मुम्बई। दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको बैंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा नौजनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशका गभर्नरका अनुसार मन्दिरमा भक्तजनको भिडभाडका बीचमा भागदौड भएको हो । उनले भागदौडबाट ज्यान गुमाएकामा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरेको बताएका छन्।
यस अघि सेप्टेम्बरमा तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता-राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि ३६ जनाको मृत्यु भएको थियो। यसैगरी जुनमा ओडिसा राज्यमा भागदौड हुँदा तीनजनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए।
अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भेला भएका हजारौँ भक्तहरुबीच भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको थियो। यसैगरी जनवरीमा उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा ३० जनाको मृत्यु भएको थियो।