अनुभूति
कुरूप अक्षर लेख्ने तिनै आमालाई दुईतीन दिनको अन्तरालमा फोन गर्दा मेरो बोली त नबुझिने र नसुनिने फुसफुसाहट मात्र साबित हुन्छ। मानौँ, म केही बोलिरहेकै छैन।
बकुल्लाले पानी खायो लामो चुच्चाले
यताउति नगर कान्छी हान्छु जुत्ताले।
सानोमा यस्तै गीत गाउँदो रैछु। तोतेबोलीमा अड्कीअड्की गाइने त्यस्ता गीत आफन्तजनमाझ खुबै हिट हुने। गीतका शब्द कस्तो, भाव र आशय के, त्यो उमेरमा के सुद्दी! सिकाउनेले बालकलाई भुल्याउन सिकायो, बालकले त्यसैलाई रमाइलो गर्ने ठेगाना बनायो।
आफ्नो तोतेबोलीको सम्झना छैन अहिले। बरु मामाघरमा मामाले जिस्क्याउँदै उच्चारण गरेका गीतका तिनै हरफ कानको जालीमा छानिएर सुरक्षित बसेका छन्। भान्जाको दूधे ओठबाट लय र उच्चारण बिग्रेका गीति भाका सुन्न मन लाग्थ्यो होला, सुरुआतका एकाध शब्द फुकाउँदै मामा मलाई उकास्नुहुन्थ्यो– ‘बकुल्लाले पानी खायो … के रे के रे भान्जा!’
लामो जुँगा भएकाले ठूलो मामालाई ‘जुँगे मामा’ का रूपमा चिन्थेँ म। समयसँगै मेरो तोतेबोलीलाई उम्रिएर छिप्पिँदै गएका दाँतहरूले घचेटेर झारे। मामाको जुँगा पनि कटानमा परेर ओठका डिल बुच्चा भए। समय मेरा दूधे दाँत र मामाका जुँगाको हिसाब नराखी बेतोडले कुदिरह्यो।
बालखै थिएँ। तोतेबोलीबाट एक फड्को मारेको थिएँ होला। मामाघरमा मामा र साथीसहेलीको तानातानीमा परे पनि घरको संसारमा आमाले जिन्दगी बुनिदिएकी थिइन्। बुवाले हरेक कुरामा सातो लिनुहुन्थ्यो। यसैले थर्कमान भइन्थ्यो र भरसक टाढै बसिन्थ्यो। रिसाएको बेला आमासँग त भातै खान्नँ भन्ने घुर्की लगाएर बसिन्थ्यो, तर बाको सिर्कना खानुपर्ने डरले रिसलाई बिच्किएको पर्यटकसरि मिलिक्कै बिदा गरेर भाततिरै लागिन्थ्यो। फिल्मतिर देखिनेजस्तो एउटा परिवारमा पतिसामु छोराछोरीको गल्ती ढाकछोप गर्ने आमा हाम्री पनि थिइन्।
बुवा पनि कम्ता फिल्मी थिएनन्। उबेला हामी छोराछोरीले केही बिगार गरेमा आमालाई ‘तैँले पुलपुल्याएर यति चढेका तेरा घरसाँढेहरू’ भन्नेजस्ता डाइलग पेलिहाल्थे। कहिले भन्थे, ‘तेरा घरसाँढेहरूले घरमा बसेर पनि सिन्का भाँच्ने हैनन्!’
