जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुर तनावग्रस्त बनेको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायत सामग्री तोडफोड गरेका छन्। उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयमा तालाबन्दी गरेका छन्।
यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर उनीहरुले प्रदर्शन गरेका छन्। विपक्षी दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन्।
प्रदेश प्रमुख भण्डारीले आज (सोमबार) बिहानै नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको खबर सार्वजनिक भएसँगै विरोध प्रदर्शन भएको हो।
यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शंकास्पद भएको आरोप लगाए। उनले मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने चेतावनी पनि दिए।
जिल्ला प्रशासन कार्यालय धनुषाले भने संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको छ। तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको पनि स्पष्ट गरेको छ।