७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश अर्यालबीच सामाजिक सञ्जालमा सवाल जवाफ भएको छ । पोखरेलले फेसबुकमा विध्वसं र लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न प्रहरीले खोज्दा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले गृहमन्त्री अर्याललाई प्रयोग गरेर रोकेको आरोप लगाएका थिए ।

त्यसको प्रतिउत्तरमा गृहमन्त्री अर्यालले पार्टीका महासचिव जस्तो व्यक्तिले सत्यतथ्य बुझेर पनि हावादारी नबझ्न सुझाव दिएका छन् । ‘मेरो कर्तव्य पालनाको विषयमा तपाई (पोखरेल) यसरी तथ्यहीन कुरा नगर्नुस् है। मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु। अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छरु पार्टी महासचिव जस्तो व्यक्ति सत्यतथ्य बुझिबुझी फेरि पनि यति धेरै हावादारी नबन्नुहोस्,’ आर्यालले फेसबुकमा लेखेका छन,’समाजमा हावादारीरगफाडी भडुवाहरूको कमि छैन । तपाईं जस्तो जिम्मेवार व्यक्ति किन थपिनु हुन्छ ?’

उनले महासचिव पोखरेललाई परिस्थितिलाई सामान्यीकरण गर्न मद्दत आग्रह गरेका छन् । ‘हामी सरकारमार्फत शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा, सुशासन, भ्रष्टाचार निवारण, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्छौं,’ उनले लेखेका छन् । सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भएको भन्दै आएको एमालेले गृहमन्त्री अर्यालको भूमिका प्रश्न उठाउँदै चर्को आलोचना गर्ने गरेको छ । यसअघि पोखरेलले काठमाडौं महानगरपालिका मेयर बालेन शाहमाथि टिप्पणी गर्दै गृहमन्त्री आर्याललाई त्यसमा जोडेका थिए ।

‘विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने वालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ,’ पोखरेलले फेसबुकमा लेखेका थिए, ‘नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देउ । नेकपा(एमाले)को पूर्ण सहयोग रहनेछ ।’