काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बातचित

स्थानीय कथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउन पनि कथा ‘युनिभर्सल’ बन्नैपर्छ। साथमा बलियो टिमको आवश्यकता पर्दछ।

१९ कार्तिक २०८२
निर्देशक एरिक भ्याली। तस्बिर : नवीन पौडेल/रासस
अ+
अ-

फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली नेपालको हिमाली समुदायको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन्। सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि नेपालमा निरन्तर काम गर्दै आएका छन्। भ्यालीले माथिल्लो डोल्पाको जीवन, संस्कृतिको सौन्दर्य र संघर्षलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा हिमालय :क्याराभान  चलचित्र निर्माण गरेका थिए। चलचित्र अस्कर अवार्डका लागि मनोनयनमा समेत परेको थियो।

उनले हनी हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसलगायत डकुमेन्ट्रीहरूसमेत निर्माण गरेका छन्। भ्यालीका फोटोहरू नेसनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रकाशनहरूमा प्रकाशित छन्।

नेपाललाई ‘दोस्रो घर’ मान्ने भ्याली केही वर्षयता तराईमा मनाइने छठ पर्वका बारेमा अभिरुचि राख्न थालेका छन्। भ्याली नेपाल आएको समय पारेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली संस्कृति, समाज र जीवनशैलीसँग लामो समयदेखि साक्षात्कार भइरहने गरी तपाईंलाई केले जोडिरहेको छ?

नेपाल मेरो ‘लभ एट फर्स्ट साइट’ हो। एक शब्दमा भन्दा, प्रेम। पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ। बनारसको बाटो हुँदै आएको याद छ। पदयात्रा गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ।

यहाँका आकर्षक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरू र ती घरपछाडि देखिने अद्भुत हिमालका दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो। झन्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले पहिलो नजरमै नेपालसँग मेरो माया बसेको थियो।

म फ्रान्सेली नागरिक हुँ। मेरो देश पनि राम्रो छ। धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाइपछि नेपालसँगको अनुभव मेरा लागि अद्भुत बन्न पुग्यो। नेपालमा अप्ठ्यारा र अनौठा बाटाहरू नै रोचक अनुभूति बन्यो। नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो।

तपाईंको फिल्म क्याराभान छायांकन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको साक्षात्कार कसरी सम्झनुहुन्छ? 

म सन् १९८१ तिर पहिलोपटक डोल्पा पुगेको थिएँ। विदेशीका लागि डोल्पा निषेधितजस्तै भएकाले सुरुमा सरकारले मलाई पनि प्रवेश अनुमति दिएन। तर, डोल्पा पुग्नेबित्तिकै मैले ‘कल्चर सक’ महसुस गरेँ। त्यो समय डोल्पो बाहिरी दुनियाँसँग अभ्यस्त थिएन। मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो। मेरो साथी थिन्ले (क्याराभानका मुख्य पात्र)को घरमा धेरै समय बसेँ, उनीसँग डोल्पा घुमेँ, बुझेँ। उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ। उनैले मलाई ‘डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने’ भन्ने सुझाव दिएका थिए।

त्यसपछि नै डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर हिमालय : क्याराभान निर्माण सुरु गर्‍यौँ। डोल्पावासीहरू ढुंगाबाट बनाइएका घरमा बस्थे, आफैँले बुनेका कपडा लगाउँथे। उनीहरूको जीवनशैली कठिन थियो, तर उनीहरू निकै बहादुर र परिश्रमी थिए।

धेरै खोज-अनुसन्धान गर्न सकिने ठाउँ हो– नेपाल। डोल्पा अध्ययन गर्न चाखलाग्दो ठाउँ थियो। त्यहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीका रूपमा सम्बन्ध विस्तार गरेँ। म अझै पनि उनीहरूसँग सम्पर्कमै छु।

एउटा प्रसंग सुनाइहालौँ। उत्तर डोल्पा यात्राका क्रममा मेरो जुत्ता च्यातियो। नयाँ जुत्ता बनाउन स्थानीयलाई भनेँ। याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद सम्झँदा मलाई अझै पनि रमाइलो लाग्छ। उनले भनेका थिए, ‘यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन, तर बनाउन सक्छु।’

मैले शुल्क सोधेपछि उनले भने, ‘४० पाथी पीठो दिनुहोस्।’

मैले उनलाई आफूसँग पीठो नभएकाले पैसा दिन्छु भनेँ। उनले भनेका थिए, ‘तिम्रो पैसाले केही गर्न सक्दिनँ, मलाई पीठो देऊ।’

अन्ततः मैले पीठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो। त्यो समय भिन्न थियो। र, म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ। त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो।

यो ५० वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ?

५० वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ। सडक पुगेपछि डोल्पो फेरिएको छ। त्यतिबेला चेप्टो छानो छाएका घरहरू देखिने डोल्पो सुक्खाजस्तो थियो। विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ। लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन्। नेपाली युवायुवतीहरू बिदेसिने प्रभाव डोल्पोमा पनि देखेँ। गाउँहरू रित्तिएका छन्। वृद्ध मात्र छन्।

विदेशी निर्देशकका रूपमा तपाईंलाई फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कतिको गाह्रो सजिलो थियो?

म पेसाले सिकर्मी, फिल्म मेरो रुचि थियो। विदेशी निर्देशकका रूपमा मैले अलि बढी दुःख गरेँ। म आफ्नो कामसँग मात्र होइन, यहाँको संस्कृति र समुदायसँग पनि उत्तिकै इमानदार छु। यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो। फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ। फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ। राम्रो स्क्रिप्ट लेख्नुपर्छ। क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ। गहन अध्ययनले आफ्नो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ।

निर्देशक एरिक भ्याली। तस्बिर : नवीन पौडेल/रासस

थिन्लेले भनेको अझै याद छ, ‘हाम्रो संस्कृति पनि हिउँजस्तै बिलाउँदै छ।’

मैले जवाफमा भनेको थिएँ, ‘फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदै छ।’

अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदै छ। हरेक संस्कृतिका विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता हुन्छ। किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ। डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो। वास्तवमै त्यो ठूलो दायित्व थियो। बहुत चुनौती र जटिलता थियो।

नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्म विश्व समुदायमा पुर्‍याउन तपाईंको सुझाव के छ? नवनिर्देशकहरूले के कुरामा ध्यान दिनुपर्छ?

हिमालय : क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृति झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ। तर, त्यसलाई विश्वव्यापी बनाउन, अन्तर्राष्ट्रिय दर्शकसम्म कसरी पुर्‍याउने भन्नेमा पनि उत्तिकै सचेत थिएँ। मैले ‘युनिभर्सल’ कथा नै निकाल्नुपर्ने थियो। फिल्ममा संस्कृति मात्र देखाउने हो भने त्यो संस्कृति बुझ्ने दर्शकमा सीमित हुन्छ। क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच पुस्तागत द्वन्द्वमा आधारित हो। त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको संघर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझ्ने र उनीहरूलाई आकर्षित गर्ने कुरा हो। क्याराभान निर्माण सानो मेहनतले सम्भव भएको हैन। समुदायबाटै पात्र छनोट गर्ने काम पनि महत्त्वपूर्ण थियो।

स्थानीय कथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउन पनि कथा ‘युनिभर्सल’ बन्नैपर्छ। साथमा बलियो टिमको आवश्यकता पर्दछ। क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन् होला। म स्वयंलाई अस्करमा पुग्ला भन्ने थाहा थिएन। मैले मेहनत गरेँ, मेहनतले त्यहाँसँम्म पुर्‍यायो।

हनी हन्टर्स पनि नेसनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक कथा थियो। किनभने, त्यो नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो।

तपाईंका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पार्‍यो होला जस्तो लाग्छ?

मेरा फिल्महरूले पक्कै पनि नेपालप्रति विश्वको ध्यान तान्न सफल भयो भन्ने मेरो बुझाइ छ। मलाई लाग्छ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ। नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ। मैले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्‍याउन, प्रचारप्रसारको काम गरेँ। यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरूसँग काम गर्नुपर्छ, जुन निकै महँगो हुन्छ।

नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवर्द्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन। क्याराभान अस्कर अवार्डमा पुग्यो। हनी हन्टर्स नेसनल जियोग्राफीमा कभर भयो। तर, यो देशप्रतिको प्रेम, सद्‌भाव र सत्कर्मका बावजुद मैले नेपाल सरकारबाट प्रवेशाज्ञा प्राप्तिमा पटक पटक समस्या खेप्दै आएको छु। तर पनि, नेपालीहरूको माया लाग्छ, नेपालको माया लाग्छ। मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ।