काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा राजधानीका प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रहरी प्रभाग बलम्बुमा भएको तोडफोड र आगजनी घटनामा कुमार तामाङलाई पक्राउ गरिएको छ। काठमाडौँ चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ घर भएका ३७ वर्षीय तामाङले २४ भदौमा बलम्बुस्थित प्रहरी प्रभागमा आगजनी गरी कार्यालयको गाडी जलाएको आरोप छ।

यस्तै, बुढानिलकण्ठ नगरपालिका-१० शिवमन्दिरबाट २२ वर्षीय प्रशान्त महतारालाई प्रहरीले पक्राउ गरेको छ। उनले सोही आन्दोलनको क्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारीको घरमा तोडफोड गरेको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बताए। महतारालाई कपन प्रहरी प्रभागको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको कार्कीले बताए।

यस्तै, प्रहरी वृत्त थानकोटमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा २८ वर्षीय प्रताप तामाङलाई प्रहरीले पक्राउ गरेको छ। थानकोट चेकपोष्टमा भएको आगजनी-तोडफोड घटनामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी प्रभाग काँडाघारीमा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा दुई जना किशोरलाई पक्राउ गरिएको कार्कीले बताए।

पक्राउ पर्नेमा जिल्ला दोलखा कालिन्चोक गाउँपालिका-९ का १८ वर्षीय रञ्जित थामी र ओखलढुंगा टारकेराबारीका १५ वर्षीय विश्वास तामाङ रहेका छन्। उनीहरूलाई काँडाघारीस्थित लाहुरेचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उनीहरूको मोबाइलबाट जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको प्रमाणस्वरूप भिडियो र फोटो फेला परेको छ।

पक्राउ परेकाहरूविरुद्ध सार्वजनिक सम्पत्ति क्षति, आगजनी र आपराधिक उपध्रवको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।