काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

अहिलेको व्यवस्था र दलले गरेको शासनबारे सोध्नुभयो भने म भन्छुः यो धेरै गुण र क्षमताले युक्त छ। नभएको त सदाचार, नैतिकता, कुशलता, जाँगर, इमानजमान र लोकलाज मात्र हो।

२३ कार्तिक २०८२
मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत इलाम नगरपालिका-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलामा निर्माण गरिएको काठको पुल। तस्बिर : रामकुमार लिम्बू/रासस
अ+
अ-

२०५१/५२ सालतिर एक मन्त्रीले पत्रकार तीर्थ कोइरालासँग फोनमा कुरा गरेछन्।

– हाम्रो सरकारबारे मानिस के भन्छन्?
– आम मानिसका विचारमा यो सरकार ३२ मध्ये ३१ वटा क्षमताले युक्त छ, एउटा क्षमता अपुग छ।
– त्यो अपुग क्षमता कुन हो?
– बुद्धि।

२४ भदौसम्म सञ्चारमाध्यममा एउटा कुरा बारम्बार दोहोरिँदै आएको थियो- नेपालमा प्रगति भएको भयै छ, निराशा बाँडेर जीविका चलाउनेहरू प्रगति भएन भनेर हल्ला गर्छन्। प्रजातन्त्रले, गणतन्त्रले, लोकतन्त्रले र यस अवधिका सरकारले हरेक क्षेत्रमा प्रगति ल्याएका छन्।

अहिले पनि अलि सानो स्वरमा यसै भनिँदै छ।

प्रगति भएका कुराको प्रमाणस्वरूप २०४६ सालमा पञ्चायती व्यवस्था हुँदासम्मको र अहिलेको भौतिक र अन्य क्षेत्रको विकासका आँकडा देखाइन्छ। जस्तै, पहिले थोरै नेपालीले मात्र टेलिफोन सुविधा पाएका थिए। राणाकालमा मात्र होइन पञ्चायतकालमा पनि इन्टरनेट थिएन। अहिले मान्छेका हातहातमा टेलिफोन छ। विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा पनि टेलिफोन र फोरजी इन्टरनेट सेवा पुगेको छ। पहिले सरकारलाई खबरदारी गर्नुपर्दा पर्चा छापेर बाँड्नुपर्थ्यो। यसो गर्दा सरकारले मान्छे पहिचान गरेर पक्राउ गर्थ्यो, जेल हाल्थ्यो। अहिले घर बसी बसी सामाजिक सञ्जालमार्फत (त्यो पनि बेनामे भएर समेत) आफ्नो विरोधको स्वर संसारका जुनसुकै कुनामा करोडौँ मानिससम्म पुर्‍याउन सकिन्छ। पहिले पर्चा छापेर थोरै मानिससम्म आफ्ना कुरा पुर्‍याउन जति खर्च लाग्थ्यो, अहिले त्यसको सानो भाग पनि खर्च नगरी लाखौँ मानिससम्म कुरा पुर्‍याउन सकिन्छ।

हो, पहिलेभन्दा सजिलो भएको छ। म मान्छु। तर यो प्रगतिका लागि जुन जुन सरकारलाई, जुन जुन शासन प्रणालीलाई जस दिइएको छ, तिनको हात छैन। कांग्रेस, एमाले र माओवादीको शासन नभएका, प्रजातान्त्रिक शासन प्रणाली नभएका देशमा पनि यस्तो प्रगति र विकास भएकै छ। उत्तर कोरियाजस्ता केही देशबाहेक।

यस्ता कुराले नेपालको इतिहासमा भएका केही प्रगति सम्झाउँछन्। तीमध्ये केही हुन्:

राणाशासनको जग बसाउने श्री ३ जंगबहादुरले नेपालमा प्रिन्टिङ प्रेस ल्याए। उनले बेलायत भ्रमणबाट फर्कँदा विसं. १९०८ मा ल्याइएको उक्त प्रेस देशकै पहिलो छापाखाना हो। यो काम यसअघि कसैले गरेको थिएन। कुनै पनि समाज र देशको विकासका लागि प्रेसको ठूलो महत्त्व हुन्छ। त्यसैले जंगबहादुर महाराजका पालामा प्रगति भएको थियो।

