काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सप्तरी। अनलाइन ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ९ का २७ वर्षीय अनिलकुमार यादव छन्।

प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए। २०७९ सालमा दर्ता भएको ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि, प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। अन्ततः प्रहरीको विशेष टोलीले ७ असोज २०८२ मा लहान नगरपालिका ५ स्थित विराटनगर रोडबाट उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

प्रहरीले पक्राउका क्रममा उनको मोबाइल, सिम कार्ड र बैंक खातासँग सम्बन्धित केही प्रमाणसमेत बरामद गरेको जनाएको छ।

घटना कसरी सुरु भयो?
६ असार २०७९ मा मनुदेवी शारदाको मोबाइलमा अज्ञात व्यक्तिबाट ह्वाट्सएपमा फोन आयो। फोन गर्ने व्यक्तिले “तपाईंको छोरा मेरो नियन्त्रणमा छ, उसले गल्ती गरेको कारण मैले उनलाई नियन्त्रणमा लिएको छु, अब छोरालाई छुटाउन पैसा पठाउनुपर्छ” भनेर धम्की दिए।

सप्तरी प्रहरीका डीएसपी इन्द्रबहादुर पुरीका अनुसार उनले आफूलाई अस्ट्रेलियाबाट बोलिरहेको दाबी गर्दै, छोरा अपहरणमा परेको झुटो भिडियोसमेत देखाए। छोराको आवाजजस्तै सुनेपछि परिवारले त्यसलाई वास्तविक ठानेर डर र तनावका कारण सो व्यक्तिले मागेजति रकम पठाएका थिए।

६ असार २०७९ देखि लगातार फोनमार्फत संवाद गर्दै उनीसहितका अन्य व्यक्तिलाई पीडितलाई रकम पठाउन दबाब दिएका थिए। उनीहरूले हिन्दीमा कुरा गर्दै आफू अस्ट्रेलियामा रहेको र छोरा त्यहीँ नियन्त्रणमा रहेको दाबी गर्थे।

पहिलोपटक उनले “तपाईंको छोरा चाहिन्छ भने ५ लाख पठाउनुहोस्” भनेका थिए। त्यसपछि उनले “अब थप ८ लाख पठाउनुपर्छ, तपाईंको छोरा बोल्न चाहन्छ” भन्दै धम्की र प्रलोभन दिँदै रकम माग्दै गए।

त्यसरी उनले विभिन्न समयमा गरी कुल १४ लाख ४० हजार रुपैयाँ फरक-फरक खातामा जम्मा गराएको प्रहरीको भनाइ छ। उक्त प्रकरणको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अनिलकुमार यादवलाई मुख्य नाइकेका रूपमा चिनाएको थियो। उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

पुरीका अनुसार पक्राउ परेका यादवविरुद्ध थप अनुसन्धान भइरहेको छ। उनका अनुसार ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि डिजिटल प्रमाण, बैंक कारोबार विवरण र मोबाइल कल डिटेल्सको आधारमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले ठगीका अन्य सहयोगी र प्रयोग भएका बैंक खाताहरूको विवरण संकलन गर्दै, सम्बन्धित बैंकहरूलाई पनि सहयोगका लागि अनुरोध गरेको जनाएको छ।