काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। दसैंको रौनक सकिएको थियो। गाउँमा अझै पिङ खेल्ने र बालबालिकाको हाँसो सुनिन्थ्यो। पूर्णिमाको भोलिपल्ट, असोज २१ गते घाम अस्ताउँदै थियो। खेतमा पाक्दै गरेको धानले फडानी गाउँ सुनौलो देखिन्थ्यो।

त्यहीबेला, लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतम बुधबारे चौरी नजिकै गाउँमा देखिइन्।

वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार उनलाई गाउँलेले सोधे, “साँझ परेपछि कहाँ जाँदै गरेकी?”

“पिङ खेल्न,” उनले मुस्कुराउँदै जवाफ दिइन् र हिँडिन्। त्यो मुस्कान, त्यो उत्तर गाउँलेहरूको सम्झनामा आज पनि गुञ्जिरहेछ। बुधबारे चौरमा पिङ राखिएको थियो। अंशु त्यसअघि आफ्नै घरभन्दा पाँच सय मिटर दक्षिणको चौरमा पिङ खेल्न पुगेकी थिइन्। “साथीहरूसँग गएकोमा पिङ फुकालिएको रहेछ,” फडानीका पत्रकार सुरेश अधिकारी भन्छन्, “साथीहरू आ-आफ्नो घर गए, उनी चाहिँ पिङ खेल्न भनी पूर्वदक्षिणतर्फ बुधबारे चौरी लागिन्।”

त्यसदिन साँझ उनलाई देख्नेहरू धेरैले बुधबार चौरको पिङ हिँडेको बताउँछन्। “बुधबारे चौकतिर नगई चौर गएको धेरैले देखेकाले उनी पिङ खेल्न गइन्,” अधिकारी भन्छन्, “पिङ भएको चौरको दक्षिणतिर जंगल क्षेत्र छ।”

पिङ हालिएको क्षेत्र एकान्त ठाउँ हो। उनी पिङ पुगिन्, पुगिनन् साँझ त्यो बेला के भयो कसैले जानकारी पाएनन्। बुधबारे चौर हिँडेकी अंशु त्यसपछि भने घर फर्किनन्।

रात पर्‍यो। ८ बजेसम्म अंशुशु घर फर्किनन्। माता–पिता चिन्तित भए। गाउँका मानिस र प्रहरी टर्च लिएर खेत र बारी खोज्न निस्किए। रातभर खोजी भयो, कुनै सुराग भेटिएन।

भोलिपल्ट बिहान प्रहरी र नेपाली सेनाको टोली पनि खोजीमा जुट्यो। बुधबारे चौर वरिपरि पाँच सय मिटर क्षेत्र खोजियो। अंशु भेटिइनन्।

साढे चार किलोमिटर टाढा घनाजंगलमा शव

शुक्रबार लेटाङ–२ र बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रभित्र टुक्रा–टुक्रा अवस्थामा उनको शव फेला पर्‍यो। बिहान घाँस काट्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सडेको शवको गन्धसँगै टाउको र कम्मरमुनिको भाग देखेपछि स्थानीय आत्तिँदै गाउँ पुगेका थिए। “बाहिर कतै बलात्कारपछि हत्या गरेर शव मात्रै व्यवस्थापन गर्न त्यहाँ लगेको देखिन्छ,” वडाध्यक्ष तिम्सिना भन्छन्, “प्रहरीले अनुसन्धान थालेको छ।”

पिङ राखेको बुधबारे चौरी र शव भेटिएको क्षेत्र साढे चार किलोमिटर टाढा पर्छ। “पिङ राखेको क्षेत्र र शव भेटिएको ठाउँ सिधा पर्छ, पिङ पुगेपछि केही घटना भएको संकेत मिल्छ,” तिम्सिना भन्छन्, “शव भेटिएको ठाउँको घाँसपात फाँडिएको छैन, त्यसकारण बाहिरै हत्या गरेर फाल्न मात्रै त्यहाँ गएको देखिन्छ।”

अंशुको शव तीन टुक्रा थियो। टाउको, टाउकोमुनि कम्मरमाथिको भाग र कम्मरमुनिको भाग छुट्टै भेटिएको थियो। चप्पल र भित्री बस्त्र अलग्गै फालिएको थियो। सडे-गलेको अवस्थाको शव चिनिँदैनथ्यो।

शवनजिकै घडी भेटियो, परिवारले अंशुकै रहेको भनेकाले तत्कालै पहिचान गरिएको प्रहरीले जनाएको छ। “बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फरेन्सिक जाँच भइरहेको छ,” मोरङका प्रहरी उपरीक्षक कवित कटवाल भन्छन्, “हत्या गरिएको आधार धेरै देखिन्छ। अहिले अनुसन्धान थालिएको छ।”

गाउँमा भय, त्रास र प्रश्न

अंशु कान्छी थिइन्। उनका एक दाइ, एक दिदी छन्। घरभन्दा सय मिटरनजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा उनी कक्षा ५ मा अध्ययनरत् थिइन्। अधिकारीका अनुसार उनको परिवार निम्नवर्गीय हो। बुवा-आमा कृषि उत्पादन बजार लगेर सानो व्यवसाय चलाउँथे।

अंशु बेपत्ता भएपछि फडानी गाउँको रमाइलो हराएको थियो। बेपत्ता छोरी फर्किने आश गरेका परिवारमा तिहार आएन, मनमा बेचैनी, छटपटी र आशंका मात्रै दौडिरहेको थियो। भाइटीकाको भोलिपल्ट अंशुको शव भेटिएपछि गाउँमा स्तब्धता छायो। जुन गाउँ बालबालिकाको हाँसोले गुञ्जिन्थ्यो आज त्यहाँ मौनता र त्रास छ। “कसैसँग दुश्मनी थिएन,” अधिकारी भन्छन्, “गाउँको सबै बच्चा पिङ खेल्थे। कसले यस्तो गर्न सक्छ भन्ने सोच्दा पनि डर लाग्छ।”

प्रहरी उपरीक्षक कटवालका अनुसार पिङ खेल्ने योजना, साथीभाइ छुट्टिएको र एक्लै पिङ खेल्न हिँडेका तथ्य उजागर भएका छन्। पिङ पुगेपछि घटना के भयो अनुसन्धानकै क्रममा छ। साँझ अंशुलाई देख्ने व्यक्तिहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

“अंशुलाई देख्ने-जान्नेहरूसँग सोधपुछ गर्ने काम सुरू गरेका छौं,” कटवाल भन्छन्, “शंकास्पद मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।”