टिप्पणी
राजसंस्था पुनःस्थापनाको अभियानलाई जेन-जी आन्दोलनपछि ठूलो धक्का
सामाजिक र राजनीतिक विकासका लागि विभिन्न चरण पार गर्नुपर्ने हुन्छ। यसका लागि लामो समय लाग्छ। बेलायत, फ्रान्स, अमेरिकाको इतिहास हामीले पढ्यौँ भने धेरै उतारचढावपछि बल्ल केही स्थिरता आएको पाइन्छ। नेपाल पनि राजनीतिक विकासकै चरणमा भएकाले स्वाभाविक रूपमा केही उथलपुथल हुन्छ।
यस्तो उथलपुथलको प्रभाव राजनीतिक दलहरूमा पनि देखिन्छ। पुराना भनिएका दलहरू विभिन्न समयमा फुट, जुटको बाटोबाट यहाँसम्म आइपुगेका हुन्। यो प्रवृत्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका राजावादी दलहरूमा अझ बढी देखिन्छ। यस्तो किन भएको? त्यसको एउटा कारण छ।
दलको निश्चित ‘आइडियोलोजी’ अर्थात् विचारधारा हुन्छ। त्यही विचारधाराबाट राजनीतिक दल चल्छ। विचार र सिद्धान्तले नै पूर्वदेखि पश्चिमसम्मका मान्छेहरूलाई एउटा घेरामा बाँधेर राख्छ। आफ्नो दलको झन्डा बोकेको देख्नेबित्तिकै पहिले कहिल्यै नदेखेको व्यक्ति पनि आफ्नै मान्छेजस्तो लाग्छ।
‘प्रिन्सिपल’ र ‘पर्सनालिटी’ दुई कुराले दल कस्तो बन्छ भन्ने निर्धारण गर्छन्। दलहरूमा ‘प्रिन्सिपल’ वा विचार र सिद्धान्त हाबी हुनुपर्छ। जहाँ व्यक्ति र व्यक्तिवादी चरित्र हाबी हुन्छ त्यहाँ गुट-फुट भइहाल्छ।
कुनै पनि विचारधारामा आधारित दलभित्र मनमुटाव हुँदाहुँदै विचारले नै एकढिक्का राखिरहेको हुन्छ। व्यक्तिगत रूपमा कुरा नमिले पनि विचारधाराले छुट्टिन दिँदैन। तर, राप्रपाजस्ता दलहरूमा विचारधारा नै छैन। राजा फर्काउने भन्ने नारा मात्र छ। त्यो व्यक्तिवाद हो। जब विचार हुँदैन, त्यहाँ व्यक्तिको कुरा हुन्छ। व्यक्तिवाद हाबी भइसकेपछि त्यहाँ व्यक्ति व्यक्तिबीच टकराव हुनथाल्छ। राजावादीमा यही समस्या देखिन्छ।
राजावादीहरूमा विभिन्न सोच र स्वार्थका व्यक्ति मिसिएका छन्। त्यसभित्र कोही राणाहरू होलान्, उनीहरूमा यो देशमा हाम्रा पूर्वजले त शासन चलाएको हो भन्ने अहम् छ। उसको एउटा गुट बनिहाल्छ। अधिवेशनबाट वैधानिकरूपमा अध्यक्ष हुने मान्छेले मेरा कार्यकर्ता वा दलका सदस्यहरूको समर्थन छ भन्ने भइहाले। त्यस्तै, म त पहिले मन्त्री बनिसकेको, राष्ट्रिय पञ्चायतको अध्यक्ष भइसकेको हुँ भन्ने अहम् पाल्नेहरू हुन्छन्। त्यस्तो माहोलमा अलि धनी मान्छेले आफूलाई अरूभन्दा ठूलो ठान्छ, मेरो पुर्खा त यस्तोउस्तो हो भन्ने घमन्ड पाल्छ।
लोकतान्त्रिक विधि र कुनै राजनीतिक विचारधारा मान्ने भए पो त्यसले बाँध्छ। मानिसहरूमा व्यक्तिको ऐतिहासिक पृष्ठभूमि, पुर्खाका कुराले प्राथमिकता पाउँदा व्यक्ति व्यक्तिका गुट निर्माण हुन्छन्। जब हामी आधुनिक, उत्तरआधुनिक हुँदै जान्छौँ, परम्परागत कुरो त छोड्दै जानुपर्छ। आधुनिक युगमा त एउटा वंशमा जन्मेकै आधारमा शासक हुनुपर्छ भन्नु कदापि तर्कसंगत हुँदैन। राजा मान्ने भनेको त सामन्ती प्रथा मान्नु हो। राजा चाहिन्छ भन्नु मध्ययुगीन दर्शनको कुरा हो। कतिपय देशमा अहिलेसम्म राजा छन् नि भन्ने जुन तर्क गरिन्छ, त्यो अवशेष मात्र हो। खोलाको माथिल्लो भागमा सुकिसक्दा पनि केही समय तल पानी बगिरहेजस्तै हो। त्यसैले राजा र राजतन्त्र भन्नु, राजावादी हुनु भनेको परम्परागत सोच हो।
