काठमाडौं। एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा एकैसाथ पाउँछन्।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बिमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बिमा सुविधा पनि प्राप्त हुन्छ।
दुई प्याकेजमा पहिलोमा करसहित ९९ रुपैयाँको प्याक छ। तीन दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, दुई लाख रुपैयाँबराबरको म्यादी जीवन बिमा र दुई लाख रुपैयाँबराबरको घातक रोग बिमा पाइन्छ। यो बिमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।
दोस्रोमा ३९ रुपैयाँको प्याक छ। यो प्याकमा ग्राहकले तीन दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँबराबरको म्यादी जीवन बिमा र ५० हजार रुपैयाँबराबरको घातक रोग बिमा पाउँछन्। यो बिमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।
ग्राहकले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बिमाका लागि एउटा फाराम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्छन्। यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ। प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बिमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ। विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्त्व राख्दछ। सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बिमा सुविधासहितको “डाटासँगै जीवन बिमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ।
“मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बिमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं। यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बिमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ। आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले भने, “मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं। यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।”