हामी ज्यादाजसो घरैमा कुथुर्किएर बस्ने, बाहिरतिर घुलमिल र सरसंगतिमा नफैलिने भएकाले बुवाले घरसाँढे उपमा दिएको समय थियो त्यो।
बुवाको गुनासो र रिस नदेख्दा एक हिसाबले दिन नै अनौठो लाग्थ्यो। सायद त्यसबेलाका बाहरूलाई कठोर, नीरस र निर्मम हुनुपर्ने पुस्तौनी अभिभारा थियो।
अहिले त बुवाका ती ‘घरसाँढे’ हरू घरबाट बतासिएर आआफ्ना भाग्य/अभाग्य पछ्याउँदै कता कता तितरबितर भइसके। डाइलगवाज बा कम्ता कुँढिएका नहोलान्! घरमा जोडी भएर पनि एक्ला भएका बा-आमालाई तेरा वा मेरा सेनामेना भनेर किटानी जाहेरी हाल्ने अवसर अब छैन।
आमाले चिठी कहिल्यै पूरा नगरे पनि, नपठाए पनि भावनाको सञ्चार आफ्ना बा-आमासँग खै कसरी गरिरहन सकिन्। माइतीबाट औधी माया पाउँथिन्।
समयसँगै कतिपय गुनासा र झोक सकिने रहेछन्। अहिले बेलामौकामा ‘पाहुना’ जसरी दुईचार दिनका लागि घर पुग्दा बा र सन्तानले एकअर्कालाई देख्न पाउँदाको खुसी सँगाल्नै भ्याइनभ्याई हुन्छ। बुवाको गुनासो र हाम्रो डर हाम्रो बालापनसँगै सुइँकुच्चा ठोकिगए।
मेरो बाल्यकालमा बुवा/हजुरबुवाको हप्कीदप्कीबाहेकका तमाम कुरा अविकसित थिए। फोन सुविधामा आम पहुँच थिएन। चिठी नै सम्पर्कको धागो र सम्बन्धको जोर्नी थियो। सडक पूर्वाधार र यातायात पनि सहज थिएन। उदयपुरबाट मामाघर सर्लाही जान गाडी चल्ने बाटोसम्म पुग्न पनि केही घण्टा हिँड्नुपर्थ्यो।
आमालाई कोसौँ दुर रहेको माइतीको खबर लिन र आफ्नो खबर पठाउन कतिविघ्न व्यग्रता हुन्थ्यो होला। जम्मा ४ कक्षा पढेकी उनी चिठी लेख्न कापीमा घोप्टिन्थिन्। सकिनसकी अक्षर फुटाउन खोज्थिन्। चिठी लेख्न छोराछोरीले सघाउन नसक्ने होइन, तर आफैँले कलम समाएर मनका भाव उतार्ने मन हुँदो हो आमालाई।
चार दिशामा बतासिन लागेका अक्षर लेखे पनि तिनलाई भावनाको टेकोले अड्याएर सम्बोधन पूरा गर्थिन्- ‘आदरणीय बुआ मुआ …।’
बुवा-मुवा लेख्नुपर्नेमा बुआ मुआ लेख्थिन् आमा। ती शब्द औँल्याएर हामी छोराछोरी उनलाई खिसी गर्थ्यौं। एक जमानामा ४ कक्षा पढ्दापढ्दै छाडेकी आमाले धन्न लेखिन् भनेर गर्व गर्ने र हौसला दिने दिमागै थिएन। मनले त आमालाई सबै कुरामा परिपूर्ण नै देख्थ्यो नि। तर, सधैँ मनले कहाँ काम गर्दो रै’छ र! हाम्रो खिसी र व्यंग्य चाखेर उनी खिन्न त हुन्थिन् होला। तर, जवाफमा फिस्स हाँसिदिन्थिन्। सन्तानको व्यंग्यले आमालाई पोल्नुसाटो काउकुती लाएजस्तो हुन्थ्यो सायद। खासमा आमाको मनले सन्तानका हरेक गल्ती माफ गरिदिन्छ।
आमाका ती कुनै पनि चिठी हुलाकघर पुगेनन्। घरमै अपूरा लेखिए, केरिए, कतै फालिए, अगेनामा सुक्खा खोयासँगै सल्किए।
आमाले चिठी कहिल्यै पूरा नगरे पनि, नपठाए पनि भावनाको सञ्चार आफ्ना बा-आमासँग खै कसरी गरिरहन सकिन्। माइतीबाट औधी माया पाउँथिन्। मावली हजुरबा र आमाले आफ्नी छोरीदेखि हामीसम्मलाई लाडप्यारले मत्याउँथे। मामाघरका ती दिन सम्झँदा अहिले लाग्छ, स्वर्ग भन्ने कुनै ठाउँ छ भने त्यो मामाघर नै हो। हजुरआमा मिस्रीको ओस गन्हाउने दराज खोलेर कता कताबाट उपहार पाएर साँचिराखेका बिस्कुट, छोकडा, मिस्री, नरिवललगायत मीठा मरमसला हामी सेनामेनालाई लुटाउन पाउँदा हर्षले झुम्नुहुन्थ्यो।
पछि हजुरआमै बित्नुभयो। उमेर नपुगी जानुभयो।
