तरमा मात्र नभई राष्ट्रियस्तरमा समेत राम्रो प्रदर्शन गरे। यही एकेडेमीबाट उत्पादन भएका २३ खेलाडीले हालसम्म राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाइसकेका छन्। जसमध्ये ७ जना त राष्ट्रिय टोलीमा समावेश भइसकेका छन्। यी खेलाडीमा पनि सबैभन्दा चर्चित नाम हो, विंगर ऋतु पोर्ना चक्मा।

म्यानमारमा गत महिना सम्पन्न एएफसी महिला एसियन कप छनोटको निर्णायक मानिएको घरेलु टोलीविरुद्धको खेलमा बाङ्लादेशलाई २–० को जित दिलाउन दुवै गोल उनैले गरेकी थिइन्। सन् २०२२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाङ्लादेशलाई पहिलोपल्ट साफ च्याम्पियनसिपको उपाधि दिलाउँदा मात्र होइन, २०२४ मा दशरथ रंगशालामै आफ्नो देशको उपाधि रक्षा गर्न उनले उल्लेखनीय भूमिका निर्वाह गरिन्।

ऋतुले हालसम्म ३१ खेल खेल्दा १३ गोल गरिसकेकी छन्। उनीबाहेक मिडफिल्डर सपना रानी, गोलकिपर रूपना चक्मा, स्ट्राइकर मोसम्मत सागोरिका र सेन्टर ब्याक तथा कप्तान अफेइदा खन्दाकर बाङ्लादेशका चर्चित खेलाडी हुन्। खन्दाकरको कप्तानीमै बाङ्लादेशले पहिलोपल्ट एसियन कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि चुमेको हो।

विद्रोहको फल
यस वर्षको शुरूआतमै बाङ्लादेशमा घटेका केही घटनाले महिलालाई फुटबल खेल्न अहिले पनि सहज नरहेको स्पष्ट पार्छ।

गत जनवरीको अन्तिममा उत्तर बाङ्लादेशको जयपुरहाट जिल्लास्थित तिलकपुर उच्च माध्यामिक विद्यालयको मैदानमा आयोजना हुन लागेको एक मैत्रीपूर्ण फुटबल खेलमा अचानक तोडफोड भयो। मैदान वरिपरि जम्मा भएका कट्टर धार्मिक समूहले नाराबाजी गर्दै आक्रमण गरे। उनीहरूको एउटै भनाइ थियो, “केटीहरूले सार्वजनिक रूपमा खेल्नु इस्लामविरूद्ध हो।”

ती कट्टरपन्थीहरूले मैदान घेरे, खेलाडीहरूलाई धम्की दिए। स्थिति यति तनावपूर्ण भयो कि खेल शुरू हुनुअघि नै स्थगन गर्नुपर्‍यो। भोलिपल्ट डिनाजपुर जिल्लाको हाकिमपुर उपजिल्लामा हुन लागेको महिला फुटबल प्रतियोगिता पनि यस्तै अराजकताको सिकार भयो। खेल हुनुभन्दा आधा घण्टाअघि उग्र समूहले मैदान घेरे। ढुंगामुढा र लाठीचार्ज भयो। खेल रोकियो।

साफ महिला च्याम्पियनसिप २०२४ का दौरान नेपाल (निलो जर्सी) र बाङ्लादेश (रातो जर्सी)का खेलाडी।

तर, यति हुँदाहुँदै पनि बाङ्लादेशमा महिला फुटबल रोकिएको छैन। यस्तै कठिन परिवेशमा हुर्किएर अगाडि बढेकी सागोरिकाले नेपालविरुद्ध साफ महिला यू–२० च्याम्पियनसिपको फाइनलमा ह्याट्रिकसहित ५ गोल गरेकी थिइन्।

खेल सम्पन्न भएपछि आयोजना भएको पत्रकार सम्मेलनमा आफ्नो कथा सुनाउने क्रममा उनले भनेकी थिइन्, “आमाबुबाले मलाई फुटबल खेल्न दिन चाहनुभएको थिएन। हाम्रोमा महिलालाई खेल्न दिने चलन पनि छैन। तर, म ढिट थिए। मेरो ठूलो मम्मीले नै आमाबुबालाई छोरीलाई फुटबल खेल्न नदिने हो भने मलाई दिनु, म खेलाउँछु भनेर दबाब दिनुभयो। उहाँको साथले मैले खेल्न पाएको हुँ।”

फुटबल खेलेकै कारण सागोरिकाले गाउँमा सामाजिक आलोचना खेप्नुपर्‍यो। गाउँका धेरै व्यक्तिले छोरीलाई फुटबल खेलाउनु हुँदैन भनेर आमाबुबालाई दबाब दिए। तर, उनले कसैको सुनिनन्। “मैले सधैं बुबाआमालाई गल्त साबित गरेर गर्व गराउने लक्ष्य राखेको थिएँ। त्यसैले यहाँसम्म आइपुग्न खुब मिहिनेत गरें,” उनले भनेकी थिइन्।

लगानी बढाउँदै बंगाली फुटबल
पछिल्ला दशक हात पारेको सफलताले बाङ्लादेश फुटबल संघ हौसिएको छ। साफ च्याम्पियनसिपमा पुरुष टोली तेस्रो स्थानबाट माथि उक्लिन नसकेको अवस्थामा महिला फुटबलले हात पारेको सफलताले संघ दंग छ। त्यसैले उसले महिला फुटबलको दीर्घकालीन विकासको लागि लक्ष्यसहित लगानी र योजना अगाडि बढाएको छ।

संघले मार्च २०२४ देखि प्रिमियर लिग क्लब वेस्ट ह्यामका पूर्वखेलाडी पिटर जेम्स बटलरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिसकेको छ। उनैको प्रशिक्षणमा बाङ्लादेशले उमेर समूह र सिनियर गरी साफ च्याम्पियनसिपको दुवै उपाधि जितेको थियो। यस्तै, एसियन कपमा छनोट भएर ऐतिहासिक सफलता पनि प्राप्त गरिसकेको छ।

बाङ्लादेशसँग सन् २०२० देखि २०२८ सम्मको रोडम्याप छ। देशव्यापी संरचना निर्माण गरेर ग्रामीणदेखि राष्ट्रियस्तरसम्मका प्रशिक्षक र खेलाडी तथा क्लबलाई सशक्त बनाउने, प्रतिभावान खेलाडी छनोट गरेर यू–१२ देखि यू–१९ सम्मका पुरुष र महिला दुवैलाई एलिट स्तरमा पुर्‍याउने, प्रविधिको प्रयोग गरेर राष्ट्रिय टिमलाई प्रतिस्पर्धात्मक बनाउनेलगायत योजना संघसँग छ।

यस वर्ष महिला फुटबलका लागि मात्र संघले लगभग २.७५ करोड बंगाली टाका (२ करोड ८८ लाख नेपाली रुपैयाँ) लगानी गर्न लागेको अध्यक्ष ताबिथ अवालले नेपालन्युजलाई बताए।

ʺहामीले एक दशकयता महिला फुटबलका लागि एक अर्बभन्दा बढी रकम लगानी गरिसकेका छौं,” उनी भन्छन्।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टिममा समावेश छन्। यी खेलाडी पनि भरखरै फुटबल बुझ्न लागेका आलाकाचा खेलाडीमाथि गोलको वर्षा गर्दै बहादुरी देखाउँछन्। केही क्लबले विदेशी खेलाडीमा लगानी गरेका छन्। तर, एन्फाले लिग स्तरीय बनाउन नसक्दा यसको फाइदा नेपाली खेलाडीले लिन सकिरहेका छैनन्।

यी लगानीहरू विद्यालयदेखि ग्रासरूटसम्म भएको देखिन्छ। संघले युवा टोली निर्माण, सिनियर राष्ट्रिय टोली, महिला प्रिमियर लिग सञ्चालन, प्रशिक्षक उत्पादन, प्रशिक्षण केन्द्र सञ्चालन, पोषण तथा मेडिकल सुविधा र विदेशी प्रशिक्षकमा पनि रकम खर्च गरिरहेको अध्यक्ष ताबिथको भनाइ छ। उनी महिला फुटबलको विकासका लागि आफूहरूले २०२३ देखि साफ क्षेत्रकै पहिलो महिला फ्रेन्चाइजी लिग शुरू गरेको बताउँछन्। लिगमा पाँच विदेशी खेलाडी अनिवार्य छ। यसले लिगलाई थप बलियो बनाएको छ।

‘‘हामी नयाँ प्रतिभा खोज्ने र प्रशिक्षण गराएर उत्कृष्ट बनाउने योजनामा छौं। यसका लागि आवश्यक सहयोग लिन प्रतिबद्ध छौं,’’ उनी भन्छन्। देशभरिका विद्यालयमा महिला फुटबल प्रोत्साहन गर्न संघले बंगमता स्कुल गर्ल्स फुटबलजस्ता प्रतियोगिता आयोजना गरिरहेको छ। यसले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई राष्ट्रिय टोलीसम्म पुग्ने अवसर प्रदान गर्छ। युवा टोलीलाई नियमित प्रशिक्षण क्याम्प र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी गराएर अनुभव बढाउने योजना संघको छ।

यसका लागि अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न संघले जापानमा दुई महिनाको क्याम्प राख्न लागेको छ। अर्कोतर्फ हरेक महिना एक मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। संघले २०३० सम्ममा महिला टोलीलाई विश्वकपमा पुर्‍याउने लक्ष्य राखेको छ। ताबिथ भन्छन्, ‘‘खेलाडीहरूको सुरक्षा र विकासमा कुनै सम्झौता हुँदैन। हामी महिला फुटबललाई थप प्रोत्साहन दिन चाहन्छौं।’’

नेपालको अवस्था
बाङ्लादेशले जस्तै कुनैबेला सफलता हात पार्ने लक्ष्य राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने महिला फुटबलमा लगानी गर्न सकेको छैन। गत वर्ष साफ च्याम्पियनसिपको फाइनलमा बाङ्लादेशसँग ३–१ ले पराजित भएपछि स्ट्राइकर सावित्री भण्डारीले दुखेसो पोख्दै भनेकी थिइन्, ‘‘यही लगानी हो भने नेपाली फुटबलले कुनै फड्को मार्न सक्दैन।’’ पछिल्ला एक वर्षयता नेपालले उमेरदेखि सिनियरस्तरसम्मका प्रतियोगितामा हात पारेको नतिजा तुलना गर्ने हो भने उनको भनाइले प्रमाणित गरिसकेको छ– यही लगानीले उचाइ चुम्न सकिँदैन।

पछिल्लो समय नेपाली महिला फुटबल विदेशी लिग खेल्ने केही खेलाडीको भरमा चलिरहेको छ। त्यसको अग्रस्थानमा सावित्रा आफैं पर्छिन्। भारत, इजरायल, फ्रान्स हुँदै न्युजिल्यान्डको लिग खेल्ने तरखरमा रहेकी सावित्राले नेपाली टोलीका लागि ६६ गोल गरिसकेकी छिन्। उनी नै हरेक खेलमा निर्णायक बन्छिन्।

उनीबाहेक स्ट्राइकर रेखा पौडेल, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर पूजा राना पनि विदेशी लिगमा जमेका छन्। मिडफिल्डर प्रिती राई भने हालसालै जोर्डनको इत्तिहाद क्लबमा अनुबन्ध भएकी छिन्। यीबाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य देखिँदैन। नेपालमा भएका खेलाडीले लिगको नाममा २ महिना अपुग फुटबल खेल्छन्। त्यसैले विदेशमा बसेर लिग खेलिरहेका नेपाली खेलाडी र घरेलु लिग खेलिरहेका खेलाडीबीच मैदानमा त्यति राम्रो तालमेल देखिँदैन।

दशरथ रंगशाला

जसका कारण नेपालले १५ वर्षयता १२ प्रतियोगिताको फाइनलमा हार बेहोरिसकेको छ। अझ उमेर समूहतर्फ कुनै लिग र कार्यक्रम छैन। ग्रासरूट र एकेडेमीको योजना एन्फाको गर्वभित्र छ।

बाङ्लादेशमा १० गोल गरेर ‘गोल्डन बूट’ पाएकी स्ट्राइकर पूर्णिमा राई भन्छिन्, ‘‘बाङ्लादेशले जस्तो नियमित खेल्न पाएको भए हामीले उपाधि जित्न सक्थ्यौं होला। हाम्रो तयारी नै १५ दिनको हुन्छ।’’

उनको यो भनाइले पुष्टि गर्छ, बाङ्लादेश र नेपालको लगानीको खाडल कति गहिरो छ। बाङ्लादेशले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपको तयारीका लागि महिनामा एउटा मैत्रीपूर्ण खेल खेल्ने योजना बुनेको छ। तर, २०३१ मा विश्वकप खेल्ने लक्ष्य सुनाउने एन्फा अझै योजनाविहीन देखिन्छ।