पछि श्री ३ महाराज वीर शमशेरले देशको शासनभार सम्हाले। उनले वीर अस्पताल खोले। त्यहाँ बिरामीलाई नि:शुल्क आधुनिक उपचारको व्यवस्था मिलाए। यसअघि नेपालमा यस्तो कहिल्यै भएको थिएन। यसअघि त राजा-रंक सबैले ठीकठीकै ज्ञान भएका वैद्य र धामीझाँक्रीमा भर पर्नुपर्थ्यो।

उनै वीर शमशेर महाराजले पहाडी खोलाको निर्मल पानी पाइपमा ल्याएर त्यसलाई शुद्ध बनाएर पहिले काठमाडौँका र पछि भक्तपुरका मानिसलाई खुवाए। यो काम सजिलो थिएन। काठमाडौँका मानिसलाई पानी खुवाउन ६ लाखभन्दा धेरै रुपैयाँ र ६ लाख २० हजार रुपैयाँ कुल्ली खर्च गर्नुपरेको थियो। खानेपानीका लागि चाहिने सामान २९ माइलसम्म मानिसले बोक्नुपर्थ्यो। यसरी काठमाडौँमा पानी ल्याउने काम यसअघि जयप्रकाश मल्ले पनि गरेका थिएनन्। पृथ्वीनारायण शाहले पनि गरेका थिएनन्। भीमसेन थापाले पनि गरेका थिएनन्। यसअघि सफा पानी खान नपाएकाले हैजा फैलिएर बर्सेनि १२-१५ सय मानिस अकालमा मर्नुपर्थ्यो।

उनीपछि देव शमशेर श्री ३ महाराज भए। छोटो समयमै उनले दुनियाँलाई शिक्षा दिन स्कूल खोल्ने अभियान थाले। यसअघि दुनियाँका छोराछोरीले पढ्न पाउँदैनथे। देव शमशेरले सातामा एक पटक गोरखापत्र छाप्ने व्यवस्था मिलाए। नेपालमा यसअघि पत्रिका निस्केकै थिएन। उनले आफूभन्दा पहिलेका राजामहाराजाहरूले गर्न नसकेका वा नचाहेका प्रगतिशील काम गरे।

उनीपछिका महाराज श्री ३ चन्द्र शमशेरले फर्पिङ वरपर यत्तिकै खेर गइरहेको पानीबाट बिजुली निकालेर शहरका केही ठाउँ झलमल पारे। यसअघि दुनियाँले बिजुलीबत्ती देखेका थिएनन्। बिजुलीबत्तीको कुरा सुनेका पनि थिएनन् होला।

चन्द्रशमशेरको पालामा बनेको फर्पिङ जलविद्युत् केन्द्र (चन्द्र ज्योति) को जलाशय। तस्बिर सौजन्य : अस्मित राजभण्डारी/द थर्ड पोल

उनै चन्द्र शमशेर महाराजले धुर्सिङदेखि काठमाडौँसम्म बिजुलीले चल्ने रोप-वे चलाए। यसले काठमाडौँ आउने सामान बोक्थ्यो। यसअघि यी सामान थाप्लामा बोकेर मानिसले दुईवटा अग्ला डाँडा उक्लनु र ओर्लनुपर्थ्यो।

उनैले अमलेखगन्जसम्म रेल ल्याए। यसअघि नेपाल र आम नेपालीले रोप-वे अनि रेल देख्न पाएका थिएनन्।

तिनै महाराजले नेपालमा चलेका सती र दास जस्ता क्रूर र अमानवीय प्रथा हटाए। मानवअधिकार क्षेत्रमा यो अति नै महत्त्वपूर्ण उन्नति थियो। यसअघिका कुनै राजामहाराजाले यसो गर्ने हिम्मत गरेका थिएनन्। नेपाललाई स्वतन्त्र देशका रूपमा मान्यता दिलाउने कामको जस पनि यिनै महाराजलाई जान्छ।

