काठमाडौँ। बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि जापानले दुई अर्ब ८० करोड जापानी येन (दुई अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ।
बिहीबार अर्थमन्त्रालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको हो। कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थिति थियो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म १५९ किलोमिटर रहेको सडक जापान सरकारको अनुदान सहयोगमा बनेको थियो।
गत वर्षको विनासकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको छ। जसमा रोशी खोला आसपासको खण्ड पूर्ण रुपमा नष्ट भएको छ ।
सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको महत्त्वपूर्ण प्रतिक भएको बताए। उनले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको बताए। जापानले नेपालको आर्थिक-सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति अर्थमन्त्री खनालले आभार व्यक्त गरेका छन्।
जापानी राजदूत माएदाले यो सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भाग पुन: स्थापना गर्न सहयोग पुग्ने बताए।