काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

भारतीय तिर्थालुसमेत नेपाली बाटो प्रयोग गर्थे उतिबेला। तर, अहिले अत्याधुनिक ताक्लाकोट र खलंगाको तुलना गर्न मिल्दैन।

१४ कार्तिक २०८२
तिब्बतस्थित खलंगाको समकक्षी सहर ताक्लाकोट। तस्बिर : श्याम भट्ट
अ+
अ-

चीनको तिब्बतस्थित हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानसरोवर जान २०३० को दशकमै दक्षिण एसियाकै छोटो मानिएको पैदलमार्ग ‘मोटरेबल’ बने पनि छेवैको सहर ताक्लाकोट जाने सपना अझै टाढा देख्दा स्थानीय व्यवसायी भरत चन्दको मन खिन्न हुन्छ।

खलंगाको शिरमा चीनको विश्व आकर्षणको केन्द्र कैलास मानसरोवर छ। विकास नामक सपनाको भने पाँच दशकपछि पनि दार्चुेलेलीको आँगनमा बिहानी भएको छैन।

“ताक्लाकोट र खलंगा नजिकै छन्। व्यवसाय पनि हरेक वर्ष दुवै छिमेकीले गरेकै हुन्छन्, तर उही बाजेको पालाजस्तो खच्चड  र चौँरीको भरमा गर्नुपर्छ,” उनी आफ्नो खिन्नता यसरी व्यक्त गर्छन्।

सेनाले जिम्मा लिएको तुसारपानी खलंगाभन्दा ४० किलोमिटर उत्तरमा पर्छ। यहीँबाट दार्चुलाका पुराना दिन सुरु हुन्छन्।

यार्सा किरा किन्न हेलिकोप्टरमा चिनियाँहरू काठमाडौँबाट दार्चुला आउने यो त्रिदेशीय रणनीतिक सदरमुकामबाट स्थानीयका लागि दुई दिनको पैदल दुरीमा रहेको अत्याधुनिक सहर ताक्लाकोट जान आज पनि कुनै विकल्प छैन।

“मानसरोवरबाट ५५ किलोमिटर वर खलंगाको टाउकामा रहेको तिब्बतको ताक्लाकोट दार्चुलाको समकक्षी सहरबीच कुनै तुलना गर्न सकिँदैन,” ताक्लाकोटमा पुर्खौंदेखि व्यवसाय गर्दै आएका स्थानीय ग्याल्बु सिंह बोहरा भन्छन्।

सडक बने यो दुरी मात्र तीन घण्टाको हो, तर के गर्ने आँखैअघि बगिरहेको कालीपारि भारतको सैन्य सहयोगी दस्ता सीमा सडक संगठनले विवादित कालापानी र लिपुलेक हुँदै तिब्बती पठारसम्म मौसमी सडक बनाइसकेको देख्दा दार्चुलेलीको मन नखाने होइन।

त्यसैले उनीहरूले खलंगा पुग्नेहरूको स्वागतमा बनाएको गेटमा लेखेका छन्– काठमाडौँलाई कालापानी किन दुख्दैन? यो कथन हो, कालापानीलाई चर्चामा ल्याउने स्थानीय नेता स्वर्गीय प्रेम सिंह धामीको।

राजा वीरेन्द्रको हुकुम प्रमांगीमा पाँच दशकअघि बनेको त्यो पैदलबाटो मुलुकका हिमालपारिका अन्य जिल्लामा पक्की बाटो बनिसक्दा पनि खलंगा-ताक्लाकोट सडक अझै आधा पनि खुलेको छैन। “दार्चुला-तिंकर सडक बन्दै छ भन्छन्, तर कहिले बन्ने हो थाहा छैन,” स्थानीय भोजराज जोशी शंका व्यक्त गर्छन्। कोरोनाकालमा यही सडकमा नेपाली सेनाले हात हालेपछि अब त चाँडै बाटो बन्ला भन्ने सोचिएको थियो, तर कामको गति एकदमै सुस्त छ।

