काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ कार्तिक २०८२
अ+
अ-

धनुषा। छठ सुरु भएसँगै जनकपुरसहित धनुषाका स्थानीय बजारमा केराको माग बढेको छ। जसले बजारमा केराको कारोबार बढाएको हो।

छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार छठमा भगवान् सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरसहित स्थानीय बजारमा बढेको हो।

अहिले महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। त्यसैगरी जनकपुरलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भिड लागेको छ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात बढाउनुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समिति अध्यक्ष विश्वेश्वर यादव बताउँछन्। उनका अनुसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन्। गोदाममा केरा पर्याप्त भएकाले यसपटक व्रतालुलाई अभाव नहुने अध्यक्ष यादवको भनाइ छ।

केराको माग बढेसँगै मूल्य पनि बढेको छ। क्षीरेश्वरनाथ नगरपालिका ५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी ६०० सयदेखि एक हजार रुपैयाँसम्म पुगेको छ। जुन गत वर्षको तुलनामा धेरै हो। छठका लागि जनकपुरमा भारतबाट केरा आयात गरिएको छ। स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको व्यवसायीको भनाइ छ। महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भने, “यस वर्ष झन्डै ७२ ट्रक केरा भित्र्याइएको छ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको असम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष बढेकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ,” उनले भने।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन्। प्रतिट्रकबराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए। नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोबस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ। सम्भावना हुँदा-हुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।