जनताका प्रतिनिधिहरू छनोट भएर संविधानसभाको बैठकले हटाइसकेपछि राजतन्त्र वैधानिक रूपमा समाप्त भइसक्यो। त्यस्तो संस्थाको पछि लाग्नु भनेको त त्यसमा विचारधारा छैन भन्ने नै बुझिन्छ। राजनीतिक विचारधारा नभएपछि एउटा व्यक्तिको एउटा गुट, अर्को व्यक्तिको अर्को गुट हुने नै भयो।
‘प्रिन्सिपल’ र ‘पर्सनालिटी’ दुई कुराले दल कस्तो बन्छ भन्ने निर्धारण गर्छन्। दलहरूमा ‘प्रिन्सिपल’ वा विचार र सिद्धान्त हाबी हुनुपर्छ। जहाँ व्यक्ति र व्यक्तिवादी चरित्र हाबी हुन्छ त्यहाँ गुट-फुट भइहाल्छ।
बल्खुमा भएको आन्दोलन अवलोकन गर्दा त्यहाँ जम्मा भएका मान्छेहरू नेताका कुरा सुन्नभन्दा आफ्नै रमाइलोमा व्यस्त देखिन्थे। त्यसैले आन्दोलन त्यति सजिलो कुरा होइन।
सामन्ती प्रवृत्तिको मानसिकताबाट आउनेले जनमत भन्ने कुरो थाहै पाउँदैन। उसले आफ्नो इतिहास जोड्न थाल्छ। आफ्नो वंशका, वर्गका कुरा गर्छ। अनि त्यहाँ व्यक्ति हाबी हुनथाल्छ। अहंकारको प्रदर्शन हुन्छ। पछिल्लो समय राजावादीहरूमा त्यही देखिन्छ। अरूलाई स्विकार्न नसक्नु राजावादीहरूको समस्या हो।
पछिल्लो समय राजावादीहरूले राजसंस्था पुन:स्थापनाको माग गर्दै विभिन्न समूह र गुट बनाएर सडक आन्दोलन गरे। यस क्रममा गणतन्त्रकालमा भएका गलत काम र जनताको असन्तुष्टिलाई देखाउँदै गणतन्त्रवादीहरूलाई गाली गरेर आन्दोलन तताउन प्रयास गरे। जनताको असन्तुष्टि बोकेर उनीहरू केही भीड जम्मा पनि गरे। गणतन्त्रवादीहरूले भ्रष्टाचार गरे, सुशासन दिएनन् भन्ने उनीहरूको भनाइ ठीक हो। गणतन्त्रवादीहरूका कमजोरी प्रशस्तै छन्। तर, आवेगले मात्र आन्दोलन चल्न सक्दैन भन्ने त १५ चैत २०८१ को राजावादी आन्दोलनबाटै देखियो। उक्त आन्दोलनमा हवाई फायर हुँदा सबैको भागाभाग भयो। त्यसपछि आन्दोलन नै तुहिएजस्तै भयो। राजावादीका अनेक गुट, कसले नेतृत्व गर्ने र को ठूलो नेता भन्ने छिनाझपटी देखिन थाल्यो। एउटा विचारधाराले बाँधेको आन्दोलन भए त्यस्तो हुँदैनथ्यो। आन्दोलन भनेको त संगठित हुनुपर्ने हो। तर, राजावादीको आन्दोलनलाई कुनै संगठन र नेतृत्वले बाँध्न सकेन।
२०४६ सालको आन्दोलनमा थुप्रै वामपन्थी थिए। सबै मिलेर वाम मोर्चा नामको एउटा संगठन बनाए। गैरवामपन्थीसमेत मिलेर अर्को पनि मोर्चा बन्यो। यसरी संगठित भएर जाँदा आन्दोलन लामो समय टिक्यो र सफलता पनि हासिल भयो। तर, यो २१औँ शताब्दीमा आएर राजा चाहियो भनेर आन्दोलन गर्दा तत्काल आवेगमा मान्छे त जम्मा होलान्, तर आवेगले आन्दोलन हुँदैन। यो समयमा राजावादी भएर आन्दोलन गर्दा सफल हुन्छ जस्तो लाग्दैन।
