काठमाडौँ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका सुर्खेतको वीरेन्द्रनगर–११ पिपिराका ३५ बर्षीय गंगे सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालले उनलाई मृत घोषणा गरेको हो। बिहान ५ः५८ बजे उनी सुतेको ओछ्यानमै बेहोस अवस्थामा थिए।
“उनीसँगै सुतेका साथीहरुले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिएन, हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको छ।” डिएसपी बुढथापाले भने।
उनका अनुसार उनको मृत्युपछि हिरासतमा जडान गरिएको सिसीटिभी फुटेज हेरिएको छ। फुटेजमा सुत्नुअघि वाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए। उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरुले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ।
उनी ७८ दिनदेखि हिरासतमा रहेको डिएसपी बुढथापाले बताए । चार दिनअघि सरकारी वकील कार्यालयमा मुद्दा गएको थियो। शुक्रबार उनको मुद्दामा पेशी थियो।