पहिलो सर्भेअनुसार खलंगा-तिंकर लम्बाइ ९६ किलोमिटर भए पनि बाटो तन्काउँदै जाँदा यसको दुरी १२१ किलोमिटर पुगेको हो।

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु भएको दार्चुला-तिंकर सडक योजनामा सरकारले अहिलेसम्म तीन अर्ब ६८ करोड रुपैयाँ खर्च गरिसकेको छ। यसमा सेनाले गरेको कामको खर्च जोडिएको छैन।

महाकाली करिडोरका इन्जिनियर रामचन्द्र जोशीका अनुसार अहिले पनि यस सडकमा एक अर्ब ३९ करोड रुपैयाँका ठेक्का सञ्चालनमा छन्। सेनाले जिम्मा लिएको तुसारपानी खलंगाभन्दा ४० किलोमिटर उत्तरमा पर्छ। यहीँबाट दार्चुलाका पुराना दिन सुरु हुन्छन्।

भारतीय तिर्थालुसमेत नेपाली बाटो प्रयोग गर्थे उतिबेला। तर, अहिले अत्याधुनिक ताक्लाकोट र खलंगाको तुलना गर्न मिल्दैन।

नम्बर–२ विकास निर्माण गणका गणपति राजेश कटुवालका अनुसार तुसारपानीलाई ‘जिरो पोइन्ट’ मानेर सेनाले काम गरिरहेको छ। भारत र तिब्बत छोएको ब्यासतिरबाट समेत काम भइरहेको छ। गणका २०० प्राविधिक संवेदनशील यो सीमामा बाटाको खाका कोर्दै छन्।

चीनको आग्रहमा राजा वीरेन्द्रले २०३१ सालमा खम्पा विद्रोह दबाउन सफल भएपछि यही बाटोमा पर्ने भारत र तिब्बत सीमाका ब्यास र तिंकर भ्रमण गरे। ब्यासका सोबन सिंह तिंकरी उतिबेला प्रधान थिए। सोबनलाई राजाले सोधे के चाहियो?

सोबनले मागे– खलंगादेखि ब्याससम्म घोडेटो बाटो। मुसुक्क हाँसेर सरोकारवालालाई राजाले तत्काल आदेश दिए– तुरुन्त यो बाटो बनाऊ। राजाको आदेशमा कालीको खोच हुँदै तीसको दशकमा स्तरीय घोडेटो बाटो बनेपछि ब्यासीहरू खुसी भए। कालीका डरलाग्दा भिर काटेर तिरैतिर तम्बाकु, दुम्लिङ हुँदै ब्यास जोड्ने यो पैदल बाटो कुनैबेला तिब्बतको कैलास मानसरोवर जाने प्रमुख बाटो थियो। भारतीय तिर्थालुसमेत नेपाली बाटो प्रयोग गर्थे उतिबेला। तर, अहिले अत्याधुनिक ताक्लाकोट र खलंगाको तुलना गर्न मिल्दैन।

२०६५ सालबाट कञ्चनपुरको ब्रह्मदेवको महाकाली किनार हुँदै डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, जुलाघाट र चमेलिया, दार्चुलाको लाली, उकु, खलंगा, हिकिला हुती, धौलाकोट, सुनसेरा र ब्यास उपत्यका हुँदै तिंकर जोडिने यस सडकलाई सरकारले महाकाली करिडोर नाम दिएर विकास गर्न खोजे पनि यसको गति साह्रै सुस्त छ।

भारतसँगका तीन ब्रह्मदेव, झुलाघाट, खलंगा तिब्बतसँगको एक तिंकर नाका समेटेको ४१३ किलोमिटरको महाकाली करिडोरमध्ये खलंगा-तिंकरको दुरी १२१ किलोमिटर हो। जसमध्ये सरकारले तुसारपानीदेखि तिंकर नाकासम्मको ७९ किलोमिटर सडकको जिम्मा पाँच वर्षअघि १४ वैशाख २०७७ देखि नेपाली सेनालाई दिएको थियो। राजनीतिक कारणले ब्रह्मदेव, हिकिला, धारी र पीपलचौरी गाविस घुमाउँदा सडकको लम्बाइ बढेको थियो।