राजावादीको आन्दोलन हेर्दा मेलामा मान्छे जम्मा भएजस्तो देखिन्थ्यो। बल्खुमा भएको आन्दोलन अवलोकन गर्दा त्यहाँ जम्मा भएका मान्छेहरू नेताका कुरा सुन्नभन्दा आफ्नै रमाइलोमा व्यस्त देखिन्थे। त्यसैले आन्दोलन त्यति सजिलो कुरा होइन। राजावादीहरूले आन्दोलनपिच्छे नेता फेरेको देखियो। कसैसँग विश्वास नभएकाले त्यस्तो अवस्था आएको हो।
जेन-जी समूहभित्र कतिपय राजावादी पनि होलान्, तर असली जेन-जीहरू पुरातनवादी होइन, अग्रगामी हुन्छन्। उनीहरू लोकतन्त्रवादी, गणतन्त्रवादी हुन्छन्।
गत चैतमा विश्वविद्यालय र क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो। स्ववियु निर्वाचनमा पढेलेखेका युवा जमात र राजनीतिक विचारधारा बोकेकै मान्छेहरू सहभागी हुने हो। त्यहाँ राजावादीहरूले हामी राजावादी भनेरै स्वतन्त्ररूपमा पनि उम्मेदवारी दिनसक्थे, जित्नसक्थे। तर, त्यस्तो अवस्था देखिएन। जित्नेहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)मै आस्था राख्नेहरू थिए। त्यसबाट पनि देखिन्छ, राजावादीको आन्दोलन सफल हुन मुस्किल छ।
विचारधारा र ठोस आधार नभएकाले राजतन्त्र फर्काउने राजावादीको अजेन्डा यसै पनि संकटमा थियो, गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि उनीहरू झनै संकटमा देखिन्छन्। जेन-जी आन्दोलनपछि सरकारविहीनताको अवस्थामा राजनीतिक समाधानका लागि पहल गरेको सेनाले राजावादीलाई पनि ‘स्टेकहोल्डर’ मानेर राजसंस्था पुन:स्थापनाका अभियन्ता दुर्गा प्रसाईंलाई पनि छलफलमा बोलायो। तर, जेन-जीहरूले राजावादीलाई आन्दोलनको ‘स्टेकहोल्डर’ मान्न अस्वीकार गरेको खबर आयो। किनकि, जेन-जी पुस्ताको आन्दोलनभित्र राजा फर्काउने अजेन्डा थिएन, उनीहरूले आन्दोलनमार्फत खोजेको परिवर्तन राजतन्त्र पुन:स्थापना गर्नु थिएन।
जेन-जी आन्दोलनपछि मुलुकको सुरक्षा व्यवस्था कमजोर देखियो। त्यसैले पनि हुन सक्छ, आन्दोलन गर्न चाहने समूहहरू उत्साहित देखिन्छन्। राजावादी संगठनहरू पनि फेरि आन्दोलन गर्ने कुरा गरिरहेका छन्। पूर्वराजपरिवारकै सक्रियतामा दल खोल्ने चर्चा पनि सुनिन्छ। तर, जेन-जी आन्दोलनपछिको समय राजावादीका लागि त्यति सजिलो छैन। यो आन्दोलनपछि राजावादीको आकांक्षा र राजसंस्था पुन:स्थापनाको सम्भावना झन् पर धकेलिएको छ।
जेन-जी समूहभित्र कतिपय राजावादी पनि होलान्, तर असली जेन-जीहरू पुरातनवादी होइन, अग्रगामी हुन्छन्। उनीहरू लोकतन्त्रवादी, गणतन्त्रवादी हुन्छन्। जेन-जीको भावनालाई राजावादीले सम्बोधन गर्न पनि सक्दैनन्। त्यसमाथि राजावादीहरू आफैँमा एकमत छैनन्। शक्ति एकीकृत नभई आन्दोलन सफल हुनसक्दैन, त्यो आन्दोलन गर्ने रहर मात्र हुनसक्छ।
– श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका सहप्राध्यापक हुन्।