उनीभन्दा अलि पछि श्री ३ महाराज बनेका पद्म शमशेरले नेपाल र नेपालीलाई विधिवत् शासन गर्ने विधान दिए। तर नेपाली यस्तो उन्नति र प्रगतिसँग सन्तुष्ट भएनन्। राणाशासनको अन्त्य गर्न उठे।

त्यसपछि सात/आठ वर्षको अस्थिरता र डेढ वर्षको संसदीय व्यवस्था हुँदै पञ्चायती व्यवस्था आयो।

अहिलेको प्रगति देखेर चित्त बुझाउनु भनेको भौतिक प्रगतिलाई प्रगति ठान्नु हो। यस्तो काम उत्तर कोरिया र चीनको जस्तो शासन व्यवस्थामा ठीकै होला। प्रजातान्त्रिक देशमा देश अथवा समाजमा प्रगति भएको छ कि छैन भनी जान्न अरू कुरा पनि हेर्नुपर्छ।

कालरात्रि भनिएको पञ्चायती व्यवस्थाका पक्कासच्चा पञ्चहरूले त्यतिवेला जताततै विकासै विकास गरेको प्रचार गरेका थिए। पञ्चायत रजत जयन्ती (विसं. २०१७ – २०४२) को उपलक्ष्यमा पुस २०४३ मा निकालिएको पञ्चायत स्मारिका नामको ठूलो आकारको (६७ सेमी चौडाइ, ४५ सेमी लम्बाइ र ४६० पेज) किताबमा देखाइएका केही प्रगति यस्ता थिएः

  • २०१८ /१९ मा सात हजार ७५० पर्यटक नेपाल आएकोमा २०४१/४२ मा एक लाख ८० हजार ९८९ पुगेबाट पर्यटन प्रवर्द्धन गर्ने कार्यमा आशातीत (आशा गरेभन्दा धेरै) सफलता हासिल हुन सकेको देखिन्छ। (२५ वर्षमा १० गुणा)
  • २०१७/१८ मा १ करोड १० लाख किलोवाट प्रतिघण्टा विद्युत् शक्ति उत्पादन भएकोमा २०४१/४२ मा करीब ३८ करोड लाख किलोवाट घण्टा उत्पादन भएको थियो। (२५ वर्षमा ३५ गुणा)
  • २०१७ सालमा देशभर केवल एक हजार १९८ किलोमिटर सडक भएकोमा २०४१/४२ मा पाँच हजार ९२५ किलोमिटर पुगेको थियो। (२५ वर्षमा ५ गुणा)

आफूले २५ वर्षमा गरेका उन्नति देखाउने किताब छापेको पञ्चायती व्यवस्थाले त्यसपछि पाँच वर्ष पनि देख्न पाएन। चार वर्ष नपुग्दै कांग्रेस र कम्युनिष्टको नेतृत्वमा नेपाली जनताले पञ्चायती व्यवस्था फाले।

मानिस सुतेर बसे पनि, जाँड खाएर बरालिए पनि, डकैती गर्दै हिँडे पनि र मानिसलाई तथानाम गाली गर्दै हिँडे पनि उसको उमेर बढ्छ, बढ्छ। उमेरले प्रगति गर्छ, गर्छ। त्यस्तै स्वतः वा अरूले गरिदिएवापत (जस्तै, नेपालमा इन्टरनेट र मोबाइल फोन सेवामा भएको प्रगति) हुने प्रगति देखेर चित्त नबुझाउने प्रवृत्ति मानिसको छ।

अर्को कुरा, अहिलेको प्रगति देखेर चित्त बुझाउनु भनेको भौतिक प्रगतिलाई प्रगति ठान्नु हो। यस्तो काम उत्तर कोरिया र चीनको जस्तो शासन व्यवस्थामा ठीकै होला। प्रजातान्त्रिक देशमा देश अथवा समाजमा प्रगति भएको छ कि छैन भनी जान्न अरू कुरा पनि हेर्नुपर्छ। जस्तै,

  • त्यस देशका शासकले जनतालाई कस्तो व्यवहार गरेका छन्?
  • उनीहरूको आचरण प्रजातान्त्रिक छ कि छैन?
  • देश र समाजलाई असर पार्ने निर्णय र आर्थिक कारोबार गर्दा उनीहरू पारदर्शी छन् कि छैनन्?
  • शासन व्यवस्थाका खम्बा विधायिका, कार्यपालिका र न्यायपालिकाले जे काम जसरी गर्नुपर्ने हो, त्यो काम त्यसरी गरेका छन् कि छैनन्?
  • देशको नेतृत्व गर्ने राजनीतिक दलहरू जसरी चल्नुपर्ने हो, त्यसरी चलेका छन् कि छैनन्?
  • सार्वजनिक सम्पत्ति खर्च गर्दा कुशलतापूर्वक र मितव्ययी ढंगले गरिएको छ कि छैन?
  • सत्ता चलाउने मानिसहरू आफू आम मानिसभन्दा अलग हुँ भनेर ठाँट देखाएर हिँड्छन् कि सामान्य किसिमले?

यी विषयमा उत्साहजनक होइन सन्तोषजनक मात्र प्रगति भएको भए पनि देशमा उन्नति प्रगति भएको मान्न सकिन्छ। तर अहिले माथि उल्लिखित कतिपय विषयमा नेपालमा प्रगति होइन, अधोगति भएको छ।

यी क्षेत्रमा प्रगति हुने हो भने नेपालमा अहिले भौतिक प्रगति जति मात्रामा भएको छ, त्योभन्दा कता हो कता बढी हुनेथियो। उदाहरणका लागि, सडक बन्नु र तिनको अवस्था राम्रो हुनु आर्थिक, सामाजिक र शैक्षिक विकासका लागि नभई नहुने कुरा हुन्। तर हामीकहाँ यस्तो काम बेलैमा हुने गर्दैन। उदाहरणका लागि काठमाडौँबाट धुलिखेल जाने सडक हेरौँ। त्यो सडक भत्काइएको वर्षौं भयो। सडक बनिसक्न त्यति समय लाग्नुपर्ने कुनै कारण थिएन। देशको शासनसत्ता लिएकाहरूले यो सडक बेलैमा नबनाएर देशलाई नोक्सान पुर्‍याए। यो बाटो हिँड्ने सबैलाई सासना (सास्ती) दिए।

अस्ति देउवा दम्पतीले घरदैलोमै राहदानी पाएजसरी सवारी लाइसेन्स घरमै पाउने हैसियत भएकाबाहेक अरूले लाइसेन्स पाउन कति वर्ष पर्खनुपर्छ?

अराजकतावादीबाहेक अरू सबैका लागि शासन नभई नहुने र सासना हटाउनैपर्ने कुरा हो। तर नेपालमा हुनैपर्ने कुरा शासन बेपत्ता छ र हुँदै नहुनुपर्ने कुरा सासना जताततै छ।

फालाफाल पैसा कसैसँग हुँदैन। जुन देशले आफूसँग भएको धेरथोर पैसा राम्रो र नभई नहुने काममा लगानी गर्दैन त्यस देशको उन्नति हुँदैन। नेपालमा पैसाको सदुपयोग भएको छ त? दुर्लभ पैसा खर्च गरेर बनाएका कतिवटा आन्तरिक विमानस्थलमा जहाज बस्दैनन्? पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल के गर्न बनाइएका थिए र अहिले तिनमा के भइरहेछ? जे कामका लागि भनेर देशको पैसा लगानी गरिएको थियो, त्यही काम भइरहेछ? ती संरचना बनाउने सरकारले हामीसँग भएको थोरै सार्वजनिक पैसा कुशलतापूर्वक खर्च गरेको छ भनेर चित्त बुझाउन सकिन्छ?

सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गत साँगाको निर्माणाधीन सडक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

भ्रष्टाचार हुनु भनेको उन्नतिमा लगाउनुपर्ने देशको धनसम्पत्तिमा डाँका लाग्नु हो। नेपालमा भ्रष्टाचार घटेको छ कि बढेको? भ्रष्टाचार घटाउनसकेको भए देशको विकासका लागि लगानी गर्न कति पैसा जम्मा हुँदो हो? त्यो पैसाले गर्दा कति उन्नति हुन्थ्यो?

हाम्रो कार्यकारीले आफूले नगरी नहुने काम गरेको छ? सरकारी निकायमा हुनुपर्ने नियुक्ति बेलामा गरेको छ? राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बेला सरकारले देखाएको जात्रा हामी सबैले देखेनौँ र?

आफूले गर्नैपर्ने काम नगरेको अर्को उदाहरण, सवारी चालक अनुमतिपत्र नछाप्नु हो। अस्ति देउवा दम्पतीले घरदैलोमै राहदानी पाएजसरी सवारी लाइसेन्स घरमै पाउने हैसियत भएकाबाहेक अरूले लाइसेन्स पाउन कति वर्ष पर्खनुपर्छ? त्यति समय पर्खनुपर्ने जायज कारण छन् भनेर चित्त बुझाउन सकिन्छ?

भए पनि हुने नभए पनि नहुने कागज होइन, चालक अनुमतिपत्र। सवारीसाधन चलाएका वेला सरकारले जुनसुकै वेला खोज्न सक्ने कागजात हो यो। यति जरूरी कागज छाप्न नसक्ने सरकार र सरकारलाई त्यसो गर्न वर्षौं छुट दिने व्यवस्था भएको देशमा भएका भौतिक प्रगति सरकार र व्यवस्थाले गर्दा भएका हुन् भन्न मिल्छ? त्यस्ता कति प्रगतिको जस सरकार र व्यवस्थालाई दिन मिल्छ?

हाम्रो संसद्ले जे काम नगरी नहुने थियो, त्यो काम त्यसले गर्‍यो? शिक्षकले त्यत्रो दिन विद्यालयको पढाइ र जाँच बिथोलेर आन्दोलन गरेर मागेको शिक्षा ऐन संसद्ले बनायो? देशलाई चाहिने अरू कतिवटा ऐन नबनाई बसेको थियो संसद्? आर्थिक अनियमितता हुन नदिन चनाखो हुनुपर्ने सांसद आफैँ बजेट खर्च गर्ने निकायजस्तो भएर बेथिति ल्याएको होइन र?

गणतन्त्र आएपछि प्रधानन्यायाधीशहरू सुशीला कार्की र चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाइयो। यो गर्न हुने काम थियो? राणालाई जुन विधि अपनाएर प्रधानन्यायाधीश पदबाट हटाइयो, त्यो संविधानसम्मत थियो? योग्य र स्वतन्त्र न्यायाधीशको पदावधि नथप्ने अनि दलका कार्यकर्तालाई न्यायाधीश बनाउने काम भएको दुनियाँलाई थाहा छैन र?

खासमा नेपालमा प्रगति भएको भनिएको अवधिमा कार्यकारी, विधायिका र न्यायपालिकालाई चिमोटी चिमोटी तिनको प्राण लिइसकिएको थियो। भदौ २४ गते नयाँ बानेश्वर, रामशाहपथ र सिंहदरबारमा तिनको लाशमा दागबत्ती दिइएको मात्र हो।

प्रजातन्त्रमा भएका उन्नतिको फलमा ती फल कहिल्यै उपभोग गर्न नपाएका वर्गको पहिलो हक लाग्छ। तर नेपालमा उन्नति भए भनिएका क्षेत्रमा भएका प्रगतिको फल कसले खान पाएको छ?

