हेटौंडा। लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ। प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको हो।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए।राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेकाले त्यसपछि प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ। सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन्।
प्रदेशसभाको सभाहल जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ।
तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो। क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ ।