२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रतिमा गौतमले जेन-जी आन्दोलनले देखाएको असन्तोष र पार्टीभित्र विशेष महाधिवेशनको माग दुवैलाई नेपाली कांग्रेसले अवमूल्य गर्न नमिल्ने बताएकी छन्। उनले यी सन्देश बेवास्ता गरेमा संगठनभित्रको जनविश्वास पनि गुम्ने जोखिम रहेको समेत बताइन्।

गौतमले पार्टीभित्र गम्भीर राजनीतिक हलचल देखिएको भन्दै करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू अर्थात् २ हजार ४८८ जनाले विशेष महाधिवेशन माग्दै गरेको हस्ताक्षर सामान्य अभियान नभएको पनि बताइन्। “यो पार्टीभित्रको असन्तुष्टि, नयाँ राजनीतिक दिशा खोज्ने चाहना र लोकतान्त्रिक अभ्यासप्रतिको आकांक्षाको अभिव्यक्ति थियो‚” उनले बैठकमा भनिन्।

गौतमले पार्टीको महाधिवेशन नगरी संसदीय चुनावमा जान नहुने स्पष्ट माग पनि व्यक्त गरिन्। “मंसिरभित्रै महाधिवेशन सम्पन्न गरी नयाँ जनादेश लिएर मात्र देशको जनादेश लिन चुनावी मैदानमा जानुपर्छ। त्यस समयमा नभ्याउने हो भने महामन्त्रीले प्रस्ताव गरेको पुस १६ देखि १९ सम्म महाधिवेशन गर्न सकिन्छ‚” उनले भनिन्।

उनले विशेष वा नियमितमध्ये एक विकल्पमा गएर मात्रै संसदीय चुनावमा पार्टीलाई लैजानुपर्ने पनि बताइन्। “महाधिवेशन नगरी चुनावमा जाने बहाना खोज्नु हुँदैन। पुरानै नेतृत्वले अस्थायी रूपमा चुनावमा जान खोज्नु नेतृत्व संक्रमणलाई अनिश्चित बनाउने र संगठनलाई कमजोर पार्ने गल्ती हुनेछ‚” उनले भनिन्।

उनले पार्टी सुधारका लागि चार बुँदामा प्रस्तावसमेत प्रस्तुत गरिन्।

जसमा नेपाली कांग्रेसले ०४६ सालपछि पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्वन गर्नुपर्ने‚ युवापुस्तालाई नेतृत्वमा ल्याउने स्पष्ट नीति र अवसर दिनुपर्ने र दलभित्रको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै जनविश्वास पुनःस्थापित गर्नुपर्ने रहेको छ।