प्रजातान्त्रिक व्यवस्था र दलबाहेक अरूबाट शासित हुन् म सदा नामन्जुर छु, किनभने त्यस्तो व्यवस्था झन् घातक हुन्छ।

शिक्षा र स्वास्थ सेवालाई नेपालमा धेरै प्रगति भएको क्षेत्रका रूपमा लिइन्छ। हो, यी सेवामा निजी क्षेत्रमा धेरै प्रगति भएको छ, तर आम अनि बहुसंख्यक मानिसले सेवा उपभोग गर्ने अस्पतालको सेवामा त्यस्तै प्रगति भएको छ त? विद्यालय शिक्षामा निजी क्षेत्रमा प्रगति भएको छ। तर आम र बहुसंख्यक विद्यार्थी पढ्ने सार्वजनिक विद्यालयको पढाइको स्तर नाप्ने एसईईको नतिजा हेर्दा विद्यालय शिक्षाको क्षेत्रमा प्रगति भएको छ भन्न मिल्छ? बहुसंख्यक र आम विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयमा कस्ता मानिस नियुक्त गरिँदै आएका छन्? परीक्षाफल प्रकाशन गर्न त्रिविले कतिसम्म समय लगाउँछ? त्यहाँको पढाइको गुणस्तर चित्तबुझ्दो लाग्छ?

नैतिक धरातलको पनि थोरै कुरा गरौँ।

आरजु राणा देउवा गत २४ भदौभन्दा पछिसम्म गैरनाफामूलक युलेन्स स्कूलको अध्यक्ष रहिछन्। त्यतिवेला उनी दलगत राजनीतिमा सक्रिय भएको धेरै वर्ष भइसकेको थियो। जेन-जीले सो स्कूल जलाएका दिन उनी मन्त्री पनि थिइन्।

पञ्चायतकालमा शक्तिसँग नजिक भएका मान्छेलाई लाभ नपुर्‍याउन्जेल कुनै काम गर्न सकिँदैनथ्यो। प्रजातन्त्रमा पनि यही चलन कायम रह्यो। यसबाहेक युलेन्स स्कूलको अध्यक्ष हुने योग्यता आरजुमा भेटिँदैन। सक्रिय राजनीतिमा नलाग्दासम्म उनी स्कूलको अध्यक्ष भएको कुरामा आँखा चिम्लिदिऔँ भन्न मिल्थ्यो। तर सक्रिय राजनीतिमा लागेको यतिका वर्षसम्म पनि उनलाई त्यसको अध्यक्ष भइरहनुपर्‍यो। यसबाट उनले आर्थिक लाभ लिइनन् होला, तर उनका अरू काम र नेपाली समाजको आनीबानी हेर्दा उनले अरू (कसैलाई भर्ना गरिदिन र छात्रवृत्ति दिन आदेश दिनेजस्ता) लाभ लिइनन् भन्न सकिँदैन। राजनीतिमा लागेपछि स्कूलको अध्यक्ष पद छाड्नुपर्छ भन्ने चेत उनमा पलाएन। उनलाई अध्यक्ष पदबाट बिदा दिनुपर्छ भन्ने सामान्य ज्ञान स्कूललाई कसैले पढाएन।

नेपाली समाजको नैतिक स्तर कति खस्किएको छ भन्ने कुराको एउटा उदाहरण हो यो। यस्तो अवस्थामा भएका झिनामसिना भौतिक प्रगतिलाई कसरी उन्नति मान्नु?

यति भनिसकेपछि तपाईँले अहिलेको व्यवस्था र दलले गरेको शासनबारे सोध्नुभयो भने म भन्छुः यो धेरै गुण र क्षमताले युक्त छ। सदाचार, नैतिकता, कुशलता, जाँगर, इमानजमान र लोकलाज मात्र हो तिनमा नभएको।

तर प्रजातान्त्रिक व्यवस्था र दलबाहेक अरूबाट शासित हुन् म सदा नामन्जुर छु, किनभने त्यस्तो व्यवस्था झन् घातक हुन्छ। सुशासन ल्याउन हिंसा गर्ने कुरा नामञ्जुर गर्छु, किनभने हिंसाले ल्याएका फाइदा थोरै र क्षणिक हुन्छन्, तर त्यसले ल्याउने बेफाइदा धेरै र दीर्घकालसम्म रहन्छन्।