एन्फा महासचिव किरण राई महिला यू–२० टोलीलाई अबको ‘ड्रिम टिम’ भन्न रुचाउँछन्। यो टिमलाई ६ वर्ष लगानी गरेर विश्वकप खेल्न योग्य बनाउने योजनामा छ, एन्फा। जसको खाका बुन्ने जिम्मेवारी दिइएको छ, उपाध्यक्ष दीपक खतिवडालाई। उज्बेकिस्तानमा भएको छनोट चरणको अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी शूटआउटमा ४–२ ले पराजित भएर नेपाली खेलाडी स्वदेश फर्किएको दुई महिना बितिसकेको छ। तर, नेपालले बाङ्लादेशको जस्तो प्रस्ट खाका कोर्न सकेको छैन। जुन कुरा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का स्वीकार्छन्। ‘‘अध्यक्ष (पंकजविक्रम नेम्वाङ) र महासचिव (किरण राई) ले विश्वकप खेल्ने योजना सुनाउनु त भएको छ। तर, कति लगानी गर्ने, के गर्ने र कोसँग सहयोग लिने भन्ने केही योजना हामीलाई दिनुभएको छैन,’’ उनी भन्छन्।

एन्फा आफैंले पनि महिला फुटबलमा थप लगानी खन्याउन सकेको छैन। भइरहेको एक मात्र लिगमा पनि टोलीको सहभागिता सुनिश्चित गर्न सक्दैन। कहिले नगरपालिका, कहिले प्रदेशका टिम बटुलेर लिग आयोजना गर्छ। फिफा र एएफसीबाट आउने ५० हजार डलर योजनाविहीन ढंगले खर्च भइरहेको छ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टिममा समावेश छन्। यी खेलाडी पनि भरखरै फुटबल बुझ्न लागेका आलाकाचा खेलाडीमाथि गोलको वर्षा गर्दै बहादुरी देखाउँछन्। केही क्लबले विदेशी खेलाडीमा लगानी गरेका छन्। तर, एन्फाले लिग स्तरीय बनाउन नसक्दा यसको फाइदा नेपाली खेलाडीले लिन सकिरहेका छैनन्।

लिग चलाउन पनि एन्फा सरकारकै भर पर्छ। सरकारसँग ४० लाख रुपैयाँ सहयोग लिएर साढे दुई महिना चल्ने लिगको भरमा विश्वकप खेल्ने सपना बुन्नु आफैंमा हाँस्यास्पद कुरा हो। एन्फाको योजना पत्याउन नसकेर उमेर समूहको प्रतिनिधित्व गरिसकेका कोशी प्रदेशकी कप्तान खुम्मा राई र संकटा क्लबकी मिडफिल्डर ममता पुन मगर पलायन भइसकेका छन्। अझ यो दर दशैंपछि बढ्नसक्ने आंशका एन्फाकै पदाधिकारी गर्छन्। उपाध्यक्ष खड्का भन्छन्, ‘‘६ वर्षको तयारी गर्ने हो भने अहिलेखि नै खेलाडीको ब्याकग्राउन्ड बुझ्ने र पारिवारिक तनाव नलिई फुटबल खेल्न प्रेरित गर्नुपर्ने हो। तर, त्यो योजना छैन।’’

गत वर्ष साफ च्याम्पियनसिपको फाइलनमा बाङ्लादेशसँग पराजय भोगेपछि मिडफिल्डर प्रितीले प्रधानमन्त्री केपी ओली शर्मालाई आर्थिक समस्या बोकेर मैदान उत्रिँर्दा नतिजा दिन नसकेको गुनासो गरेकी थिइन्। प्रितीको त्यो कुरा सुनेलगत्तै खेलाडीका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीले एन्फा अध्यक्ष नेम्वाङलाई निर्देशन दिएका थिए। तर, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता रानाजस्ता केही खेलाडीले टाउको लुकाउन युट्युबमा आएर चन्दा मागेको देख्दासमेत एन्फाले प्रधानमन्त्रीको निर्देशनको पालना अझै गर्न सकेको छैन।

बाङ्लादेशले महिला खेलाडीलाई चार श्रेणीमा विभाजन गरेको छ। उसले ५५ खेलाडीलाई ६ महिनाको केन्द्रीय सम्झौतामा राखेको छ। त्यो सम्झौताअनुसार खेलाडीले ३१ देखि ६१ हजार रुपैयाँ पाउँदै आएका छन्। अझ लिग खेल्दा हुने आम्दानी केही पुरुष खेलाडीको भन्दा राम्रो हुन आउँछ।

नेपालमा २३ महिला खेलाडीलाई केन्द्रीय सम्झौतामा राखेको एन्फाको भनाइ छ। सम्झौताबापत प्रत्येक खेलाडीले १८ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने नियम छ। तर, त्यो रकम पनि विगत ४ महिनादेखि नपाएको गुनासो खेलाडीहरूको छ। यस्तो अवस्थामा नेपाली महिला खेलाडीले विश्वकपको उडान कसरी भर्लान्? यो एन्फाकै लागि प्रश्न बनेको छ।