गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एनडीपी जोड
काठमाडौँ। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) ले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको पहिलो वार्षिक साधारणसभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधिजस्ता ठूला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, एनडीपी भेन्चर तथा एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ।
साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले कम्पनीले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरुको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरु गरेको बताए।
उनले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरुको मनोबल खस्किएको र थप लगानीका लागि तयार हुन समय लाग्न सक्ने भएकोले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको उल्लेख गरे।
अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिका यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने भनाइ राखे।
“अहिले मुलुकको अर्थतन्त्र विशिष्ट अवस्थाबाट गुज्रिएको छ। बजारमा मागमा भएको कमीले आर्थिक गतिविधिहरु सुस्ताएका छन्। व्यवसायीहरुमा थप र नयाँ लगानी गर्ने आँट र मनोबल खस्किँदो छ। यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठूला र रणनीतिक उद्योग-व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सिर्जना गर्न सक्छौँ,” अध्यक्ष ढकालले भने।
उनले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट व्यापक चासो व्यक्त भएको बताए। “म हालै आईएमएफको एउटा कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुगेको थिए। त्यहाँ मसँगको भेटमा त्यहाँ रहेका नेपालीहरुको नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीबारे धेरै चासो राखेका थिए। यसअघि पनि विभिन्न देशमा पुग्दा धेरै नेपालीले यस कम्पनीबारे चासो राख्नुभएको छ। हामीले लगानीका लागि राम्रा परियोजनाहरु पहिल्याउँदै जानुपर्छ। धेरै स्वदेशी लगानीकर्ता तथा गैरआवासीय नेपालीहरुले यसमा लगानी गर्न तयार छन्,” उनले भने।
उनले यस कम्पनीले स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपालमा उद्योग-व्यवसाय स्थापना, सञ्चालन तथा विस्तार गर्न आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरुको पुन:उत्थान र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरुलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइने बताए।
अध्यक्ष ढकालले कम्पनीमार्फत लगानी गरी मुलुकको आर्थिक सम्मृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैरआवासीय नेपालीलाई आग्रह पनि गरे।
एक वर्षअघि स्थापना गरिएको यस कम्पनीको कुल पुँजी १० अर्ब रुपैयाँ छ। हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ सेयरधनी छन्।
यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठूला उद्यमी-व्यवसायी तथा गैरआवासीय नेपालीको समेत लगानीमा स्थापना गरिएको हो।
बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरुलाई समेटी राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामूलक इक्युटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो।
जसअनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघ र यिनमा आबद्ध सदस्यहरुलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो।