काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

मैले ‘स्पिनिङ किक’ हानेको मात्र के थिएँ, ऊ ड्याम्मै ढल्यो। त्यसपछि भने उसले दोस्तीको हात बढायो र आफूलाई तेक्वान्दो सिकाउन आग्रह गर्‍यो।

२२ कार्तिक २०८२
सन्नी बी केसी र इन्सेटमा अक्षय कुमारसँग हात मिलाइरहेका उनी। तस्बिर : बिक्रम राई
अ+
अ-

सन् १९९५ मा अमेरिकाको लस एन्जलसमा एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गरिरहेको थिएँ। एकदिन फ्याक्ट्री मालिकले जिस्क्याउँदै भने– तँ आफूलाई खुब अक्षय कुमारको साथी भन्छस्। ऊ भोलि स्राइन अडिटोरियममा कार्यक्रम गर्दै छ। तँलाई थाहै छैन।

मालिकको मूलघर मुम्बई, सिन्धी परिवारका सदस्य। भारतबाट कुनै कलाकार आयो कि उनलाई पहिल्यै थाहा भइहाल्थ्यो। मलाई जिस्क्याउने मौका पाइहाले। मालिकको कुरा सुनेपछि मलाई साथीभाइका अगाडि अलि ‘पिन्च’ भयो, लज्जाबोध पनि ।

अर्का नेपाली विजय निरौला पनि लस एन्जलसमै थिए । भोलिपल्ट उसैलाई लिएर अडिटोरियमतर्फ लागेँ। स्राइन लस एन्जलसको प्रख्यात थिएटर हो, जहाँ माइकल ज्याक्सनदेखि म्याडोनासम्मले कन्सर्ट गरिसकेका छन्।

सलमान खान, रविना टण्डन, मनीषा कोइराला, उदित नारायणजस्ता कलाकारको प्रस्तुति रहेको कार्यक्रम हेर्न अमेरिकामा रहेको भारतीय समुदाय पूरै उल्टिएको थियो। सुरक्षाकर्मीलाई भिड व्यवस्थापन गर्न हम्मे-हम्मे परिरहेको थियो।

अक्षयले अभिनय गरेका खिलाडी मोहराजस्ता फिल्म हिट भइसकेका थिए। ‘फ्यान फलोअर्स’ बढ्दै थिए। मोहराको सफलतापछि अक्षय र रविनाको ‘अफेयर’ लाई लिएर बलिउड पनि तातेको थियो।

यस्तो अवस्थामा पनि मेरो ध्यान साहुजीको त्यही कुरामा गएर अडियो। साथीभाइलाई देखाउन पनि मलाई अक्षयसँग भेट्नैपर्ने बाध्यता भयो। मैले गेटअगाडि उभिएका अश्वेत सुरक्षाकर्मीसँग आग्रह गरेँ– मलाई अक्षयसँग भेट्नु छ।

अहिले सम्झिँदा पनि हाँसो उठ्छ– उसलाई अक्षय कुमार भनेको को हो भन्ने थाहा थियो होला र? तर, बुझेजस्तै गरी उसले सुझाव दियो– अगाडिबाट कलाकारलाई भेट्न सहज छैन। थिएटरको पछाडिको बाटोतर्फ जाऊ।

कलाकारका लागि स्टेज प्रवेश गर्न पछाडिको ढोका खुला गरिएको रहेछ। सबैजना मजस्तै त हुन् नि! पछाडि पनि मान्छेहरूको भिड उत्तिकै।

यसै त म होचो मान्छे, भिडमा त्यसै बिलाएँ। मलाई लाग्यो– भिडबीचमै उभिने हो भने अक्षयले मलाई कसरी देख्ला? जुक्ति लगाएँ– थिएटरको ढोकातर्फ जाने सिँढीमाथि चढेर अक्षयको प्रतीक्षा किन नगर्ने?

सन्नी बी केसी। तस्बिर : बिक्रम राई

नभन्दै एकछिनपछि एउटा लेमोजिन गाडी अडिटोरियमको गेटअगाडि रोकियो। गाडीबाट सलमान खान उत्रिए। अहो! सलमानको क्रेज। उनलाई समात्न केटीहरू धक्कामुक्की गरिरहेका थिए। आफूलाई जोगाउन उनी दौडिए। तर, मेरो ध्यान त अक्षयसँग भेट्ने कुरामा थियो। कसरी सम्भव होला त? म यही सोचमा डुबिरहेको थिएँ। यति नै बेला अक्षयको ‘इन्ट्री’ भयो।

त्यतिखेर अक्षयले अभिनय गरेका खिलाडी मोहराजस्ता फिल्म हिट भइसकेका थिए। ‘फ्यान फलोअर्स’ बढ्दै थिए। मोहराको सफलतापछि अक्षय र रविनाको ‘अफेयर’ लाई लिएर बलिउड पनि तातेको थियो। यही चर्चाबीच उनी रविनाको हात समातेरै गाडीबाट उत्रिए। उनलाई छुन पनि धक्कामुक्की सुरु भयो। दर्शकको भिडबाट उनीहरूलाई जोगाउँदै सुरक्षाकर्मी जसै थिएटर पछाडिको बाटोतर्फ मोडिए, म टाढैबाट कराएँ– राजीव।

त्यो भिडमा आफ्नो पुरानो नाम सुनेपछि अक्षयलाई पनि अनौठो लाग्यो क्यारे। उसले यताउति टाउको हल्लायो। एकैछिनमा उसको आँखा मेरो आँखामा अडियो। त्यसपछि लस एन्जलसको त्यो अडिटोरियममा जुन घटना भयो, त्यसको साक्षी त्यहाँ उपस्थित सबै भए। घेरिएको आफ्ना फ्यानबीचबाटै ऊ पनि करायो– सन्नी बी।

उसले रविनाबाट आफ्नो हात छुटायो र दौडिँदै दुई हातले च्याप्प समातेर गेम जितेर कप उचालेझैँ मलाई माथि उठायो र करायो– सन्नी बी! मेरा दोस्त!!

म त्यतिबेला २०-२१ वर्षको लक्का जवान। तातो खुन। चुनौतीलाई किन नाइँ भन्थेँ र! बल्लुलाई भन्दिएँ– म तयार छु। स्थान र समय उसैले निर्धारण गरोस्।

लगत्तै रविना र मेरो हात च्याप्प समातेर थिएटरभित्र प्रवेश गर्‍यो। यसपछि सोध्न थाल्यो– अरे यार! कहाँ छस्?

मैले भनेँ– यहीँ लस एन्जलसमा।

त्यसपछि उसले भन्यो– सायद तँसँग यो अन्तिम भेट हुनसक्छ। भोलि नै क्यानडा जानु छ। उसले त्यहीँ उभिएकी एउटी महिलालाई फोटो खिच्न लगायो र आयोजकलाई बोलाउँदै मेरा लागि भीआईपी पास उपलब्ध गराउन आग्रह गर्‍यो।

मैले भनेँ– मसँग अर्को साथी पनि छ। दुईवटा पास दिने भए मात्र बस्छु। नभए फर्किन्छु।

उसले दुईवटै पास उपलब्ध गरायो। मैले र विजयले स्राइन अडिटोरियमको अघिल्लो सिटमै बसेर पूरै सो हेर्‍यौँ।

सन्नी बी केसी। तस्बिर : बिक्रम राई

अक्षयसँग मेरो पहिलो भेट सन् १९८८ मा बम्बईको जुहुस्थित समुद्री किनारमा भएको थियो। त्यो पनि मार्सल आर्टस्‌को भिडन्तमा। त्यतिबेला ऊ बैंककमा मुआथाईको ट्रेनिङ सकेर भर्खरै फर्किएको रहेछ। कलाकार बन्न मुम्बईमा संघर्षरत थियो।

म ‘निन्जा रेजर’ को विज्ञापन गरेर चर्चामै थिएँ। मिथुनलगायत केही कलाकारसँग अभिनय गर्न पनि भ्याइसकेको। जुहुमा राम्रै नाम थियो। दारा सिंह मलाई देखेर पीठ थपथपाउँथे।

मार्सल आर्टस् अभ्यास गराउन एकाबिहानै सात बंगलाको बिच जाने, दिउँसो काम खोज्न फिल्म निर्देशकहरूको घर घर धाउने र साँझ बम्बईकै कलेजहरूमा मार्सल आर्टस् सिकाउने। मेरो दिनचर्या यस्तै थियो।

मसँग मार्सल आर्टस् सिक्नेमा बलवीर पनि थियो, उसलाई हामी बल्लु भन्थ्यौँ। एकदिन उसले भन्यो– लाेखण्डवालामा राजीव भाटिया नाम गरेको एउटा केटा बस्छ। बैंककबाट मार्सल आर्टस्‌को तालिम गरेर आएको भन्छ। उसले तँसँग फाइट गर्छु भनेर च्यालेन्ज गरेको छ।

म सात बंगलामा बस्थे। त्यसको केही अगाडि लोखण्डवाला ।

म त्यतिबेला २०-२१ वर्षको लक्का जवान। तातो खुन। चुनौतीलाई किन नाइँ भन्थेँ र! बल्लुलाई भन्दिएँ– म तयार छु। स्थान र समय उसैले निर्धारण गरोस्।

भएको के रहेछ भने, मैले अभ्यास गर्ने सात ब‌गला बिचभन्दा केही टाढा ऊ बिहान अभ्यास गर्दो रहेछ। मेरो नाम सुनेर उसलाई डाहा पनि भएको रहेछ।

प्रस्ताव आयो– आफैँले अभ्यास गर्ने बिचमा भिड्ने।

भोलिपल्टै बल्लुलाई लिएर फाइट गर्ने ठाउँ पुगेँ। त्यहाँ हाम्रो भिडन्त हुँदै छ भनेर डेढ/दुई सय मानिस जम्मा भइसकेका रहेछन्। ऊ मभन्दा अग्लो रहेछ।

हामीबीच परिचय भयो।

उसले भन्यो– हाई! म राजीव।

मैले पनि भनेँ– म सन्नी।

भेटमा उसले आफू बैंककबाट मुआथाई सिकेर आएको बताउन भुलेन। म पनि पाल्पामा जन्मिएर, काठमाडौँमा तेक्वान्दो सिकेर बम्बईमा कलाकार बन्न हान्निएको मान्छे। २०३८ सालतिर नेपालमा सेना र प्रहरीलाई मार्सल आर्टस् सिकाउन दक्षिण कोरियाबाट प्रशिक्षक आएका बेला मैले पनि प्रशिक्षण गर्ने अवसर पाएको जो थिएँ।

फाइट खेल्नुअघि हामीबीच एउटा सहमति बनेको थियो– कम्मरमुनि र गर्दनमाथि किक प्रहार नगर्ने। सुरुमा कडा भिडन्त भयो। ऊ किक राम्रो हान्थ्यो।

एक्कासि उसले मलाई कम्मरमुनि थाईमा प्याट्ट हान्यो।

मैले कडा प्रतिक्रिया जनाएँ– कम्मरमुनि नहान्ने सहमति भएको थियो। तैँले किन खुट्टामा हानिस्?

उसले कुनै प्रतिक्रिया जनाएन। विजेताजस्तै फिस्स हाँस्यो मात्र।

उसले नियम तोड्छ भने मलाई केको टाउको दुखाइ? मैले पनि ‘स्विच किक’ हानेँ। मेरो किक उसले थाम्न सकेन। ड्याम्मै लड्यो।

यसपछि जुहुभरि हल्ला चल्यो– सन्नीने राजीवको ‘किक ब्याग’ बनादिया।

केही छिनपछि उडेर ‘स्पिनिङ किक’ हानेको मात्र के थिएँ, घाँसको चिप्लोमा खुट्टाको ग्रिप राम्रोसँग राख्न सकेन, फेरि ड्याम्मै ढल्यो।

त्यतिबेला जुहुमा एउटा जिम हल चर्चित थियो, बानाज। त्यहाँ बलिउडका स्टार कलाकारदेखि धनाढ्यहरू एक्सरसाइज गर्न आउँथे। बल्लुले जिममा गएर पनि हल्ला गरेछ। अहिले सलमान खानका बडिगार्ड शेरू पनि जिम गर्न त्यहीँ पुग्थ्यो। अक्षयसँग उसको राम्रो दोस्ती थियो। उसले अक्षयलाई सुनाइदिएछ– तेरो पूरै बेइज्जत भइरहेको छ। जिम हलभरि सन्नीले तँलाई पिटेको हल्ला चलिरहेको छ।

बलिउडमा करिअर बनाउने अभियानमा रहेको अक्षयका लागि यो खबर प्रिय थिएन। दुई दिनपछि मेरो डेरा खोज्दै बिहान ५ बजे नै कोठामा आइपुग्यो।

म मस्त निद्रामा थिएँ। उठाउँदै भन्यो– हिँड्, फेरि फाइट गर्न। म त अक्क न बक्क परेँ।

के भएछ यसलाई? मेरो दिमागमा यही कुरा खेलिरहेको थियो।

धेरै जिद्दी गरेपछि मैले पनि उठ्दै भनेँ– ठीकै छ। भिड्ने भए हिँड्, म पनि तयार छु।

सन्नी बी केसी। तस्बिर : बिक्रम राई

हामी त्यहीनजिकै घाँसे मैदानमा भिड्न गयौं। पानी राम्रै परिरहेको थियो। मैदान ओसिलो थियो। रिसको झोकमा उसले मलाई लगातार किक बर्सायो। म किक रोक्न सफल भएँ। केही छिनपछि उडेर ‘स्पिनिङ किक’ हानेको मात्र के थिएँ, घाँसको चिप्लोमा खुट्टाको ग्रिप राम्रोसँग राख्न सकेन, फेरि ड्याम्मै ढल्यो।

त्यसपछि भने उसलाई महसुस भएछ क्यार, मार्सल आर्टस्‌मा म ऊभन्दा माथि छु भनेर। उसले दोस्तीको हात बढायो र आफूलाई तेक्वान्दो सिकाउन आग्रह गर्‍यो।

ऊ त्यतिबेलैदेखि ‘राउन्ड किक’ राम्रो हान्थ्यो। तर, अरू किक राम्रो थिएन।

त्यसपछि मैले उसलाई तेक्वान्दो सिकाउन थालेँ। ऊ कहिले मेरो डेरा आउँथ्यो, कहिले म उसको घर धाउँथे। उसका बुवाको एउटा पुरानो फियाट गाडी थियो। बुवाले नै हामीलाई गाडीमा जुहु छोडिदिनुहुन्थ्यो।

ऊ फिल्ममा स्थापित हुन कहिले आशा चन्द्रको अभिनय कक्षा त कहिले रघुवीरको डान्स कक्षा पुग्थ्यो। ऊसँग हिँड्दा मैले पनि अभिनय सिक्ने मौका पाएँ। ऊ फोटो सुटका सबै फोटो मलाई देखाउँथ्यो।

अहिले बम्बई गएका बेला ऊसँग भेट हुन्छ। ऊ पुरानो कुरा गरेर कहिल्यै थाक्दैन। नयाँ मान्छेलाई मेरो परिचय गराउँदा जिस्किएर भन्ने गर्छ– मेरो मार्सल आर्टस्‌को साथी।

फिल्ममा ‘ब्रेक’ नपाएपछि एकदिन उसका बुवाले भन्नुभयो– तेरो जिन्दगी यसरी नै बित्ने भयो। फिल्ममा सफल भइनस् भने जिन्दगी चलाउन अर्को बाटो पनि रोज्नुपर्ने हुन्छ। अर्को काम पनि सिक्।

यसपछि उसले मार्सल आर्टस्‌लाई गम्भीरतापूर्वक लियो। उसले भन्यो– हेर सन्नी, म ब्ल्याक बेल्ट होइन। मलाई सहयोग गर्। म पनि मार्सल आर्टस् सिकाउन चाहन्छु।

उसलाई मैले जानेजति सबै सिकाएँ। काता पनि सिकाएँ। उसले पनि खुब मिहिनेत गर्‍यो।

सन् १९९२ मा  हलिउड स्टार चकनेरिजका चेला जोर्ज ब्रुन्टनले मलाई अमेरिका आउने निम्तो गरे। बम्बईका लागि उसै पनि म ‘आउटसाइडर’। काम राम्रै पाइरहेको थिएँ। मार्सल आर्टस्‌को ट्रेनिङबाट कमाइ पनि भइरहेकै थियो। तर, अमेरिकाको प्रस्ताव आएपछि मलाई बलिउड होइन, हलिउडको चस्काले छोयो। प्रयास किन नगर्ने? यही सोचेर अमेरिकातर्फ लागेँ।

अमेरिका जानुअघि अक्षयसँग बिदा माग्न म फिल्मीस्तान स्टुडियो पुगेको थिएँ। त्यतिबेला उसले दुईवटा फिल्ममा काम पाइसकेको थियो। तर, सफल हुन सकिरहेको थिएन। तेस्रो फिल्म खिलाडीको सुटिङमा व्यस्त रहेको बेला ऊ भेट्न आयो र भन्यो– तैँले सिकाएको ‘जम्प स्पिनिङ किक’ छ नि, त्यो प्रयोग गरेको छु।

छुट्टिने बेला हामीले अंकमाल गर्‍यौँ। मलाई भने नरमाइलो लागिरहेको थियो।

अहिले बम्बई गएका बेला ऊसँग भेट हुन्छ। ऊ पुरानो कुरा गरेर कहिल्यै थाक्दैन। नयाँ मान्छेलाई मेरो परिचय गराउँदा जिस्किएर भन्ने गर्छ– मेरो मार्सल आर्टस्‌को साथी।

केसीसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित