काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिनबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ।
उनीहरुबीचको भेटवार्ता ३० अक्टोबरमा हुने ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ।
उक्त सम्मेलनमा राष्ट्रपति ट्रम्प पनि सहभागी हुनेछन्। सोही क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताइएको छ।
दुई नेताबीच भेटवार्ता हुने अपेक्षा पहिलेदेखि नै गरिएको भए पनि अमेरिका र चीनबीचको बढ्दो तनावका कारण यसमा अनिश्चितता छाएको थियो।
ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।
हालै राष्ट्रपति ट्रम्पले यदि चीनले ‘रेअर अर्थ’मा लगाएको प्रतिबन्ध खुकुलो नपारेमा अमेरिकाले नोभेम्बरदेखि चिनियाँ वस्तुहरूमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउनेबारे विचार गर्ने चेतावनी दिएका थिए।