हजुरआमाबिना हजुरबुवा चुपचाप रहन थाल्नुभयो। अलि हुर्किएपछि हामी बेलाबखत मामाघर जाँदा पिँढीमा लस्करै राखेका कुर्सीहरूको एक छेउमा शान्तभावमा बसिरहेको पाउँथ्यौँ। जीवनसाथीबिनाको जीवन एउटा सन्नाटा हुन्छ सायद। लामो साथको आदत जीवनबाट हठात् छुट्दा साथमा केही रहन्न सायद।
९५ वर्ष हाराहारीको दीर्घ जीवन बाँचेर हजुरबुवाले हजुरआमाकै ठेगाना पछ्याउनुभयो।
कुरूप अक्षर लेख्ने तिनै आमालाई दुईतीन दिनको अन्तरालमा फोन गर्दा मेरो बोली त नबुझिने र नसुनिने फुसफुसाहट मात्र साबित हुन्छ। मानौँ, म केही बोलिरहेकै छैन। त्यो बोलीले पल्लो कुनामा केही छोइरहेकै छैन।
समय बदलियो। हावा फेरियो। फेर्ने सास र हेर्ने दृष्टि पनि फेरिए। उही मामाघर अब उही लाग्न छाड्यो। फिका चियाजस्तै अँध्यारो क्यानभासमा परिणत मामाघर। हामी नाति-नातिना र भान्जा-भान्जीको उमेर पनि अब मामाघरबाट उप्किएर कर्मघर र ससुरालीघरको निसानामा मोडिने अवस्थामा पुग्यो। अर्को भान्जा-भान्जी पुस्ता तयार भइसक्यो। मामाघरको ठेगाना बदलिएको छ। भूतपूर्व रहरलाग्दो भान्जा अब मामा बनेर नयाँ पुस्ताको तोतेबोली नाप्दै छु।
यसरी तोतेबोली नापिरहँदा बेलाबेला उहिले आमाले लेखेको चिठीको अक्षर आँखाभरि झल्याकझिलिक आउँछ। ती अक्षर पक्कै पनि भद्दा र बांगाटिंगा थिए। प्रविधिको सुविधाले लेख्ने बानी खोसेपछि छोराको अक्षर पनि आमाकै जस्तो अवस्थामा पुग्ने बेला भइसक्यो। कम्प्युटर स्क्रिनमा थपघट हुने बाटुला अक्षरहरूले औँलासँगै भावनालाई पनि कुरीकुरी गर्छन्। जति लेख्यो, उति नै भन्न बाँकी रहेजस्तो अनुभूतिले पिरोल्छ। आमाको लेखाइमा अशुद्धता र अक्षरको कुरूपता नै हुँदो हो, त्यसलाई भावनाको गाढापनले ढाकेर सुन्दर बनाएको थियो। सम्बोधनमा जे लेखिएको हुन्थ्यो, आदर र आत्मीयताको कोमल धार सीधासीधी नै हुन्थ्यो। संस्कारको बीज खँदिलो थियो। नाटकदेखि पर पात्रको सही चरित्र व्यक्त हुन्थ्यो।
अहिले प्रविधिले फोन र इमेल सेवाबाट दुई कुनालाई जुनसुकै बेला र परिस्थितिमा काउकुतीमा रमाउन सक्ने सुविधाजनक मञ्च दिएको छ। तर, अहिलेको सम्पर्क र सञ्चारमा उहिले चिठीमा पोखिएर हृदय नै आएजस्तो प्रगाढ भावना गायब छ। फोनमा ‘हेलो’ सम्बोधन गर्दा उताबाट आवाज त आउँछ, तर त्यो आवाज पल्लो डाँडाबाट प्रतिध्वनिमा आफ्नै बोली फर्केर बज्रेजस्तो ठोक्किन्छ। प्राणहीन सम्बोधन र संवाद। मानौँ, बोल्नुपरेर वा बोल्नका लागि हामी बोल्छौँ। भावनाशून्य औपचारिकता विनिमयका व्यापारी भएर बोल्छौँ।
फोनको प्रत्यक्ष संवादमा कुराकानी त हुन्छ, तर एउटा कानमा सियो पसेर अर्कोबाट लगत्तै निस्केसरह मात्रै! जति सिए पनि नटालिने थोत्रो बोराको नियति। समाजमै भएर पनि कतै नछुने र नजोड्ने अमूर्त छाया-मानव जस्तै विडम्बना। नलेखेको र नपठाएको चिठीको भावनाले जादुगरी रूपमा जसरी आत्मीयता ढुवानी गर्थ्यो, त्यो काम अहिले हामीले गर्ने फोन र इमेलले गरिरहेको होला र?
कुरूप अक्षर लेख्ने तिनै आमालाई दुईतीन दिनको अन्तरालमा फोन गर्दा मेरो बोली त नबुझिने र नसुनिने फुसफुसाहट मात्र साबित हुन्छ। मानौँ, म केही बोलिरहेकै छैन। त्यो बोलीले पल्लो कुनामा केही छोइरहेकै छैन।
मन लाटो भएपछि मुख र भावना पनि लाटिँदै जाँदा रैछन् क्यार!